दृश्यावलोकनलाई कस्याटाकुरीमा पूर्वाधार निर्माण



????????????????????????????????????

अमरगढी । डडेल्धुराकै सबैभन्दा अग्लो डाँडो कस्याटाकुरीलाई दृश्यावलोकन केन्द्रका रुपमा विकास गरिने भएको छ । सदरमुकामदेखि १२ किलोमिटर उत्तरतर्फ महाकाली राजमार्गबाट करिब १५ मिनेटको पैदलयात्रामा उक्त ठाउँमा पुग्न सकिन्छ ।

करिब सात हजार फिट उचाइको कस्याटाकुरीबाट डडेल्धुरा सदरमुकाम, नवदुर्गा, गन्यापधुरा र अजयमेरु गाउँपालिकाका विभिन्न क्षेत्रका साथै महाभारत पर्वत शृङ्खला तथा डोटी, बझाङ, अछाम, बैतडी जिल्ला र भारतीय भू–भाग अवलोकन गर्न सकिने भएको हुँदा अमरगढी नगरपालिकाले उक्त टाकुरीमा पर्यटन पूर्वाधारका संरचना निर्माण गर्ने काम अगाडि बढाएको छ ।

डोटेली राज्यका इतिहासकार भोजराज भट्टराइले उक्त टाकुरीमा २५ वर्ष अघिसम्म ढुङ्गाको मन्दिर रहेको बताउनुभयो । साथै त्यहाँ केही खाना पकाउने भाँडाकुँडासमेत रहेको अमरगढी नगरपालिका–७ का वडाध्यक्ष खड्गबहादुर बोहराले बताउनुभयो । कस्याटाकुरी पर्यटकीय सम्भावना बोकेको ठाउँ भएकाले अमरगढी नगरपालिकाले रु ७२ लाखको बोलपत्र आह्वान गरी पूर्वाधार निर्माणको काम शुरु गरेको नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “टाकुरीसम्म पुग्ने पैदलमार्ग, टाकुरीमा मन्दिर निर्माण र विभिन्न क्षेत्रको दृश्य हेर्नका लागि दुरर्बिन राख्छौं, साथै वनभोजस्थलका रुपमा विकास गर्ने गरी विभिन्न संरचना निर्माणको काम अगाडि बढाइनेछ ।”

टाकुरीसम्म पुग्ने पैदलमार्गका बीचबीचमा पर्यटकका लागि विश्रामस्थल र सुरक्षाका लागि टाकुरीको चारैतिरबाट रेलिङ लगाउने काम भइरहेको छ । टाकुरी उत्खन्न गर्दा प्राचीनकालीन ओखल ९धान कुट्न बनाइएको ढुङ्गा० र मन्दिरको घण्टीलगायतका सामग्री भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्