चीनले बनायो क्वान्टम कम्प्युटर

सुपरकम्प्युटर भन्दा १०० ट्रिलियन गुणा तिब्र



बेइजिंग (एजेन्सी)

प्रविधि विकासको दौडमा सुपरकम्युटरलाई एक ठुलो उपलब्धिका रुपमा लिइन्छ । विश्वका विकसित देश एक पछि अर्को शक्तिशाली सुपरकम्प्युटर विकासको होडमा लागिरहेका छन् ।

अहिले विश्वकै सबैभन्दा शक्तिशाली तथा तिब्र बेग क्षमताको सुपरकम्युटर जापानको फुगाकु सुपर कम्प्युटर हो । कम्प्युटर क्षेत्रमा विद्यमान कमजोरीहरु हटाउन र अत्यधिक तिब्र बेगमा काम गर्न सक्ने क्वान्टम कम्प्युटरको विकास दौडमा विकसित देशहरु लागिरहेका छन् ।

यसबीच चीनका वैज्ञानिकहरुले प्रकास कणमा आधारित विश्वकै पहिलो क्वान्टम कम्प्युटर विकसित गरेको दावी गरेका छन् । अनुसन्धानकर्ताहरुले मानक सिमुलेसन एल्गोरिथम, गसियन बोसोन नमुनाका माध्यमबाट ७६ फोटोन पत्ता लगाउन सक्षम क्वान्टम कम्प्युटरको प्रोटोटाइप बनाएको सिन्ह्वा समाचार संस्थाले जनाएको छ ।

वैज्ञानिकहरुका अनुसार यो कम्प्युटर परम्परागत सुपरकम्प्युटरको तुलनामा अत्यधिक तिब्रताका साथ काम गर्न सक्छ । यो वैज्ञानिकहरुलाई प्राप्त ठुलो सफलता भएको र यसको मद्दतबाट यस प्रकारका शक्तिशाली मेसिन बनाउने तरिकामा मौलिक परिवर्तन आउने सरकारी सन्चार माध्यमले उल्लेख गरेको छ ।

अहिले पनि प्रारम्भिक अवस्थामा रहेको भएपनि क्वान्टम कम्प्युटिंगलाई प्रसोधन क्षमता र कम्प्युटरको शक्तीको सुधारमा कायापलत गर्ने साँचोका रुपमा हेर्ने गरिन्छ । जसबाट भौतिकशास्त्र तथा रसयानशास्त्र र अन्य क्षेत्रमा बृहत प्रणालीको अनुकरण गर्न र त्यसलाई अगाडी बढाउन सक्षम हुनेछ ।

चिनियाँ शोधकर्ताहरु प्रविधि क्षेत्रमा अल्फाबेट इन्क, गुगल, एमेजोन र माइक्रोसफ्ट जस्ता प्रमुख अमेरिकी कम्पनीहरुसँग प्रतिस्पर्धा गरिरहेका छन् ।

जर्नल साइन्समा प्रकाशित शोधपत्रलाई उदृत गर्दै सरकारी अखबार चाइना डेलीले ‘जियुझांग’ क्वान्टम कम्युटरले विश्वसनिय तरिकाले क्वान्टम प्रशोधनको उत्कृष्टता प्रदर्शन गर्न सकेको र यो कम्प्युटर क्षेत्रमा ठुलो उपलब्धि भएको उल्लेख गरेको छ ।

क्वान्टम कम्प्युटर अत्यन्त तिब्र बेगमा काम गर्छ जुन परम्परागत कम्युटरका लागि सम्भव हुँदैन । क्वान्टम कम्प्युटरको मद्दतले भातिक विज्ञान, कृत्रिम बुद्धिमता तथा चिकित्सा क्षेत्रमा उपलब्धि हासिल हुने छ । गत विगत केही बर्षदेखि चीन क्वान्टम प्राद्योगिकीमा सफलता हासिल गर्न भारी लगानी गरिरहेको छ ।

यो सुपर कम्प्युटरको नाम जिझुयांग नामक गणितका प्राचिन चिनियाँ ग्रन्थको नामबाट राखिएको हो । यो सुपर कम्प्युटरले २ सय सेकेन्डमा जति गणना गर्छ त्यसलाई पुरा गर्न परम्परागत पद्धतीबाट बनेको विश्वको सबैभन्दा तिब्र क्षमताको सुपर कम्प्युटर फुगाकुलाई ६० करोड बर्ष लाग्छ । यसलाई अर्को तरिकाबाट भन्नु पर्दा चीनको यो नयाँ क्वान्टम कम्प्युटर सुपरकम्प्युटर फुगाकु भन्दा १ सय ट्रिलियन गुणा धेरै तिब्र बेगको छ ।

चीनको विज्ञान प्रतिष्ठानले सन् २०१७ मा चीनले क्वान्टम संचार उपग्रह प्रक्षेपित गरेको र त्यसलाई ह्याक गर्न नसकिने तथा सुरक्षाका अत्याधुनिक विशेषताबाट लैस रहेको जानकारी दिए । त्यसपछिको अर्को बर्ष चीनले २ हजार किलोमिटर लामो ‘ह्याक प्रुफ’ क्वान्टम सन्चार लाइनको उद्घाटन गरेको थियो । यो राजधानी बेइजिंगसँग आर्थिक केन्द्र सांघाइलाई जोड्न स्थापित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्