बार्यन र लेइप्जिगबीच बराबरी



बर्लिन, (एजेन्सी)

जर्मन बुन्डेसलिगामा बार्यन म्युनिख र आरबी लेइप्जिगबीचको खेल बराबरी टुंगिएको छ । शनिबार राति अंक तालिकाको शीर्ष स्थानको बार्यन र दोस्रो स्थानको लेइप्जिगबीच भएको खेल ३–३ गोलको बराबरीमा सकिएको हो । आफ्नो घरेलु मैदानमा पटक–पटक पछि परेको अवस्था उल्टाएर बार्यनले बराबरीमा चित्त बुझाउँदै समान अंक बाँडेको छ ।

पाहुना टोली लेइप्जिगका क्रिस्टोफर कुन्कुले खेलको १९औं मिनेटमा गोल गर्दै बार्यनलाई पछि पारेका थिए । तर, खेलको ३०औं मिनेटमा बार्यनका लागि युवा खेलाडी जमल मुसियालाले गोल गर्दै खेललाई १–१ स्थितिमा फर्काए । बराबरी गोल फर्काएको ४ मिनेटमै बार्यनका लागि थोमस मुलरले गोल गरेर टिमलाई २–१ को अग्रता दिलाए ।

तर, बार्यनको अग्रता भने धेरैबेर टिकेन । गोल बेहोरेको दुई मिनेटमै लेइप्जिगका जस्टिन क्लभर्टले सहजै गोल गरेर खेललाई २–२ बनाए ।

दोस्रो हाफ सुरु भएको तीन मिनेटमै पाहुना टोली लेइप्जिगका लागि इमिल फ्रसवर्गले गोल गरेर बार्यनलाई ३–२ गोलले पछाडि पारेपछि बार्यन दबाबमा परेको थियो । यसपटक डिबक्सभित्र अनर्माक अवस्थामा रहेका इमिलले बार्यनका डिफेन्डरलाई जिल्याउँदै हेडिङमार्फत् सहजै गोल गरेका थिए ।

तर, लेइप्जिगले ७५औं मिनेटमा पुनः गोल बहो¥यो । बायर्नका मुलरले हेडिङमार्फत् व्यक्तिगत दोस्रो गोल गरेपछि खेल ३–३ मा पुग्यो । त्यसपछि दुवै तर्फबाट थप गोल भएन र खेल बराबरीमा सकियो । बराबरीको नतिजापछि बार्यनले १० खेलबाट २३ अंक जोडेको छ । लेइप्जिगले भने समान खेलपछि २१ अंक बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्