२४ वर्षदेखि विश्व सम्पदा क्षेत्रमा सूचिकृत हुन नसकेका १५ सम्पदा क्षेत्र

पुरातत्व विभाग भन्छ : स्थानीय निकायले पहल नगरे असम्भव



नेपाल समाचारपत्र, काठमाडौं ।

पुरातत्व विभागले २४ वर्षदेखि युनेस्कोको विश्वसम्पदा सूचीको सम्भावित सूचीमा राखेको १५ सम्पदाहरूको हालसम्म सूचीकृत हुन सकेको छ । स्थानीय र सम्बन्धित जिल्लाको जनताको पहल नभएको कारण ती सम्पदाहरू विश्वसूचीमा समावेश हुन नसकेको हो ।

पुरातत्व विभाग विश्वसम्पदा संरक्षण महाशाखाका अनुसार सन् १९९६ र सन् २००८ मा गरी १५ सम्पदालाई सम्भावित सूचीमा समावेश गरिएको थियो । तीमध्ये अहिले कीर्तिपुर, पनौती र जनकपुरले सूचीकृत हुन प्रक्रिया गरिरहेका छन् । महाशाखा प्रमुख वरिष्ठ इन्जिनियर डा. सुरेशसुरस श्रेष्ठ करिब दुई दशकदेखि प्रक्रियामा गएता पनि हालसम्म खासै प्रगति हुन नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो–‘स्थानीय तहले प्रक्रिया अघि नबढाउँदासम्म विश्व सम्पदा सूचीमा सूचीकृत हुन सम्भव छैन । उहाँका अनुसार प्रक्रियामा प्रवेश गर्न दर्जनाैँ योजना पेस गर्नुपर्छ । तीमध्ये पुरातात्विक क्षेत्रको संरक्षण, व्यवस्थापन, मौलिकता बिग्रन नदिने प्रतिबद्धता अनिवार्य हुन्छ ।

यो क्षेत्रलाई विश्व सम्पदा सूचीमा लैजान्छु भन्दा सजिलै प्रवेश गराउन सकिँदैन कम्तीमा पनि दुई दर्जनभन्दा बढी प्रक्रिया पूरा गरेपछि मात्र सम्भव हुन्छ–विभागका सूचना अधिकारीसमेत रहेका महाशाखा प्रमुख डा. श्रेष्ठले भन्नुभयो ।

विकासको नाममा सांस्कृतिक, सामाजिक र ऐतिहासिक मौलिकता बिग्रन नदिई दशकौँ पहिला जस्तो संरचना छ त्यसैलाई कायम राख्ने ठोस निर्णय कार्यान्वयन भएपछि मात्रै विश्वसम्पदा क्षेत्रमा सूचिकृत हुन सक्ने डा. श्रेष्ठको भनाइ छ ।

सम्भावित सूचीमा परेका सबै सम्पदाको विषयमा विभागले अध्ययन गरिसकेको छ । ‘मुख्य विषय स्थानीयबाट प्रक्रिया थाल्नुपर्छ । स्थानीयले चासो नदेखाएसम्म सूचीकृत हुन नसक्ने डा. श्रेष्ठको भनाइ छ ।

विभागका अनुसार पछिल्लो समय कीर्तिपुर, पनौती र जनकपुरले सम्पदासूचीमा सूचिकृत हुन चासो देखाएर पक्रिया अघि बढाएका छन् । सबै प्रक्रिया पूरा गरेपछि विभागले युनेस्कोको विश्वसम्पदा समितिमा पठाउने व्यवस्था छ । समितिमा आबद्ध विश्वभरका सदस्य राष्ट्रले सो विषयमा अध्ययन गरेपछि मात्र विश्वसम्पदा सूचीमा सवावेश हुनसक्ने व्यवस्था छ ।

त्यसअघि विभागले सिफारिस गरेको सम्पदा क्षेत्रको स्थलगत अनुगमन गनुपर्छ । विभागका अनुसार सन् १९९६ मा सम्भावित सूचीमा समावेश गरिएका सम्पदाहरूमा मुस्ताङ मुक्तिनाथ क्षेत्रको गुफाक्षेत्र, खोकना गाउँ र ऐतिहासिक तोरीको खानेतेल निर्माण गर्न क्षेत्र, रामग्रामको बौद्धस्तुपा, पनौतीको सम्पदा क्षेत्र, गोरखादरबार क्षेत्र र शाक्यवंशीय राजाको तिलौराकोट दरबार छन् ।

सन् २००८ मा सिफारिस भएका सम्भावित क्षेत्रमा दैलेखको भृकृटी मन्दिर, लोमान्थाङ क्षेत्र, कीर्तिपुर दरबारक्षेत्र, नुवाकोट दरबारक्षेत्र, रामजानकी मन्दीर, रुरुको ऋषिकेशक्षेत्र, सिंजा उपत्यका, तानसेन दरबारक्षेत्र साँखुको बज्रयोगिनी रहेका छन् । सम्भावित सूचीमा सूचिकृत क्षेत्रमा स्थानीय निकायले पहल गरेपछि मात्रै सम्भावना हुनसक्ने विभागको भनाइ छ । अब त प्रदेश र स्थानीय सरकारले आफ्नो प्रदेशका सम्पदालाई विश्वसम्पदा क्षेत्र सूचीमा सूचिकृत गर्न पहल गर्नुपर्ने देखिएको छ ।

तथ्याङकअनुसार नेपालमा काठमाडौं उपत्यकाको सात र लुम्बिनी गरी दुई सांस्कृतिक,   सगरमाथा र चितवन गरी दुई प्राकृतिक क्षेत्रलाई विश्वसम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो । उपत्यकाको हनुमानढोका, पाटन, भक्तपुर दरबारक्षेत्र, पशुपतिनाथ स्मारक क्षेत्र, बौद्धनाथ स्तुपा, स्वयंम्भूनाथ र चाँगुनारायण स्मारक क्षेत्र छन् ।

प्रतिक्रिया दिनुहोस्