वाग्मती प्रदेश सरकारद्वारा उपचार सेवाको स्तरोन्नति



मकवानपुर । वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयले प्रदेशका १३ जिल्लामध्ये आठ जिल्लाको अस्पताललाई स्तरोन्नति र उपचार सेवालाई थप प्रभावकारी तुल्याई सञ्चालनमा ल्याएको जनाएको छ । हेटौँडा, भक्तपुर, सिन्धुली, नुवाकोट, धादिङ, चौतारा, रसुवा र धुलिखेल अस्पतालबाट कोभिड–१९ को उपचारको साथै अन्य विभिन्न प्रकारका रोगबाट प्रभावित बिरामीलाई पनि प्रभावकारी उपचार सेवा दिन सकेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा पुरुषोत्तम सेढार्इंका अनुसार हेटौँडा, सिन्धुली, नुवाकोट, भक्तपुर र धादिङ अस्पतालमा अहिले कोभिडको परीक्षण र उपचारको लागि पिसिआर मेसिन जडान गरी सञ्चालनमा ल्याइसकिएको छ । ती अस्पतालमा कोभिडको बिरामीका लागि तत्काल उपचार गर्ने क्रममा आइसियु र भेन्टिलेटर सुविधा उपलब्ध गराइसकिएको पनि प्रवक्ता डा सेढार्इंले बताउनुभयो ।

प्रदेश सरकारले कोभिड–१९ सङ्क्रमणका बिरामीलाई तत्काल आइसियु, भेन्टिलेटरको सेवाको अतिरिक्त कोभिड अस्पताल र आइसोलेशनमा श्ययाको व्यवस्था र दक्ष जनशक्ति उपलब्ध गराँदा रु ५० करोड रकम खर्च भएकोे पनि उहाँले जानकारी दिनुभयो । प्रदेश सरकारले १३ जिल्लाको अस्पताललाई क्रमशः स्तरोन्नति गरी गम्भीर प्रकारको मुटु, मिर्गौला प्रत्यारोपण र अन्य रोगको उपचारको लागि अस्पतालको विस्तार गर्न आगामी आर्थिक वर्षभित्र करिब रु दुई अर्ब बजेट लगानी गर्नेतर्फ सङ्घीय सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सामाजिक विकास मन्त्रालयबीच समन्वय र आवश्यक गृहकार्य गर्दै रहेको पनि उहाँले बताउनुभयो ।

प्रदेशअन्तर्गत रहेका १३ वटै जिल्लाका प्रदेश जनस्वास्थ्य कार्यालयले जिल्ला अस्पतालको साथै आइसोलेशन कक्षले बिरामीलाई तत्काल उपचार सेवा पु¥याए नपु¥याएको अनुगमन गरी स्वास्थ्य उपचार कार्यलाई गुणस्तरियता प्रदान गर्न मन्त्रालयले प्रदेश स्वास्थ्य निर्देशनालयमार्फत लिखित निर्देशन पठाएको प्रवक्ता सेढाईंले बताउनुभयो । प्रदेश सरकारले काठमाडौँको टोखा, ललितपुरको बज्रबाराही, काभ्रे र चितवनमा उच्चस्तरको सेवा प्रदान गर्ने नयाँ अस्पताल स्थापनाको लागि सर्भे भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्