चिसो बढेसँगै डडेल्धुरामा बिरामीहरुको संख्या बढ्दो



राम धामी, डडेल्धुरा ।

चिसो बढेसँगै डडेल्धुरामा निमोनिया, रूघाखोकी तथा दम रोगका बिरामीको संख्या बढ्दै गएको छ । हिउदे याम शुरू भएयता यहाँका अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको संख्या बढ्दै गएको हो । पहिले दैनिक ३०/४० जना मात्र निमोनिया, रूघाखोकी तथा दम रोगका बिरामी आउने गरेकोमा हाल दैनिक ७०/८० जनाभन्दा बढी बिरामी उपचारका लागि अस्पतालमा आउने गरेको डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पतालले जनाएको छ ।

डडेल्धुरा अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तका अनुसार चिसो बढेसँगै डडेल्धुरामा मौसमी रुघाखोकी, भाईरल ज्वरो, निमोनिया लगायत अन्य श्वासप्रश्वास सम्बन्धि रोगका बिरामीहरूको संख्यामा बृद्धि भएको छ । चिसोले बिरामी हुनेहरूमा बालबालिका र बृद्धबृद्धाहरू बढि छन् ।

यसबर्ष मंसिर पहिलो सातादेखि डडेल्धुरामा विस्तारै चिसो बढ्न थालेपछि मौसमी रूघाखोकी, निमोनिया, मौसमी ज्वरोका साथै अन्य खालका विरामीहरूको संख्यामा बृद्धि भएको सूचना अधिकारी पन्तले जानकारी दिए । चिसो समयमा बालबालिकाहरूमा निमोनियाको समस्या प्रायः अन्य व्यक्तिमा रूघाखोकि लगाएतको समस्या हुने भएकाले घरपरिवारका सदस्यहरूले हेरचाहमा विशेष ध्यान दिनु पर्ने उनको भनाइ छ ।

एक्कासी चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा बढी प्रभावित बनेका हुन् । चिसो बढेसँगै बालबालिका वृद्ध मात्रै नभई गर्भवती महिला र नवजात शिशुसमेत प्रभावित भएका छन् । ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा समेत चिसो बढेसँगै बिरामीको संख्या बढ्न थालेको स्वास्थ्यकर्मीहरूले बताएका छन् । चिसोको समयमा भाइरसहरू सक्रिय भएर बालबालिबालिका र बृद्धबृद्धाहरूलाई असर पार्ने भएकोले चिसोबाट बच्न तातो लुगा लगाउन, तातो, झोलिलो खानेकुरा खानु पर्ने अमरगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेशबहादुर बिष्टले जानकारी दिए ।

‘चिसोबाट जोगिन स्थानीयले हिटर अथवा आगो बालेर झ्याल ढोका हावा नछिर्ने गरेर बन्द गर्छन् । यस्तो अबस्थामा निसास्सिएर ज्यान जाने सम्भावना हुन्छ,’ उनले भने, ‘झ्याल खुला राख्नुपर्छ । पानी उमालेर खाने तथा घरवरिपरी सरसफाइ गर्दा रोगबाट बाँच्न सकिन्छ ।’ चिसोमा कोरोना भाइरस सक्रिय हुने भएकोले चिसोबाट बाँच्न बिशेष सावधानी अपनाउन उनले आग्रह गरे । रूघाखोकी लम्बियो अथवा स्वास्थ्यमा थप समस्या आएमा स्वास्थ्य संस्थामा गएर उपचार गर्न स्वास्थ्यकर्मीहरूले सुझाब दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्