रोमानीयामा आइतबार संसदीय निर्वाचन



बुखारेस्ट । पूर्वी युरोपेली मुलुक रोमानीयामा आइतबार संसदका लागि आमनिर्वाचन हुँदैछ । कोरोनाभाइरस महामारी नियन्त्रणका लागि सरकारको प्रयासलाई लिएर आलोचना भइरहे पनि वर्तमान युरोपेली पक्षधर सरकारले नै विजय हासिल गर्ने अनुमान गरिएको छ ।

चुनावका लागि मतदान केन्द्रहरु बिहान ७ बजेदेखि साँझ ९ बजेसम्म खुला रहने निर्वाचन आयोगले जनाएको छ । चुनावको पहिलो नतिजा अबेर रातिसम्ममा प्राप्त हुने अपेक्षा गरिएको छ । मतदान केन्द्रहरुमा कोरोनाभाइरसबाट सचेतता अपनाउन सामाजिक दूरी, मास्क लगाउने र हातधुने विधि अपनाइने आयोगले जनाएको छ ।

पछिल्ला केही समयदेखि राष्ट्रवादीहरु लोकप्रिय नारा दिएर चर्चामा रहेपनि उदारवादी प्रधानमन्त्री लुडोभिक ओर्बानले युरोपकै सबैभन्दा गरिब राष्ट्र रोमानीयालाई आधुनिक र युरोपेली मुलुककै मापदण्डमा उभ्याउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

प्रधानमन्त्री ओर्बानले गत वर्षदेखि नै अल्पमतको सरकारको नेतृत्व गरिरहनु भएको छ । आइमास इन्स्टिच्यूटले हालै प्रकाशन गरेको जनमत सर्वेक्षणमा ओर्बानको नेसनल लिबरल पार्टी ९पिएनएल० ले २८ प्रतिशत मत प्राप्त गर्ने अनुमान गरेको छ । विपक्षी सोसल डेमोक्रेटिक पार्टी ९पिएसडी० ले २३ प्रतिशत मत प्राप्त गर्ने आइमासले प्रक्षेपण गरेको छ ।

हालै गठन भएको मध्य–दक्षिणपन्थी गठबन्धन युएसआर–प्लसले करिब १८ प्रतिशत मत प्राप्त गर्ने अनुमान छ । रोमानीयाली राजनीतिमा पछिल्ला केही समयदेखि यस गठबन्धनले प्रभाव सिर्जना गर्न थालेको छ । आइमासले रोमानीयामा यसपटक ४० प्रतिशतभन्दा बढी मतदान नहुने प्रक्षेपण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्