मध्यपहाडी लोकमार्ग दैनिक साढे तीन घण्टा बन्द



दुर्गाप्रसाद शर्मा, पर्वत ।

मध्यपहाडी लोकमार्गको पर्वत खण्ड आइतबार देखि दैनिक साढे ३ घण्टा बन्द हुन थालेको छ । सडकमा सञ्चालनमा रहेकै अवस्थामा निर्माणको काम गर्दा जोखिम हुने भएकोले मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड दैनिक साढे तीन घण्टा बन्द गरिएको हो ।

राष्ट्रिय गौरवको आयोजनाको पर्वत खण्डमा पर्ने कुस्मा नगरपालिका ८ चुवाको भीरमा कटान गर्नका लागि सडक बन्द गरिएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ । लोकमार्गको पर्वत खण्डमा पर्ने कुस्मा नगरपालिका–७ खरेहादेखि वडा–८ को दोबिल्ला बीचको भीरमा सडक फराकिलो बनाउन सडक बन्द गरेर काम गर्ने निर्णय भएको छ। यसअनुसार बिहान ११ बजेदेखि दिउँसो साढे २ बजेसम्म सडक बन्द हुने भएको हो।

लोकमार्गमा सडक फराकिलो बनाउने तथा कतिपय ठाउँमा सुधार र कालोपत्रेको काम चलिरहेको छ। कालोपत्रेको काम चलिरहेका ठाउँमा समस्या नहुने भए पनि भीर कटान गर्नुपर्ने ठाउँमा सवारी सञ्चालनमा रहँदा दुर्घटना जोखिम हुने भएका कारण जिल्ला प्रशासन कार्यालय पर्वतमा भएको सर्वपक्षिय बैठकले बन्द गर्ने निर्णय गरेको हो । ‘जोखिम नहोस र यात्रुलाई पनि धेरै मर्का नपरोस भनेर दैनिक साढे ३ घण्टा बन्द गर्ने निर्णय गरिएको हो।’ प्रजिअ शम्भुप्रसाद रेग्मीले भन्नुभयो ।

लकडाउनमा विभिन्न समस्याका कारण सडकको काम रोकिएको भए पनि यतिबेला भने तीव्र गतिमा काम भइरहेको छ। कोभिड–१९ का कारण झन्डै ७ महिनादेखि रोकिएको काम गत असोजको दोस्रो सातादेखि सुरु भएको थियो। अहिलेसम्म लोक मार्गको झन्डै ७० प्रतिशत काम सम्पन्न भएको छ। खरेहा र चुवाको भीर तथा चुवादेखि दोबिल्ला बीचको दूरीमा रहेको भीरमा कडा चट्टान फुटाउन बाँकी रहेकाले सडक बन्द नै गरेर निर्माण कार्य बढाउन लागिएको हो।

सडकमा सवारीको चाप बढ्दै गएकाले काम गर्न समस्या पर्ने हुँदा आवतजावत नै रोकेर निर्माण गर्न थालिएको सडक निर्माण कम्पनी लामा कन्स्ट्रक्सन कम्पनीका प्रोजेक्ट म्यानेजर गोविन्द भुसालले बताउनुभयो । आयोजनाको २३ किलोमिटर पर्वत खण्ड आगामी असार सम्म सम्पन्न गर्ने लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस्