ओलाङचुङगोला पुगेर प्राज्ञ राईले ल्याए वालुङ लोकभाका



न्युज अफ नेपाल,काठमाडौं ।

नेपाल विविध जाति, भाषाभाषी र संस्कृतिले सम्पन्न मुलुक हो । आदिमकालदेखि यहाँ बसोबास गर्दै आएका विविध आदिबासी जनजातिका विविध परम्परागत लोकसंस्कृति तथा लोकगीतहरू देशको अमूल्य सांस्कृतिक सम्पदाका रुपमा रहेका छन् । यसै मध्ये एक हो– ओलाङचुङगोलाका बासिन्दा वालुङ जातिमा प्रचलित परम्परागत लोकभाका ।

उक्त लोकभाका प्रदेश नम्बर एक, ताप्लेजुङ जिल्लाको ओलाङचुङगोलामा यद्यपि प्रचलित छ । भौगोलिक रुपमा अत्यन्त विकट रहेको उक्त गाउँमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक राई केही दिनअघि स्थलगत अध्ययन, अनुसन्धान र सङ्कलन गरेका छन् ।

नेपालको रैथाने संस्कृति तथा लोकभाका वालुङ लोकभाकाको स्थलगत अध्ययन, अनुसन्धान र सङ्कलन गरी राजधानी फर्केका प्रख्यात सङ्गीतकार तथा सङ्गीत संयोजक प्राज्ञ राईले ओलाङचुङगोलामा बसोबास गर्दै आएको वालुङ जातिमा प्रचलित वालुङ लोकभाकाको सङ्कलन उक्त भाकाको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले गरिएको बताए ।

उनले भने– ‘वालुङका स।स्कार, संस्कृतिसमेत समेटेर लोकभाकाको बृत्तचित्रसमेत बनाउने योजना छ । वालुङ जातिमा घर सर्ने, विवाह संस्कार र भेटघाट रमाइलो गर्ने संस्कारसँग सम्बन्धित फरक फरक लोकसङ्गीत तथा लोकभाका प्रचलनमा रहेको तर हाल विविध कारण लोपोन्मुख अवस्था पुगेको पाइयो ।’

प्राज्ञ राईलाई अध्ययन, अनुसन्धान र सङ्कलनका लागि स्थानीय लोचक लामा रइतले सहजीकरण गरेका थिए भने स्थानीय याङमाक नुपुले लोकभाकाहरू सङ्कलन गर्न सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्