चिनियाँ कोइला खानीमा दुर्घटना



बेइजिंग, (एजेन्सी)

चिनियाँ सरकारी टेलिभिजनले मुलुकको दक्षिण पश्चिमी भागमा रहेको एउटा कोइला खानीमा विषाक्त कार्वन मनोक्साइड ग्यास चुहावट हुँदा कम्तिमा अठार जना कामदारको ज्यान गएको तथा अन्य पाँच जना अझै हराइ रहेको शनिवार जनाएको छ । सिसिटिभिका अनुसार चोँगक्विँग महानगरपालिकामा रहेको दियासुइदोँग कोइलाखानी भएको यस दुर्घटनामा एकजना कामदारको भने सकुशल उद्धार गरिएको छ ।

शुक्रवार भएको यस घटना माथि छानविन शुरु भइसकेको छ । सुरक्षा प्रवन्धको त्रुटी र कमजोरीको कारण चीनमा वारम्वार कोइला खानी दुर्घटना हुने गरेको छ । कामदारहरुले भुमिगत रुपमा जडित उपकरण भत्काउँदै गर्दा यो दुर्घटना भएको बताइएको छ ।

यो खानी विगत दुई महिना देखि बन्द रहँदै आएको थियो । गत सेप्टेमवरमा पनि चोँगक्विन नजिकको अर्को एउटा कोइला खानीमा यस्तै दुर्घटना हुँदा १६ जना कामदारको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्