नेपाल खुला विश्वविद्यालयले भव्य अन्तराष्ट्रिय सम्मेलन गर्दै



न्युज अफ नेपाल,काठमाडौं ।

नेपाल खुल्ला विश्वविद्यालयले अमेरिकाको मोर्गन स्टेट विश्वविद्यालयसँगको सहकार्यमा यहि मंसिर २१ देखि २४ गतेसम्म भब्य अन्तराष्ट्रिय सम्मेलन गर्ने भएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणी पोखरेलको प्रमुख अतिथ्यमा सम्पन्न गरिने उक्त सम्मेलनको विशेष अतिथि म्यासाचुसेट इन्स्टिच्यूट अफ टेक्नोलोजी (एम.आइ.टी), लण्डन र एरिजोना विश्वविद्यालय, अमेरिकाका प्राध्यापक विश्व प्रख्यात दार्शनिक, संज्ञानवादी भाषाविद तथा समालोचक अब्राहम नोम चोम्स्कीलाई बोलाइएको छ ।

नेपालको इतिहासमा यस्तो कार्यक्रममा उहाको सहभागिता पहिलो हो । २०२० स्टार सम्मेलन नाम दिइएको उक्त सम्मेलनको मुख्य सार ‘सेपिङ अ ह्युमन वल्र्डः ग्लोवल पर्स्पेक्टिभ्ज अन हाइअर एजुकेसन’ (Shaping a Human World: Global Perspectives on Higher Education) रहेको छ । नेपाल खुल्ला विश्वविद्यालयका उप–प्राध्यापक खेमराज जोशीले जानकारी दिए अनुसार यस सम्मेलनमा सहभागिताको लागि नेपालका सबै विश्वविद्यालयका उपकुलपतिहरुलाई आमन्त्रण गरिएको छ ।

उक्त अन्तराष्ट्रिय सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिमैत्री शिक्षण र वैश्विक महामारी कोविड १९ को विषम परिस्थितिमा अवलम्बन गरिएको शिक्षण रणनीति तथा शिक्षण अनुभवसँग सम्बन्धित विषयहरुलाई लिएर स्वदेशी तथा विदेशी विज्ञहरुको प्रस्तुति रहने छ । नेपालको सबै विश्वविद्यालयका साथै अमेरिका, भारत र संयुक्त अधिराज्य बेलायत लगायत विभिन्न देशका विश्वविद्यालयका प्राध्यापकहरु सम्मिलित यस सम्मेलनमा जम्मा ८१ वटा समानान्तर प्रस्तुति, ७ वटा प्यानल डिस्कसन र ३ वटा किनोट प्रस्तुतिहरु गरिने छन ।

चार दिनसम्म चल्ने उक्त सम्मेलनमा अमेरिका निवासी नेपालीहरुको साँस्कृतिक कार्यक्रम पनि समाबेस गरिएको छ । सो कार्यक्रमको लागि सम्मेलनको वेबसाइटमा राखिएको जुम लिङ्कहरुमा क्लिक गरेर निशुल्क सहभागी हुन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्