राजा र हिन्दुराष्ट्र माग्दै हेटौंडामा उर्लियो राप्रपा



न्युज अफ नेपाल, हेटौंडा ।

राप्रपा मकवानपुरको आयोजनामा शुक्रबार हेटौंडामा मोटरसाइकल र्‍याली तथा सभा सम्पन्न भएको छ । राप्रपालाई मुलुकको बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति बनाएरै छाड्ने प्रण र अबको बैकल्पिक शक्ति राप्रपा नै भएको दाबीसहित र्‍याली तथा सभा गरिएको हो ।

राजा र हिन्दुराष्ट्र माग्दै राप्रपा मकवानपुरले हेटौंडामा प्रदर्शन गरेको हो । पार्टीले राजसंस्था र हिन्दुराष्ट्र माग गर्दै हेटौंडामा मोटरसाइकल ¥याली गरेको छ । पार्टी कार्यालय सानोपोखराबाट नाराबाजीसहित निस्किएको र्‍यालीले बजारका महत्वपूर्ण स्थान परिक्रमा गरेको थियो ।
प्रदर्शनका क्रममा राजा र हिन्दुत्वसँगै भ्रष्टाचार, धर्मपरिवर्तन र बेरोजगारीलगायत विषयमा चर्का नाराबाजी गरिएको थियो । शहर परिक्रमापश्चात् सीमाचोकमा आयोजित सभालाई पार्टी नेताहरुले सम्बोधन गरेका थिए ।

कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य मधु अधिकारीले जनताले परिवर्तन खोजेको र त्यो परिवर्तनकारी शक्ति राप्रपा हुने धारणा राख्नुभयो । कांग्रेस र कम्युनिष्टको गलत नीति र अवधारणाले मुलुक समस्याको दलदलमा भासिएको भन्दै अधिकारीले राप्रपा अबको बैकल्पिक शक्ति भएको दाबी गर्नुभयो ।

पार्टीका युवा नेता राजाराम बर्तौलाले राष्ट्रवाद र स्वाभिमानको दियो राप्रपाले बालिरहेको भन्दै दियो निभ्न नदिइने बताउनुभयो । राप्रपाको नेतृत्वमा असल परिवर्तनको आन्दोलन अघि बढ्ने बर्तौलाले धारणा राख्नुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्य नवराज बिष्ट, जिल्ला अध्यक्ष रामहरि न्यौपाने, युवा संगठन अध्यक्ष शुक्र प्रजालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । पछिल्लो समय राजसस्था र हिन्दुराष्ट्र माग गर्दै देशभर प्रदर्शन भइरहेको अबस्थामा राप्रपा मकवानपुरले पार्टीको ब्यानर र झण्डामा कार्यक्रम आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्