युटाह र रोमानियापछि क्यालिफोर्नियामा देखियो धातुको खम्बा, एलियन्सद्वारा राखिएको दाबी



लस एन्जलस, (एजेन्सी)

अमेरिकाको युटाहको मरुभूमिमा एकाएक देखिएको रहस्यमय धातुको खम्बा ‘मोनोलिथ’ त्यहाँबाट गायब भएपछि फेरि अर्को ठाउँमा देखिएको छ । अमेरिकाको युटाहमा गायब भएपछि केही समयअघि त्यस्तै खालको खम्बा रोमानियामा देखिएको थियो र त्यहाँबाट पनि गायब भएको हो । उक्त रहस्यमय बनिरहेको धातुको खम्बा अहिले क्यालिफोर्नियामा देखिएको छ ।

क्यालिफोर्नियाको पाइन पहाडमाथि धातुको उक्त खम्बा भेटिएको स्थानीय सञ्चार माध्यमले जनाएको छ । यो पहाडनजिकै अटासकाडेरो बस्ती छ । युटाह, रोमानिया र अहिले क्यालिफोर्नियामा यो अत्यन्त रहस्यमय धातुको खम्बा देखिएपछि यसलाई एलियनले राखेको हो वा कसैले ठट्टा गरिरहेको हो भन्ने विषयमा सबैको खुल्दुलीको विषय बनेको छ ।

दुई वर्षअघि यस्तै खालको खम्बा वासिंगटनको सियाटलमा पनि देखिएको थियो ।
क्यालिफोर्नियाको अटासकाडेरो समाचारमा भनिएको छ, त्रिकोणात्मक प्रिज्म आकारको धातुको खम्बा स्टिलले बनेको जस्तो देखिन्छ जुन १० फिट लामो र १८ इन्च चौडाइको छ । यो खम्बाको हरेक किनारबाट ताछिएको छ र टाढाबाट पनि धेरै चम्किलो देखिएको छ । हरेक कुनामा किला लगाइएको छ ।

खम्बालाई जमिनमा गाडेको देखिएको छैन । यसलाई बल लगाई ढाल्न वा उखेल्न सक्ने बताइएको छ । पहाडीको टुप्पामा कसले यो खम्बा लगायो ? यो अहिलेसम्म स्पष्ट हुन सकेको छैन । यो पूरै इलाका पर्यटकहरूका लागि आकर्षक केन्द्र हो र धेरैले यसको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् । अखबारले स्थानीय अधिकारीहरूलाई यो धातुको खम्बा लगाइएको बारेमा जानकारी रहेको जनाएको छ ।


यसअघि, नोभेम्बरमा अमेरिकी राज्य युटाहको रेगिस्तानमा १२ फिट अग्लो धातुको खम्बा भेटिएको थियो । त्यसको नजिक पुगेका सर्वसाधारणदेखि अनुसन्धानकर्ताबीच ‘यो कहाँबाट आएको हो ?’ भन्ने प्रश्नलाई लिएर व्यापक चर्चा परिचर्चा भएको थियो ।

यसलाई कलाको नमुना भन्नेदेखि लिएर एलियनको काम भन्नेहरूसम्म आए । यद्यपि केही दिनपछि यो गायब भयो । त्यहाँबाट हराएको २४ घन्टापछि नै यो खम्बा युरोपको रोमानियामा देखियो । अब यो खम्बा त्यहाँबाट पनि गायब भएर अमेरिकाको क्यालिफोर्नियामा देखिएको छ । रोमानियामा देखिएको खम्बा करिब २ दशमलव ८ मिटरको थियो ।

स्थानीय पत्रकार रोबर्ट इसबले पुरानो किल्लाको इलाकामा पाइएको उक्त खम्बा जसरी गुपचुप तरिकाले लगाइएको थियो त्यसरी नै निकालिएको बताए । कुनै अज्ञात व्यक्ति, सायद स्थानीय वेल्डरले बनाएको हुन सक्ने र अहिले त्यहा एउटा खाल्डो मात्र रहेको उनले बताए ।

यसैबीच, युटाहको रेगिस्तानमा लगाइएको खम्बा कसरी गायब भयो भन्ने रहस्यबाट विस्तारै पर्दा उठिरहेको छ । एक टुर गाइड सिल्वन क्रिस्टेनसनले सामाजिक सञ्जालमा आफूले तीनजना मिलेर १२ फिट अग्लो खम्बा हटाएको सामाजिक सञ्जालमा दाबी गरेका छन् । उनीहरूले यसको भिडियो पोस्ट गर्दै लेखका छन्– ‘यदि तपाईं आफ्नो सम्पत्ति कसैले नलगोस् भन्ने चाहनुहुन्छ भने त्यसलाई छोडेर नजानु राम्रो ।’

क्रिस्टेनसनले डेलिमेलसँगको कुराकानीमा भने– ‘हामीले युटाहको खम्बा निकाल्यौँ, किनभने यस विषयमा आफ्नो सार्वजनिक जमिन, प्राकृतिक जीवजन्तु, स्थानीय रूख, पानीको संसाधनको प्रयोग कसरी गर्ने भन्ने कुरा प्रष्ट छ । यो रहस्य एक भ्रम थियो र हामी यो रहस्य सबैले हेरून् भन्ने चाहन्छौँ । हामी आफ्नो सार्वजनिक जमिन गुमाइरहेका छौँ । यस प्रकार कुराले मद्दत हुँदैन ।’

यसअघि सन् १९६८ मा आएको वैज्ञानिक कल्पनामा आधारित आर्थर सी क्लार्कको किताबमा पनि यसै प्रकारका धातुका खम्बाको उल्लेख गरिएको छ । पछि यस किताबमा फिल्म पनि बनेको थियो । यसमा अन्तरिक्षमा आफ्ना साथीसँग सम्पर्क गर्न एलियन्सले यस्ता धातुका खम्बा लगाएको देखाइएको थियो ।

किताब र फिल्ममा यी धातुका खम्बा पृथ्वीमा प्राग ऐतिहासिक कालका एक जनजातिको बुद्धिमता विकास गराएको उल्लेख छ । सीधा रेखामा आधारित खम्बा मोनोलिथ मानव बुद्धिमताको उद्विकासका लागि प्रेरक मानिन्छ । यसै उद्विकासको परिणाम आजको मानव विकास सम्भव भएको हो । धातुको यी खम्बाहरू दखिएपछि अहिले फेरि एकपटक उक्त किताबको चर्चा विश्वभरि भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्