धार्मिक पर्यटन प्रवद्र्धन गर्न गौशाला



नेपाल समाचारपत्र, पाल्पा
पछिल्लो समय राष्ट्रिय जनावर गाईको संरक्षण नभएको र धार्मिक दृष्टिले समेत उपयोगी गाई हेंलाको पात्र बनिरहेका बेला यसको संरक्षण गर्न र धार्मिक पर्यटन प्रवद्र्धनका लागि पूर्वी पाल्पाको रामपुरमा गौशाला निर्माण गरिएको छ । धार्मिक पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले गौशाला निर्माण गरिएको हो ।
पतञ्जली योग पीठको समन्वय रामपुर नगरपालिकको व्यवस्थापन र स्थानीय हिन्दू धर्मावलम्बीहरुको आयोजनामा कालीगण्डकी नदीको तातोपानी घाटमा गौशाला निर्माण गरिएको छ । रामपुर नगरपालिकाको व्यवस्थापनमा २ सय रोपनीभन्दा बढी क्षेत्रफलमा चरनको व्यवस्थापनसहित स्थानीय जातका गाईको संरक्षण गर्र्ने लक्ष्य लिएको रामपुर नगरपालिकाका प्रवक्ता हुमनाथ न्यौपानेले बताउनुभयो । यसका लागि गाई बस्ने बासस्थान गौशाला निर्माण गरिनुको अतिरिक्त गौशाला परिसरमा वर–पीपल, तुलसी रोपणसमेत गरिएको उहाँ बताउनुहुन्छ ।
धार्मिक, सांस्कृतिक र आयुर्वेद चिकित्सा विज्ञानमा गाईको मलमुत्रको महत्व रहनुका साथै कृषि क्षेत्रमा समेत गाई उपयोगी भएकाले मलमुत्रलाई प्रयोग तथा उपयोग गर्ने उद्देश्यले पनि गौशालाको निर्माण गरिएको नगरपालिकाले जनाएको छ । प्रजनन क्षमता कम भएका गाईको व्यवस्थापन हुन नसकी कठोर तथा कष्टकर अवस्था देखिएकाले गाईको संरक्षण गर्न लागिएको स्थानीय पुष्पराज भण्डारीले बताउनुभयो ।
गौशाला निर्माणका लागि रामपुर नगरपालिकाले ६५ लाख र पतञ्जली योगपीठ हरिद्वांरले ११ लाख रुपियाँ लगानी गरेका छन् । हाल गौशालामा १ सय ४२ वटा साना–ठूला गाइ राखिएका छन् ।
कालीगण्डकी नदीको किनारामा निर्मित गौशालामा स्थानीय बासिन्दाहरुले गोवद्र्धन पहाडको प्रतीकसमेत निर्माण गरेका छन् । जसमा भक्तजनले पूजा समेत गर्ने गर्दछन् ।
हिन्दू धर्म–संस्कारअनुसार मानिस जन्मदेखि मृत्यु पर्यन्तसम्म गाईको महत्व छ । नगरपालिकाको सहयोगमा नगरस्तरको गौशाला निर्माण भएपछि गाईको संरक्षण गरिएको र गाईको मल–मुत्रलाई विविधीकरण गरिने रामपुर नगरपालिकाका प्रवक्ता हुमनाथ न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्