तीन दिनभित्र कोरोना बिमा रकम भुक्तानी गर्न निर्देशन



भगवती तिमल्सिना, काठमाडौं

कोरोना बिमाका विषयमा अनेकन बहाना गर्दै बीमा कम्पनीहरुले बिमितहरुलाई लामो समयसम्म भुक्तानी नदिएर दुःख दिँदै आएको अवस्थामा अर्थ मन्त्रालयले निवेदन परेको तीन दिनभित्र भुक्तानी गर्न बिमा समितिलाई निर्देशन दिएको छ । मन्त्रालयले हालसम्मको अवस्थाको पूर्ण विवरण दिन पनि माग गरेको छ ।

अर्थमन्त्रीे विष्णु पौडेलसमेतको उपस्थितिमा बिहीबार बसेको बैठकले कोरोना बिमा दाबीकर्ताको कागजपत्र प्राप्त भएको तीन दिनमा भुक्तानी गरी दैनिक विवरण पेस गर्न निर्देशन दिने निर्णय गरेको हो ।

बिमा समिति कुपाण्डोल, ललितपुरलाई कोरोना बिमा दाबी भुक्तानी सम्बन्धमा लेखेको पत्रमा यही १७ र १८ गते भएको निर्णय भनी पत्राचार गरेको छ ।

पत्रमा बीमा गर्दा सात दिनभित्र सबै कार्य सम्पन्न गर्ने भनिएकोमा हालसम्म न्यून संख्यामा मात्र भुक्तानी भएको, दैनिक प्रगति प्रतिवेदन नियमित मन्त्रालयमा प्राप्त नभएको, बिमा समितिको हटलाइन फोन सेवा सञ्चालन भएको नपाइएको तथा अन्य निर्णयहरुसमेत प्रभावकारी ढंगमा कार्यान्वयन भएको नपाइएको सन्दर्भमा कोरोना बिमा दाबी भुक्तानीका सम्बन्धमा चारबुँदे निर्देशन दिएको हो ।

निर्देशनको पहिलो नम्बरमै कोरोना बीमा मापदण्डबमोजिम प्रक्रिया तथा कागजात पूरा भएका दाबीहरुको भुक्तानी तीन दिनभित्र गरी दैनिकरूपमा मन्त्रालयमा जानकारी गराउनुपर्ने उल्लेख गरिएको छ । त्यसै गरी, प्रमाणीकरण छिटो गर्न, कुन–कुन बिमा कम्पनीमा कति संख्यामा दाबी परेको र कतिले भुक्तानी पाए र कतिको पेन्डिङ भएको छ यसका लागि समितिको के प्रयास भएको छ र पहल गर्नुपर्ने विषय के–के हुन्, विस्तृत विवरण पठाउन निर्देशन दिँदै अर्थ मन्त्रालयका उपसचिव गोविन्दप्रसाद सुवेदीले राष्ट्रिय बिमा कम्पनी लिमिटेड, रामशाहपथ र नेपाल बिमक संघ त्रिपुरेश्वर काठमाडौंलाई बोधार्थ दिई मंसिर १८ गते नै पत्रचार गरेको छ ।

कोरोना संक्रमित हुनुपहिला नै कोरोना बिमा गर्नुहोस् परीक्षणको पोजेटिभ रिपोर्ट पेस गरेको एक सातामा १ लाख रुपियाँ भुक्तानी लिनुहोस् भन्दै बिमा गराउँने बिमा कम्पनी र बिमा समितिको ढिलासुस्तीका कारण महिनौंदेखि हजारांैहजारको निवेदन पेन्डिङ रहनुका साथै बिमा समितिले स्वीकृति गरिसकेका कति निवेदनउपर पनि बिमा कम्पनीले झुलाउने काम गरिरहेको गुनासो अर्थ मन्त्रालयसमक्ष लिखितरूपमा पुगेपछि मन्त्रालयले यो कडा निर्देशन दिएको हो । अर्थ मन्त्रालयले यसअघि पनि निवेदन परेको एक साताभित्र भुक्तानी गर्न निर्देशन दिइसकेको थियो ।

बिमा समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलका अनुसार हालसम्म ३२ हजारको दाबी परेको बताउनुभयो । उहाँले आफूले अर्थ मन्त्रालयको निर्देशनपत्र भर्खरै प्राप्त गरेको र हालसम्म के–कतिले प्राप्त गरे र कुल बिमा गर्नेको संख्या भने तत्काल भन्न नसक्ने बताउनुभयो । त्यसै गरी, बिमा समितिका सूचना अधिकारी निर्मल अधिकारीले पनि आफूलाई असोज मसान्तसम्म १५ लाखले बिमामा दर्ता भएको जानकारी भए पनि अन्य अपडेट नभएको र यस विषयमा बिमक संघमा अपडेट हुन सक्ने बताउनुभयो । बिमक संघका अध्यक्ष तथा शिखर इन्सुरेन्स कम्पनीका सीईओ दीप पाण्डेसँग पटक–पटक मोबाइलमा सम्पर्क गर्न खोजे पनि उहाँको मोबाइल रिसिभ भएन ।

प्रतिक्रिया दिनुहोस्