किसानलाई पशु अभिमुखिकरण



अमृत अर्याल,स्याङजा ।

स्याङ्जाको गल्याङ नगरपालिकामा स्वस्थ तथा सफा दुध उत्पादनका लागि अभिमुखिकरण कार्यक्रम सुरु भएको छ । गल्याङ नगरपालिका पशु सेवा शाखाको आयोजनामा दुध उत्पादक अगुवा कृषकहरुका लागि अभिमुखिकरण तालिम दिइएको हो । कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले विकासको पहिलो पूर्वाधार सक्षम र सचेत नागरिक भएको बताउनुभयो ।

उहाँले सक्षम र सचेत नागरिक हुनका लागि स्वस्थ खानाको आवश्यकता रहेकोमा जोड दिनुभयो । उहाँले भन्नुभयो –‘बाटो खन्ने कुरा र आमा समूहको भवन बनाउने कुरा मात्रै विकास होइन, स्वस्थ हुने कुरा नै विकास हो ।’ नगरप्रमुख अधिकारीले सेतो नगर बनाउने अभियानमा गल्याङ नगरपालिका लागिरहेको पनि बताउनुभयो ।

दैनिक दश हजार लिटर दुध उत्पादन गरी गल्याङ बाहिर पठाउने अभियानमा रहेको भन्दै उहाँले सबै किसानको सकारात्मक साथ पाइरहेको बताउनुभयो । नगरप्रमुख अधिकारीले भन्नुभयो –‘पहिले दुध किनेर खानुपर्ने अवस्था रहेकोमा अहिले दैनिक दुई हजार लिटर दुध बाहिर पठाउन सक्नु ठूलो उपलब्धी हो । यसलाई अझै बढाउन जरुरी छ ।’

आफु मेयर भएपछि कृषि र पशुमा लगानी गर्ने कुरा गर्दै गर्दा धेरैले हाँसोमा उडाउने गरेको स्मरण गर्दै नगरप्रमुख अधिकारीले अहिले दुध उत्पादन बढ्दा सात सय जनाले प्रत्यक्ष रोजगारी पाएको र अप्रत्यक्ष रुपमा त्यति नै संख्यामा रोजगारीमा रहेको बताउनुभयो । दश हजार लिटर दुध उत्पादन भएमा त्यसबाट झण्डै चार हजार जनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी र स्वारोजगारीमा संलग्न हुने नगरप्रमुख अधिकारीले बताउनुभयो ।

उहाँले अझै पनि किसानलाई राज्यले सम्मान गर्न नसकेको भन्दै संसारको सबै भन्दा महान व्यक्ति किसान भएको बताउनुभयो । नगरप्रमुख अधिकारीले गल्याङमा दुध फाल्ने वातावरण कहिल्यै हुन नदिने प्रतिबद्वता पनि व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारीले नगरपालिकाले सुरु गरेको कृषि र पशुको कार्यक्रमले आफु निकै प्रभावित भएको बताउनुभयो ।

उहाँले भन्नुभयो –‘नगरपालिकाले जे कुरामा जोड दिनुपर्ने थियो, त्यही कुरामा जोड दिएको रहेछ, म निकै खुशी भएको छु ।’ विकासका लागि कृषि र पशुपालनमा विशेष अनुदान र लगानी गर्नुको विकल्प नभएको भन्दै गल्याङ नगरपालिकाले दुधमा प्रतिलिटर १५ रुपैयाँ अनुदानको व्यवस्था गर्नु प्रशंसनीय रहेको बताउनुभयो ।

कार्यक्रममा गल्याङ नगरपालिका पशु सेवा शाखा प्रमुख सुशिल अर्यालले किसानहरुले स्वस्थ र सफा दुध उत्पादनमा जोड दिनका लागि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । कार्यक्रमको सहजिकरण गरिरहेको संस्था श्रीनगर एग्रीटेक इन्डस्ट्रीज प्रा.लि सुनौलो दाना का डा. विनोद गुप्ताले गल्याङ नगरपालिकाले गरिरहेको कृषि र पशु कार्यक्रमले आफु निकै उत्साहित भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्