४१ करोड राजस्व छली गर्नेविरुद्ध मुद्दा



काठमाडौं, (नेस)
राजस्व अनुसन्धान विभागले नक्कली बिजक प्रयोग गरी राजस्व चुहावट गरेको कसुरमा विभिन्न कम्पनी, सञ्चालकविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ ।
नक्कली विजक प्रयोग गरी धनुषा रघुनाथपुरस्थित रमण कन्स्ट्रक्सन प्रालिले २० करोड ८७ लाख बिगो बराबरको राजस्व छली गरेकाले उक्त कम्पनीविरुद्ध समेत मुद्दा चलाइएको विभागले जनाएको छ । उच्च अदालतमा दायर मुद्दामा बिगो असुल गरी जरिवाना र कैद माग दाबी लिइएको छ । त्यस्तै विभागले पर्सा बेलवास्थित क्रेटा इन्टरप्राइजेजका सञ्चालक नविकरिम अन्सारीसमेत तीन व्यक्तिले आठ करोड २४ लाख बिगो बराबरको राजस्व छली गरेको आरोप लगाएको छ । अन्सारीसहित परमेश्वर साह तथा मुख्य कारोवारी जयकिशोर साहविरुद्धसमेत राजस्व छलीमा मुद्दा चलाएको हो । उनीहरुले मूल्य अभिवृद्धि कर विवरणमा तथा आय विवरण दाखिला नगरेको, मालवस्तुको खरिद गरेको भनिएका फर्मलाई बैंकमार्फत भुक्तानी नगरी विजकको मात्र हस्तान्तरण गरी राजस्व चुहावट गरेको जनाइएको छ ।
यस्तै दोलखा जिल्ला तामाकोशी गाउँपालिकास्थित पीआरके ट्रेड इन्टरनेशनलका सञ्चालक हुमन (लछुमन) माझीबाट पाँच करोड ५६ लाख र बाराको परवानीपुरस्थित मिनजा इन्टरनेशनल प्रालिका सञ्चालक रामबाबु साहानीले दुई करोड १९ लाख बिगो बराबरको राजस्व छली गरेको विभागको आरोप छ । कुल तीन कम्पनी र र सञ्चालकविरुद्ध कूल ४१ करोड तीन लाख बिगो असुलउपर गरी जरिवाना र कैद सजायको माग दाबी लिइ मुद्दा चलाइएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्