छात्रावासको सोफामुनि चितुवा भेटियो



नयाँदिल्ली, (एजेन्सी)

भारतको एउटा महिला छात्रावासमा चितुवा पसेपछि त्यहाँ तहल्का मच्चिएको छ । अचानक भौंतारिएर एउटा सोफामुनि बसेका चितुवालाई निकाल्न वन्यजन्तु अधिकारी र चिडियाघरका कर्मचारीहरूले सामूहिक कोसिस गरेका छन् ।

गुहावटीस्थित हेन्गेरावारी क्षेत्रको सो छात्रावासकी छात्रा मालिन मौसमी बोराले खतरनाक घटना सम्झँदै भनेकी छिन्– ‘मैले शुरूमा त सोफामुनि कुनै कपडा खसेको हुनपर्ने भन्ने सोचेकी थिएँ । छोएर हेर्न लाग्दा पो बल्ल कुनै जंगली जनावर बसेको थाहा पाएँ ।’

प्रहरीलाई घटनाबारे जानकारी दिएर आसाम राज्य चिडियाघर र वन्यजन्तु तथा भूभाग विभागबाट अधिकारीहरू नआइपुगुन्जेल बोरालगायत त्यहाँ रहेका अन्य पन्ध्रजना छात्रा तथा कर्मचारी एउटा कोठामा ढोका थुनेर बसेका थिए । अधिकारीहरूले सो चितुवालाई एउटा कुनामा पठाएर बेहोस बनाउन गोली हान्नलाई चार घण्टा संघर्ष गर्नुपरेको बताएका छन् ।

गोली लागिसकेपछि पनि नजिकैको अर्को घरमा लुकेको थियो । अर्को घरमा लुकेको केही समयपछि मात्र त्यो चितुवा बेहोस भएको थियो । पशु चिकित्सकहरूबाट स्वास्थ्य परीक्षण गराउनका लागि त्यसलाई आसाम राज्य चिडियाखानामा लगिएको छ । अधिकारीहरूले शरीरमा माइक्रोचिप जडान गरी त्यसलाई जंगलमा छाडिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्