गणतन्त्रलाई चुनौती !



गणतन्त्र स्थापनाको डेढ दशक पूरा हुन नपाउँदै यसविरुद्ध आवाज उठ्नु गम्भीर चिन्ताको विषय हो । ‘भात पाक्न ढिला भयो भन्दैमा गोबर खाने !’ भनेर राजावादीहरुलाई गणतन्त्रका बाहकहरुले प्रतिवाद गरिरहेका छन् । गणतन्त्रको विरुद्धमा अहिले जसरी बजारभरि नारा लाग्न थालेको छ त्यसलाई यस्ता जबाफले मात्र शान्त पार्न भने सक्तैन । आम नागरिकले गणतन्त्रका कारण आफ्नो अधिकार र अवसरमा वृद्धि भएको अनुभूत गर्न नपाएका कारण प्रतिगामी पक्षले यो अवसर पाएको हो भन्न सत्यलाई बेवास्ता गर्नसकिन्न ।

सडकमा राजा आऊ देश बचाउका नारा मात्र लागेका छैनन् नेताविरुद्ध चर्का नारासमेत लाग्न थालेका छन् । आज युवा शक्ति पुनः प्रतिगमनकारी शक्तिको नजिक हुने अवस्थामा पुगेका छन् । मुलुकमा अहिले व्याप्त भ्रष्टाचारलाई आधार बनाएर पुनः राजतन्त्र ल्याउने खेलमा लागेका ती शक्तिलाई समयमा राज्यले राजनीतिक नेतृत्वमा परिस्कार ल्याएर व्यवस्थापन गर्न सकेन भने फेरि मुलुकमा अर्को आन्दोलनको वीजारोपण नहोला भन्न सकिदैन ।

हिजो पूर्व राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा सञ्चार क्षेत्रले भोगेको पीडालाई पनि अहिले भुल्नुहुदैन । अहिलेको व्यवस्थामा जसले नराम्रो गर्छ उसलाई खवरदारी गर्न पाइन्छ । सञ्चार क्षेत्रले राज्य सञ्चालकले गर्दै आएका राम्रा तथा नराम्रा कामको आलोचना तथा समर्थन गर्दै आएका छन् । सत्तारुढ तथा प्रतिपक्षी दलमा देखिएको आन्तरिक किचलोको फाइदा उठाउँदै उनीहरु अहिले सक्रिय हुन खोजेको देखिन्छ ।

अहिले ती शक्तिलाई मलजल गर्नुभन्दा पनि लोकतन्त्रवादी शक्तिलाई खवरदारी गर्नु आवश्यक देखिन्छ । हिजो राजाको शासनकालमा हालीमुहाली गर्दै आएका शक्ति अहिले संघीयता र गणतन्त्रविरुद्ध नारा लगाउँदै सडक संघर्ष शुरु गर्नुले दलीय व्यवस्थाप्रति वितृष्णा जगाउने र मुलुकलाई पुनः एकात्मक राज्यतर्फ उन्मुख गर्नखोजेको देखिन्छ ।

यसको अर्थ अहिलेका सत्ता सञ्चालकले मुलुकलाई राम्रो गरेका छन् भन्ने होइन । उनीहरुकै अदूरदर्शिताका कारण ती शक्ति सलबलाउन थालेको यथाथ बिर्सन हुँदैन । वाक स्वतन्त्रता अहिलेको युगको सबैभन्दा ठूलो गहना हो । यसतर्फ दलीय राजनीतिदेखि विचलित हुदैगएका व्यक्ति वा समूहले बेलैमा सोच्नुपर्दछ ।

मुलुकका मुख्य राजनीतिक शक्तिले मुलुकलाई सही दिशामा डो¥याउन नसकेको जस्तो लागे अर्को प्रजातान्त्रिक शक्तिलाई अघि सार्नसक्ने हिम्मत सक्नुपर्दछ । दक्षिण एसियाली मुलुक पाकिस्तानमा त्यहांँका जनताले परम्परागत शक्तिलाई पाखा लगाएर पूर्व क्रिकेटर इमरान खानले नेतृत्व गरेको राजनीतिक शक्तिलाई सत्तामा ल्याउने काम त्यहांँका जनताले गरेजस्तै नेपाली जनताले पनि परम्परागत शक्तिलाई पाखा लगाउने हिम्मत गर्न सक्नुपर्दछ । स्वतन्त्रताविना मुलुक आधुनिक युगमा प्रवेश गर्न सक्दैन ।

हिजो सत्ताको बागडोर सम्हालेर असफल भएपछि जनताको नासो जनतालाई नै सुम्पें भनेर दरबार छाडेर हिडेका त्यही राजालाई सत्तामा ल्याउनु पर्दछ भन्दै सडकमा निस्कनेहरुले पनि एक पटक सोच्ने बेला आएको छ । दिशाविहीन बनेका परम्परागत राजनीतिक शक्तिहरुले अबको गन्तब्य के हो भन्ने बिषयलाई समयमा नै बुझेनन् भने यस्ता शक्तिले मुलुकमा पुनः अशान्ति नल्याउलान् भन्न सकिदैन । अव दलहरु सच्चिनुको विकल्प देखिदैन । समयमा नै नेताहरुको ध्यान जानुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्