भेन्टिलेटर र सुरक्षा सामग्रीे वितरण अभियान सम्पन्न



भगवती तिमल्सिना, काठमाडौं

कोकाकोला र नेपाल रेडक्रस सोसाइटी नेरेसोको साझेदारीअन्तर्गत कोभिड–१९ को महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, कोभिड बिरामी र स्वयंसेवकहरुको सुरक्षा अभिवृद्धिका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत, वीरेन्द्रनगर, रक्तसञ्चार केन्द्र र स्वयंसेवकहरुलाई सुरक्षा सामग्री तथा उपकरण हस्तान्तरण गरिएको छ ।

वीरेन्द्रनगरमा सम्पन्न सो कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिसर काठमाडौंबाट मंसिर पहिलो हप्ता शुरु गरेको यो दोस्रो चरणको वितरण अभियान बुधबारबाट समापन भएको हो ।

कर्णाली प्रदेश मुख्यालयमा हस्तान्तरण गरिएका सामग्रीमा १६ लाख ३२ हजार ८ सय ५० मूल्यको आईसीयूमा प्रयोग हुने एक भेन्टिलेटरका साथै ६ हजार सर्जिकल मास्क, २ हजार ५ सय जोडी सर्जिकल पन्जा, ५० थान सुरक्षा पोसाक, केएन ९५ मास्क २ सय थान र २५ थान सुरक्षा चस्मा रहेका छन् । ती सामग्रीहरुको जम्मा मूल्य १९ लाख ६५ हजार २ सय रहेको छ ।

भरतपुर अस्पताल, चितवन, कोशी अस्पताल मोरङ, नारायणी उपक्षेत्रीय अस्पताल पर्सा, पोखरा स्वास्थ्य विज्ञान अस्पताल कास्की, भेरी अञ्चल अस्पताल बाँके, कर्णाली प्रदेश अस्पताल सुर्खेत र सेती प्राविधिक अस्पताल कैलालीमा भेन्टिलेटरसहित सुरक्षा सामग्री हस्तान्तरण गरिएको थियो ।

नेपाल रेडक्रस र कोकाकोला नेपालको यो साझेदारी केन्द्रीयस्तरमा मात्र नभई प्रदेश र जिल्ला तहमा पुग्न पाएकोमा खुसी व्यक्त गर्दै नेपाल रेडक्रसका केन्द्रीय उपाध्यक्ष शर्मिला कार्कीले भन्नुभयो– ‘संस्थालाई सुदृढ बनाउन र सरकार सँगसँगै हातेमालो गरी कार्यक्रम गर्न हामी प्रतिबद्ध छौं । संस्थालाई थप पारदर्शी, जिम्मेवार र सहभागितामूलक बनाउन रेडक्रसका विभिन्न निकायसँगको अन्तरक्रियालाई पनि हामी साथसाथै अघि बढाइरहेका छौं ।’

रेडक्रसको साझेदारीमा हस्तान्तरण गरिएका सामग्रीहरूको कुल मूल्य १ करोड ५७ लाख ७ सय ७० रहेको छ । साझेदारीअन्तर्गत नेपाल रेडक्रसका रक्त सञ्चार सेवाका ४ सय प्राविधिकहरू र स्वास्थ्य कर्मचारीहरू, २ सय ४७ एम्बुलेन्स चालकहरू पनि यो लाभान्वित भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्