प्राचीन काठमाडौंको आधुनिक कथा



पुष्प भट्टराई

काठमाडौं चारैतिर पहाडी थुम्काले घेरिएको प्राचीन शहर हो । चारैतिर डाँडाकाँडाले घेरिएको र बीचमा आरीजस्तो उपत्यकामा पहिले पानी भरिएको थियो भन्ने किंवदन्ती छ । नागदह भनिने त्यस दहको पानी बाहिर पठाएर यहाँ बस्ती बसालेको स्वयम्भू पुराणको कथन छ । दह सुकेपछि यहाँ हरियो घाँस पलायो । घाँसे घाँटी मैदानमा गाई चराउने गोपालवंशका ग्वालाहरु उपत्यका पसे । जति पसे त्यति बसे । पछि भैंसी चराउने महिसपालहरु पनि उपत्यका पसे । सबैले आ–आफ्नो संस्कृति रचे । वाग्मती सभ्यतामा सबै अटे ।

आफ्नो समूह र बस्तीको रक्षाका लागि रक्षक बनाइयो । पछि रक्षक राजा भए । गोपालवंशको शासन शुरु भयो । भुक्तमानले यस खाल्डोमा पहिलोपटक राजाको उपाधि पाए । नेपालमा शासन व्यवस्थाको सूत्रपात भयो । त्यसपछि महिसपालको पालो आयो । किराँती राजा यलम्बरले यिनलाई जितेर राज्यकलाको थालनी गरे । ३२ पुस्ता किराँतले शासन गरेको उपत्यकामा भारतको वैशालीबाट नेपाल प्रवेश गरेका लिच्छविहरुले फेरि यिनलाई किनारा लगाएर शासन हातमा लिए । लिच्छवि शासन सबल बन्यो । उनीहरुले काठमाडौं खाल्डोलाई ललितकलाले झकिझकाउ बनाए ।

सबैलाई सधैँ सुख कहाँ मिल्छ भनेझैँ फेरि नेपालमा मल्लहरुको पालो आयो । मल्लकालीन शासनमा समसुद्दिनले आक्रमण गरी सभ्यातामाथि ठूलो क्षति पु¥याए । लामो समय लगाएर पुनर्निर्माण गरिएको मल्लकालीन कलासंस्कृतिले उपत्यका धपक्क बल्यो । मल्लहरुले आफ्नो शासनकालमा उपत्यकालाई तीन चिरा बनाएर थुप्रै राजाहरुले राज्य सञ्चालनको रमिता चाखे । जात्रा, मेला र पर्वको थालनी गरे ।

मल्ल शासनको जग भत्काएर वि.सं. १८२५ मा पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकालाई नेपालकै ठूलो राजधानी बनाए । शाह कालमा यो पूरै नेपालको केन्द्र बन्यो । दुनियाँको आकर्षण केन्द्र बन्यो । आँखाको नानी बन्यो । जंगबहादुर राणाले सूत्रपात गरेको जहानिया शासनसम्ममा यहाँ ठूला–ठूला दरबार र महल बनाइए । २००७ सालको क्रान्तिपछि ती ठूला महल राज्यका सम्पत्ति बने । पहिलेका दरबार अहिले नेपालको प्रशासनिक भवन बनेका छन् ।

हाम्रा आदिकवि भानुभक्तले यसलाई अमरावती कान्तिपुरी नगरी भनेर कविता रचे । महाकवि लक्ष्मीप्रसाद देवकोटाले केवरा फुल्ने त्यो कान्तिपुर नगरी भन्दै मुनामदनमा गीत गाए । हरेक नेपाली एकपटक रमिता हेर्न काठमाडौं पुगौं भन्छन् । हुनेखानेले यतै बसौं–बसौं लाग्दालाग्दै थपिएका घरले आज काठमाडौं कुरुप बन्दै गएको छ ।

विदेशी आए, घरभन्दा मन्दिर धेरै भन्ने लेखेर गए । अनि दुनियाँ काठमाडौं हेरुँ भन्दै बकर्सेनि ओइरिन थाले । आज पनि काठमाडौंमा विकासका नाममा जे गतिविधि भइरहेका छन् ती काठमाडौंलाई बनाउन होइन, बिगार्न भइरहेका काम हुन् भन्दा फरक पर्दैन । किनकि यो शहर पृथ्वीनारायण शाहले राजधानी बनाउनुअघि नै गरिमामय र विकसित शहर थियो ।

वि.सं. १४२८ तिर नै काठमाडौंले महानगरको सम्मान पाएको थियो । त्यति बेलै यो शहर गतिशील र विकसित नगर थियो भन्ने थुप्रै प्रमाण भेटिएका छन् । वास्तवमा एकीकृत नेपालको राजधानी काठमाडौं सारिएपछि यो शहरले विकासभन्दा विनाशका शृङ्खला बढी भोग्नुप¥यो । पृथ्वीनारायण शाहकै पालादेखि यहाँ ठूला–ठूला दरबार बनाउन उर्वरभूमिको प्रयोग हुन थाल्यो ।

भीमसेन थापाको पालासम्म आइपुग्दा यहाँका रैथाने खेतबारी मात्र होइन बनाइसकेका घर–बस्तीहरु उठाएर अतिक्रमणको थालनी गरियो । दरबारका शैलीहरु फेरिए । राणाहरुले त दरबार बनाउने होडबाजी मात्रै गरेनन्, दरबार बनाएर उपहार दिने चलन बसाए । घरैघरको नगर बनाएर नागरिक बनेका यहाँका जनता भने सधैँ नाजुक बने ।

काठमाडौंको त्रस्त मान्छे भने नगरको माझमा पर्खाल ठड्याई, किलाकाँटा र तारबारले घेरिएर, ढोकामा सेक्युरिटी राखी तलामाथि ढोकामा ताला ठोकी कोठाभित्र सिरकमुनि घुस्रिएको छ । यस्तै–यस्तै सुख खोज्ने कमजोर मानिसहरुको समूहले विगतमा यो शहर बनाए ।

नागढुंगा, थानकोटबाट हेर्दा होस् या साँगा भन्ज्याङबाट हेर्दा होस्, यो पहाडी बस्ती गजब देखिन्छ । नीलो आकाश, चारैतिर हरिया डाँडा, डाँडाको फेदमा पानीका धारा, खेतमा झुलेका धानका बाला देखेर नलोभिने कोही भएन ।

शीतल हावापानी, ठाउँ–ठाउँमा देवताका थान, स्वयम्भुनाथको दृष्टि, पशुपतिनाथको सृष्टि, धरहराको केन्द्रविन्दु र बूढानीलकण्ठले शिवपुरीको शिरमा लगाएको सिरानी देखेर नरमाउने कोही भएन । यहाँको टुँडिखेलको मञ्च देखेर दुनियाँ लोभियो । यहाँको हरियाली ढाकेर घर ठडिए । माटो किचेर सिमेन्टमाथि रड रोपियो । उपत्यकाभरि घरैघर बने ।

इतिहासको लामो कालखण्ड पार गरेर यहाँसम्म आइपुगेको झन्डै ४० लाख मानिसको बसोबास रहेको यो शहरमा सुविधा र सकस बराबरी छन् । सुविधा र पूर्वाधार त पछि बनाएपछि हुने भन्दै पहिले महानगर बनाइएको काठमाडौं आज राजधानी शहर बनेको छ । यहाँ बिजुली छ तर बत्ती बल्दैन । धारा छ तर पानी आउँदैन । सडक छ तर जामले गाडी चल्दैन । कानुन छ तर कसैले पालना गर्दैन । नेता छन् तर कसैले विश्वास गर्दैनन् । दुःखी–गरिब पनि छन् तर कसैले हेर्दैनन् । धनीहरु छन् तर दान गर्दैनन् । आफूभन्दा बलिया आए आफैं थर्कन्छन्, शरणमा पर्छन् । यहाँ अपनत्वको दम छैन । यहाँ भिन्नताको भड्खालो छ ।

हुनेखाने सडकमा फोहोर फाल्छन् । सडकमा हिँड्नेलाई पिसाब फेर्ने ठाउँ छैन, पैसा तिरेर पिसाब फेर्छन् । कोही कपाल कोर्न नपाएर लट्टा पार्दै हिँड्छन् । कोही कपाल लट्टा पार्न ब्युटिपार्लर धाउँछन् । कर्मचारी चौरमा घाम तापिरहेछन् । सेवाग्राही झ्यालमा झुन्डिरहेछन् । नूनको नाताले देश चलिरहेछ ।

आज संघीयताको स्वर उराल्ने दलहरुले पनि बाहिर केही देखेका छैनन् । बाहिरको घरभन्दा राजधानीको डेरा नै बलियो देख्छन् । वास्तवमा शहर समस्याको घर हो तर पनि पोलिने पत्ता नभएर पुतली बत्तीमा होमिएझैँ दुनियाँ शहरतिर आकर्षित छ ।

आजको मान्छे शहरमा घर बनाएर सुख काट्ने रहरमा छ । यही मानव रहरले शहर घरैघरले भरिँदो छ । सुख–सविधा र सम्पत्ति खोज्दाखोज्दै फुकाउन नसकिने चक्रब्यूहको गाँठोमा परेको छ । सुख खोज्ने कमजोर मानिसको समूहले शहर बनाउँछ । शहरमा घर नजिक हुन्छन् तर मन टाढा हुन्छन् । आफू–आफूमा मिल्न नसक्नु यो शहरको दुर्भाग्य हो ।

यस्तै शहरमा प्रकृतिको प्रहार हुन्छ । भुइँचालो आउँदा थोरै समयका लागि आए पनि असर भने पछिसम्म छाडेर जान्छ । ऐतिहासिक सम्पदा मेरुदण्ड भाँचिएझैँ थला पर्छन् । उता प्रकृतिको काखमा रमेर बाँच्नेलाई शहरको सुर्ता छैन । जे पर्ला सोही टर्ला भन्ने आँट छ । तर शहरियाहरु त सोचेर सास फेर्छन् । आफ्नैसँग पनि शंका गर्छन् ।

विश्वमा मान्छे नै मान्छे थुप्रिएका थुप्रै शहर छन् । नदी किनारमा हुर्किएका शहरी सभ्यतामा अझै मानिसको घुइँचो देख्न सकिन्छ । शहरको महत्व भएरै त होला । रुसको भोल्गा नदीको काखमा ११ वटा ठूला शहर आमाको काखमा दुधे बालक बसेझैँ बसेका छन् । भारतको गंगा नदीतटमा अवस्थित साना–ठूला शहरमा ३१ करोड मानिस बसोबास गर्छन् । यता उद्गम स्थलदेखि गंगाको किनारसम्ममा १ हजार ८ वटा तीर्थस्थलले भरिएको वाग्मती नदीको भने दुर्दशा लेखी साध्य छैन ।

भन्नलाई नेपाल गाउँ नै गाउँले भरिएको देश भनिए पनि नेपालमा पनि ६२ प्रतिशत जनसंख्या अहिलेको संघीय संरचनाको २ सय ९३ वटा नगरपालिकामा बसोबास गर्छन् । यस तथ्यले के देखाउँछ भने, विकासोन्मुख देशहरुमा शहरीकरण तीव्रगतिमा बढिरहेको प्रमाणित हुन्छ । कतै मानिसको कभीडले भरिएका शहर छन् । कतै भीडले शहर भरिएका छन् । त्यसैले संसारका आधाभन्दा बढी मानिसहरु शहरमा बसोबास गर्छन् ।

शहरमा देखिने कुरा देखिन्छ तर नदेखिने दर्द न लेख्न मिल्छ, न त भन्न मिल्छ । पापी पेट पाल्न शहरमा पैसा नभई हुन्न । दिनभरि रंगमञ्चमा रौसिनु र रातभरि रुनु शहरको विशेषता हो । यो राजधानी हल्लाको चमत्कार गर्ने शहर हो । ढाकछोपको ढकनी हो । वीर अस्पतालमा उपचार गर्न आएको मान्छेलाई पालो कुर्दाकुर्दै होटलको भोजनले जन्डिस जन्मिन्छ ।

यता जात्रा उता जुलुस । टुँडिखेलको बारमा झुन्डिएर हेर्नेको मेला लाग्छ । नेता चमत्कारको भाषण सुनाउँछन् । जनता हल्लाको महायज्ञमा भाग लिइरहेछन् । मुखले केन्द्रको विरोध गर्ने तर दलका सबै नेता राजधानी छाड्दै नछाड्ने चलन छ । सास रहुन्जेल सत्ताको साँचो समाउने लालसा बोकेर राजधानीमा बस्ने नेतालाई चिन्न नसक्नु नेपाली जनताको झन् ठूलो भूल देखिन्छ । सत्तामा गएर के गर्ने भन्ने दूरदृष्टि नभएका नेतालाई जतिपटक जनताले जिताएर पठाए पनि केही हुँदैन ।

 

प्रतिक्रिया दिनुहोस्