युनाइटेडको पुनरागमन जित



लन्डन, (एजेन्सी)
उरुग्वेली फरवार्ड एडिन्सन काभानीको उत्कृष्ट प्रदर्शनमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा पुनरागमन जित निकालेको छ ।
आइतबार राति भएको लिगको नवौं चरणको खेलमा युनाइटेडले साउथह्याम्पटनलाई उसैको घरेलु मैदानमा २–० गोलअन्तरले पछि परेको अवस्था उल्टाएर ३–२ ले हराएको हो । युनाइटेडलाई खराब स्थितिबाट जितको हकदार बनाउन काभानीले वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेर दुई गोल गर्नुका साथै एक गोलका लागि असिस्टसमेत गरे ।
आफ्नो घरेलु मैदानमा साउथह्याम्पटनले खेलको २३औं मिनेटमा पहिलो गोल गरेको थियो । सो गोल जान बेडनारेकले गरेका थिए । त्यसपछि ३३औं मिनेटमा जेम्स वार्ड प्रोजले गोल गरेपछि पहिलो हाफमा युनाइटेड २–० ले पछि परेको थियो । तर, दोस्रो हाफमा युनाइटेडले उत्कृष्ट कमब्याक गर्दै खेलको नतिजा नै आफ्नो पक्षमा पार्न सफल भयो । काभानी दोस्रो हाफको शुरुआतमै मैदान प्रवेश गरेका थिए ।
युनाइटेडका लागि खेलको ५९औं मिनेटमा ब्रुनो फर्नान्डेजले कडा प्रहारमा गोल गरेर खेल २–१ स्थितिमा ल्याएका थिए । उनले काभानीको पासमा गोल गरेका थिए । त्यसपछि ७४औं मिनेटमा काभानीले हेडिङमार्फत बराबरी गोल गरेपछि युनाइटेड खेलमा फर्किएको थियो । त्यसपछि खेलको इन्जुरी समयमा युनाइटेडका लागि काभानीले हेडिङमार्फत चलाखीपूर्वक दोस्रो गोल गरेपछि खेल युनाइटेडले ३–२ ले जित्यो । यो जितसँगै युनाइटेडको ९ खेलबाट १६ अंक भएको छ । पराजित साउथह्यामपटनको भने १० खेलपछि १७ अंक रहेको छ ।
आइतबार राति नै भएको अर्को खेलमा दुई बलिया टोलीहरू चेल्सी र टोटनह्यामले भने बराबरी खेलेका छन् । लिगको १०औं साताको खेलमा चेल्सी र टोटनह्यामले गोलरहित बराबरी खेलेका हुन् । चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको सिजनको पहिलो लेगको खेलमा दुवै टोलीले गोल गर्न नसक्दा समान एक–एक अंक बाँडे । यो बराबरीपछि टोटनह्यामको १० खेलबाट २१ अंक भएको छ । त्यसैगरी, चेल्सीको पनि समान खेलबाट १९ अंक पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्