गोल गरेपछि मेसीले म्याराडोनालाई सम्झे



मेड्रिड, (एजेन्सी)

बार्सिलोनाका लागि गोल गरेपछि लियोनेल मेसीले गत साता निधन भएका महान् फुटबलर डिएगो म्याराडोनाको सम्झना गरेका छन् ।

मेसीले तीन जना डिफेन्डरलाई छलाएर बायाँ खुट्टाले गोल गरेका थिए । सो गोल गरेसँगै उनलाई टिमका साथीहरुले बधाई दिए । त्यसपछि उनी अलग गई दुई हात माथि उठाएर म्याराडोनाको सम्झना गरेका थिए । उनले बार्सिलोनाको जर्सी फुकालेर म्याराडोनाले न्युवेल्स् ओल्ड ब्वायजमा खेल्दाखेरि लगाएको १० नम्बर अंकित जर्सी जस्तै लुगा देखाएर महान् खेलाडीलाई सम्झे । म्याराडोनाले न्युवेल्स्बाट आफ्नो फुटबल करियर समाप्त गरेका थिए ।

बार्सिलोनाले ला लिगाअन्तर्गत आइतबार राति भएको उक्त खेलमा ओसासुनालाई ४–० ले हराएको थियो । बार्सिलोनाका लागि गोल गर्ने अवसर ११ मिनेटमै आएको थियो, तर गोल गर्न सकेन । गार्सियाले फिलिप कौटिन्होको प्रहार क्लियर गरिदिएपछि बार्सिलोना गोल गर्न अक्षम भएको थियो ।

त्यस्तै एन्टोइन ग्रिजम्यानको प्रहार ओसासुनाका गोलकिपर सर्जियो हेरेराले बचाए। तर रिबाउन्डमा मेसीको सहयोगमा मार्टिन ब्रेथवेटले गोल गरेका थिए । बार्सिलोनालाई ३०औं मिनेटमा १–० को अग्रता दिलाएका ब्रेथवेटले पाँच दिनमा तेस्रो गोल गरेका थिए । मिडल्सब्रागका पूर्वखेलाडी ब्रेथवेटले च्याम्पियन्स लिगअन्तर्गत खेलमा डिनामो किएभविरुद्ध दुई गरेका थिए ।

ग्रिजम्यानले पहिलो हाफ सकिन लाग्दा बार्सिलोनाको अग्रता दोब्बर पारेका थिए । उनले ४२औं मिनेटमा अल्बाले बायाँ विङबाट गरेको क्रसमा भली प्रहार गर्दै गोल गरेका थिए । यो उनको सबै प्रतिस्पर्धामा गरी जारी सिजनको चौथो गोल थियो । पहिलो हाफमा २–० को अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा पनि दुई गोल गरेको थियो ।

पहिलो हाफमा गोल गर्न चुकेका कौटिन्होले ५७औं मिनेटमा टिमको तेस्रो गोल गरे । सो गोलका लागि ग्रिजम्यानले बल सप्लाई गरेका थिए । यो गोलसँगै बार्सिलोनाको जित सुनिश्चित भइसकेको थियो । मेसीले ७३औं मिनेटमा गोल गरेका थिए ।

यो यस सिजनमा सबै प्रतिस्पर्धामा गरी उनको सातौं गोल थियो । यो जितसँगै बार्सिलोनालाई सातौं स्थानमा पु¥याएको छ । ओसासुना भने रेलिगेसन क्षेत्रबाट ३ अंकले मात्रै सुरक्षित छ ।

प्रतिक्रिया दिनुहोस्