निरोगी र दीर्घरोगीका लागि नेचुरोपेथी



काठमाडौं, (नेस)

शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले दीर्घरोगीका लागि प्राकृतिक चिकित्सा पद्धति (नेचुरोपेथी) वरदानझैं रहेको बताउनुभएको छ । काठमाडौंको वसुन्धारास्थित काठमाडौं नेचुरोपेथी अस्पतालको प्रथम वार्षिकोत्सव तथा रक्तदान कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले निरोगी र रोगी दुवैका लागि नेचुरोपेथी उपयोगी रहेको बताउनुभएको हो ।

सबै अस्पताल धाएर नेचुरोपेथी अस्पताल आउनुभन्दा शुरुमै नेचुरोपेथीबाट उपचार गराउन उपयुक्त हुने मन्त्री श्रेष्ठको धारणा छ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री इन्द्रबहादुर गुरुङले आफू नेचुरोपेथी उपचार गराएकै कारण ८३ वर्षको उमेरमा पनि स्वस्थ रहेको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य देवेन्द्र पराजुली र सोभियत ढकालले प्राकृतिक पद्धति अहिले सबैका लागि आवश्यक रहेको मन्तव्य राख्नुभएको थियो ।

यसका लागि राज्यको पनि ध्यान जानुपर्ने उहाँहरुको भनाइ छ । नेपाली चलचित्रका नायक रमेश उप्रेती तथा नेपाल प्रहरीका एसपी दानबहादुर कार्कीले प्राकृतिक चिकित्साप्रति विश्वास गर्ने भएकाले आफूहरु नियमितरुपमा नेचुरोपेथी सेवा लिने गरेको बताउनुभयो । कलाकारका लागि नेचुरोपेथी झनै आवश्यक रहेको उहाँले बताउनुभयो ।

टोखा नगरपालिका–५ का वडाध्यक्ष जगन्नाथ ढकाल, जिल्ला विकास समिति लमजुङका पूर्वसभापति जीवनराज विष्ट, वरिष्ठ पत्रकार टंक पन्तलगायतले नेचुरोपेथी अस्पतालको सफलताको कामना गर्नुभएको थियो ।

कार्यक्रममा अस्पतालका अध्यक्ष गणेश पाण्डेले दीर्घकालीन रोगीहरुको संख्या बढेकाले प्राकृतिक चिकित्साको खाँचो दिनानुदिन बढ्दै गएको बताउनुभयो ।

अस्पतालका मेडिकल निर्देशक डा. यञ्जन गैह्रेले प्राकृतिक चिकित्सा, फिजियोथेरापी, मसाजथेरापी, हाइड्रोथेरापी, योगथेरापी, अकुपञ्चर, अकुप्रेसर, भोजन परामर्शलगायत सेवा प्रदान गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्