नयाँ कक्षाकोठा, नयाँ उमंग



नेपाल समाचारपत्र, बाँके

राप्तीसोनारी गाउँपालिका–५ बिनौनाकी करिश्मा थारु अन्तिमपटक स्कुल जाँदा नौ कक्षामा हुनुहुन्थ्यो ।
कोरोनाको त्रास बढ्यो । सरकारले लकडाउन ग¥यो । स्कुल बन्द गरायो । नौ महिनापछि पहिलो दिन स्कुल जाँदा करिश्मा दश कक्षाको कोठामा छिर्नुभयो । लकडाउनपछि पहिलोपटक आइतबार स्कुल खुल्दा विद्यार्थीमा नयाँ किताब, नयाँ कक्षाकोठाका साथै नयाँ उमंग देखिन्थ्यो ।

‘नौ महिनापछि स्कुल आउन पाएँ । त्यसमा पनि नयाँ किताव, नयाँ कक्षाकोठा । म त धेरै खुसी छु’, करिश्माले भन्नुभयो– लामो समयसम्म विद्यालय बन्द हुँदा घरमै काम गरेर बसेको थिए । आज स्कुल आउन पाउदा खुसी लागेको छ ।’

नेरा मावि चिलरियामा पढ्ने करिश्मा साथीसँग रमाइलो अनि हाँसखेल गर्दै स्कुल गइरहनुभएको थियो । लामो समयपछि स्कुल पोशाकमा साथीसँग गफ गर्दै स्कुल जान पाएकाले होला, करिश्मालगायत उनका साथीहरु खुसी देखिन्थे ।

राप्तीसोनारी गाउँपालिका–४ बैजापुरको जनशक्ति माविमा कक्षा १० मा पढ्ने लक्ष्मी थारूको अवस्था पनि त्यस्तै थियो । स्कुल पोशाकमा सजिएर एक्लै स्कुल गइरहनुभएकी लक्ष्मीले यो वर्ष त पढ्नै पाइँदैन कि भन्ने आशंका दूर भएको बताउनुभयो ।

राप्तीसोनारी गाउँपालिकाको शिक्षा समिति र प्रधानाध्यापकहरुको बैठकले सरकारले जारी गरेको विद्यालय सञ्चालन कार्यढाँचालाई पछ्याउँदै स्कुल खोल्ने निर्णय गरेको छ ।

गाउँपालिकाका शिक्षा शाखामा प्रमुख जीवन न्यौपानेले आइतबार सबै विद्यालय खुलेको जानकारी दिनुभयो । गाउँपालिकामा ५४ वटा सरकारी र १६ वटा संस्थागत विद्यालय रहेका छन् । कार्यढाँचाअनुसार बैठक बसेर स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय सञ्चालनमा ल्याइएको न्यौपानेको भनाइ थियो । उहाँका अनुसार, स्वास्थ्य मापदण्ड भनेको मास्क लगाउने, सेनिटाइजर र थर्मलगन राख्ने, कक्षाकोठामा दूरी कायम गरेर पढाउने आदि रहेका छन् ।

न्यौपानेले यसो भनिरहँदा विद्यार्थीहरु मास्कसमेत नलगाई स्कुल गइरहेका देखिन्थे । समूह–समूह बनाएर स्कुल गइरहेका विद्यार्थीहरुले मास्क लगाएका थिएनन् । कतिपयलाई मास्क खोई भनेर सोद्धा ‘स्कुलले दियो भने लगाउँछौं’ भन्थे ।

निर्णय गर्ने तर पालना नगर्ने परिपाटीले गर्दा कक्षाकोठामा कोही कोरोना लागेको पुगेमा के हुन्छ ? गाउँपालिकाका शिक्षा शाखाका प्रमुख न्यौपानेले भन्नुभयो– ‘विद्यार्थीलाई कोरोना लागेको देखियो भने तत्काल विद्यालय बन्द हुन्छ ।’

जिल्लामा राप्तीसोनारीमात्रै होइन, अरू पालिकाले पनि स्कुल खोल्ने तयारीमा छन् । अभिभावकहरुसँग छलफल गर्ने, स्वास्थ्य मापदण्ड अपनाएर स्कुल खोल्ने रणनीतिमा विद्यालय लागेको पाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्