सैन्य सहयोग सुचारु गर्ने वेईको प्रतिबद्धता



नेपाल समाचारपत्र, काठमाडौं

एकदिने नेपाल भ्रमणमा आउनुभएका चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्हेले विगतमा नेपाललाई दिने भनिएको सैनिक सहयोग यथाशीघ्र शुरु गर्ने घोषणा गर्दै नेपालबाट फिर्ता हुनुभएको छ ।

एकदिने भ्रमणका क्रममा नेपाल आउनुभएका वेईले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवासमा भेट गरी नेपाल र चीनबीच रहेको सम्बन्धलाई अझै मजबुत बनाउने र नेपाललाई चीनले सक्दो सहयोग गर्ने आश्वासन दिनुभएको छ ।

राष्ट्रपति भण्डारीलाई भेट्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई उहाँले बालुवारमा नै भेटवार्ता गर्नुभएको थियो । झन्डै ४५ मिनेट भएको भेटमा चीन नेपालको एक अभिन्न छिमेकी भएको र आगामी दिनमा चीन सरकारले गर्ने सहयोगमा अझै वृद्धि गर्ने आश्वासन दिनुभएको थियो ।

प्रधानमन्त्री ओलीले नेपाल एक चीन नीतिमा अडिग रहेको र नेपाली भूमिलाई प्रयोग गरेर चीन विरोधी कुनै पनि गतिविधि हुन नदिने आश्वासन रक्षामन्त्री वेईलाई दिनुभएको थियो ।

२१ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गरेर विशेष विमानमा नेपाल आउनुभएका रक्षा मन्त्री वेईको दिनभरको कार्यसूची व्यस्त रहेको थियो । विगतमा नेपाललाई सहयोग घोषणा गरे पनि उक्त सहयोग नेपालले समयमा नपाउने गरेको गुनासोलाई सम्बोधन गर्दै उहाँले विगतमा रोकिएका सबै सहयोग अब छिट्टै नेपालले प्राप्त गर्ने आश्वासनसमेत स्टेट काउन्सिलर वेईले दिनुभएको थियो ।

रक्षामन्त्री वेईको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत प्रदान गरेको थियो । सम्मान गारतपछि सैनिक मुख्यालयमा भएको छलफलमा रक्षामन्त्री वेईले नेपाली सेनालाई उपलब्ध गराउँदै आएको सैन्य सहयोग सुचारु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

छलफलमा कोभिड–१९ महामारीका कारण प्रभावित भएका तालिम तथा शिक्षार्थी आदानप्रदानलाई नियमित गर्ने विगतमा सहमति भएका सैनिक सहायतालाई यथाशीघ्र उपलब्ध गराउने बारेमा समेत छलफल भएको सैनिक मुख्यालयले जनाएको छ ।

कोरोना संक्रमण महामारीविरुद्धको प्रतिकार्यमा समेत चीनले सहयोग गर्ने आश्वासन रक्षामन्त्री वेईले प्रधानसेनापति पूर्णचन्द्र थापालाई दिनुभएको थियो ।

वेईको भ्रमणका बेला चीन विरोधी गतिविधि हुन सक्ने सूचना पाएको सुरक्षा निकायले राजधानीको सुरक्षा व्यवस्थालाई समेत कडा बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्