कोरोनादेखि क्रोधित किमद्वारा दुईजनालाई मृत्युदण्ड



सोल,(एजेन्सी)

उत्तर कोरियाली सर्वोच्च नेता किम जोंग उन कोरोना भाइरस महामारी र अर्थतन्त्रमा परेको त्यसको नकारात्मक प्रभाबलाई लिएर निकै आक्रोसित रहेको दक्षिण कोरियाको गुप्तचर निकायले जनाएको छ । एसोसियटेड प्रेसका अनुसार कोरोना भाइरसकै सिलसिलामा किमले कम्तिमा दुईजनालाई मृत्युदण्ड दिन, राजधानी प्योंगयांगमा लकडाउन गर्न र महामारी फैलिन नदिन अन्य थप उपायहरु अपनाउन आदेश दिएका छन् ।

मृत्युदण्ड दिइएका मध्ये एकजना प्योंगयांगका अति चर्चित पैसा सटही गर्ने व्यक्ति भएको बताइएको छ । उनी माथि उत्तर कोरियाको मुद्रा सटही दरमा ह्वात्तै घट्नुका लागि जिम्मेवार रहेको अभियोग लगाइएको छ । मुलुककै सबैभन्दा ठूलो व्यापार साझेदार चीनसंगका सिमाना बन्द रहेको कारण केहि महिना यता उत्तर कोरियाको अर्थतन्त्र नराम्ररी खस्किंदै गइरहेको छ ।

चीनले गत जनवरी देखि उत्तर कोरियासंगको सिमाना बन्द गर्दै आएको छ । दक्षिण कोरियाको प्रमुख गुप्तचर निकाय राष्ट्रिय गुप्तचर सेवा (एनआइएस ) संगको गोप्य बैठकपछि विधायकहरुले पत्रकारहरुलाई किमको क्रोधबारे जानकारी गराएका हुन् । मृत्युदण्ड दिइएको भनिएका अर्का व्यक्ति उच्च पदस्थ सरकारी अधिककारी रहेको बताइएको छ ।

उनी माथि महामारीको दौरान विदेशबाट आउने सामानहरु माथिको बन्देज उल्लंघन गरेको अभियोग लगाइएको छ । कोरियाको अन्तर्राष्ट्रिय व्यापार संगठनका अनुसार सेप्टेम्वर यता उत्तर कोरियाको चीनसंगको व्यापार ७३ प्रतिशतले घटेको छ । दि साउथ चाइना मर्निंग पोस्टले वार्षिक रुपमा यो तथ्यांक ८० प्रतिशत पुग्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्