कोरोना भाइरसले रोक्यो बेंसी झर्ने मुस्ताङीलाई



प्रताप बानियाँ, म्याग्दी ।

सधैंको हिउँदमा बेंसी झर्ने मुस्ताङीलाई यसपटक भने कोरोना भाइरसले रोकिदिएको छ । हिमालपारीको जिल्ला मुस्ताङका स्थानीयवासिन्दाहरु यसवर्ष चिसो छल्नका लागि बेंसीतर्फको भ्रमणमा निस्कन सकेका छैनन् । उनीहरु विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोडिभ–१९)को संक्रमणको जोखिमका कारण बेंसी झर्न नपाएका हुन् ।

हरेक वर्षको हिउँदे सिजनमा जाडो छल्न बेंसी झर्ने गरेका मुस्ताङीहरुलाई यसपटक बढ्दो चिसोमा पनि मुस्ताङमै बस्नुपर्ने बाध्यता सिर्जना भएको छ । विगतका वर्षहरुमा कार्तिक महिनाको सुरुआतसँगै जाडो छल्न मुस्ताङीहरु न्यानो क्षेत्रतर्फ लाग्ने गरेका थिए । तर यसवर्ष भने मंसिरको दोस्रो हप्ता बितिसक्दा पनि कोरोनाको डरले उनीहरु आफ्नो क्षेत्रबाट बाहिर निस्कन पाएका छैनन् ।

जाडोको समयमा उपल्लो मुस्ताङको अधिकांश क्षेत्रहरु पुरै खाली हुने र तल्लो भेगमा पनि न्युन मात्रामा स्थानीयहरु बस्ने गरेको विगतलाई यसवर्ष कोरोनाले पुरै रोकिदिएको छ । कार्तिकदेखि बेँसी झरेर मुस्ताङीहरु फागुन, चैतमा पुनः मुस्ताङ फर्किने गर्दथे । यो वर्ष कोरोना भाइरसको संक्रमणको जोखिमले स्थानीय आफ्नो थातथलो नछाड्ने अवस्थामा छन् । विगतका वर्षहरुमा यो समयसम्म आइपुग्दा उपल्लो मुस्ताङमा १० प्रतिशतको हाराहारी मात्रै स्थानीय हुने गरेका थिए ।

तीमध्ये पनि वृद्धवृद्धा, भेडा गोठाला र घर कुरुवा मात्रै रहन्थे । लामो समयसम्म कोरोना संक्रमणको हिसाबले हेर्ने हो भने गण्डकी प्रदेशमा मुस्ताङ ‘ग्रीन जोन’मा परेको थियो । तर पछिल्लो तथ्याङ्कअनुसार मुस्ताङमा पनि कोरोना भाइरसका संक्रमित बढेका छन् । जोखिमकै बीचमा पनि चिसो छल्न पोखरा तथा काठमाडौंमा घर हुनेहरुबाहेक अन्य स्थानीयवासी बेंसी नझरेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले बताउनुभयो ।

उहाँका अनुसार अहिले मुस्ताङको तापक्रम दिनहुँ घट्दो क्रममा रहेको छ भने जोमसोममा माइनस ६ र उपल्लो मुस्ताङमा माइनस १० डिग्री सेल्सियसमा तापक्रम झरेको छ । मुस्ताङमा गएको असोज अन्तिम सातादेखि नै चिसो बढ्न सुरु भएको थियो । यसैगरी उपल्लो मुस्ताङको विभिन्न विद्यालयका विद्यार्थीहरुलाई विगतका वर्षमा घुम्ती विद्यालयमार्फत पोखरा लगेर पढाउने गरिएको भए पनि यसवर्ष कोरोना भाइरसकै कारण उनीहरु पोखरा जान सकेनन् ।

हिमाली जिल्लामा पर्ने मुस्ताङमा फागुन महिनादेखि शैक्षिक सत्र सुरु भएर मंसिरमा सकिन्छ । तर यसपटक भने कोरोना भाइरसको जोखिम तथा लामो समयसम्म भएको लकडाउनले पनि शैक्षिक क्षेत्रलाई प्रभावित बनायो । उपल्लो र मध्य मुस्ताङका स्थानीय प्राचीन समयदेखि नै गधा, घोडा र खच्चड धपाउँदै बालबच्चासहित हिउँदमा बेंसीका जिल्लाहरु म्याग्दी, पर्वत, कास्की, तनहुँ र चितवन हुँदै भारतसम्म पुग्ने गर्दथे ।

विभिन्न वस्तीमा पुगेर घुम्ती व्यापार गर्ने र भारतमा पुगेरै थोक व्यापारसम्म गर्ने मुस्ताङीहरु फागुन तथा चैत महिनापछि मात्रै तीनै गधा, घोडा र खच्चडमा खाद्यान्न बोकाएर घर फर्किन्थे । यसवर्ष भने कोरोना भाइरस संक्रमणको जोखिमले जिल्ला बाहिर जान सक्ने अवस्था नभएको उपल्लो मुस्ताङको चराङकी स्थानीय माया बिष्टले बताउनुभयो ।

यसरी घुम्ती व्यापार तथा बेंसी झर्ने मुस्ताङीहरुले नेपालको विभिन्न जिल्लासहित ईन्डियाको बनारस, आसाम, नागाल्याण्ड, सिमला पुगेर स्वीटर, ट्राउजर, जिम्बु, सिद्रा, सियो, लसुन, धागोजस्ता चिज तथा बस्तु बिक्री वितरण गर्ने गर्दछन् । उनीहरुले यस अवधिमा मुस्ताङमा निर्माण गरिएको घरेलु र चिनिया सामान बिक्री गर्नुका साथै पुरानोले नयाँ सामान समेत खरिदबिक्री र साटासाट गर्दथे । तर यसपटक कोरोनाका कारण मुस्ताङ–तिब्बत व्यापार मेला नभएको र बेंसी झर्न नपाउँदा समस्यामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्