टाइसन र जोन्सले बराबरी खेले



एजेन्सी ।माईक टाइसन र रोय जोन्स जूनियरबीच भएको बहुप्रतीक्षित प्रदर्शनी बक्सिंग भिडन्त बराबरीमा टुङ्गिएको छ । नेपाली समयअनुसार आइतबार बिहान लस एन्जेल्सको स्टेपल्स सेन्टरमा भएको खेलमा दुवै जनाले बराबरीको नतिजा निकालेका हुन् । तुलनात्मक रुपमा टाइसन हावी रहेपनि रिंगसाइड जज नराखिएको उक्त आठ राउण्डको भिडन्तमा दुवैले बराबरीको नतिजा आत्मसात गरेका हुन् । उक्त खेलमा वर्ल्ड बक्सिंग काउन्सिल सम्बद्ध जजहरुले रिंग रहेको स्थानभन्दा टाढा बसि अंक दिएका थिए ।

खेल अवधिभर टाइसन भन्दा जोन्स थकित देखिएका थिए । खेल सकेको अन्तिम घण्टी बजेसँगै दुवै खेलाडीले अंकमाल गर्दै खुसी साटेका थिए । खेलपछि टाइसनले दुई मिनेटको राउण्ड पनि तीन मिनेटको जस्तो महसूस भएको प्रतिक्रिया दिएका थिए । ५४ वर्षीय टाइसनले भने(“मलाई दुई मिनेटको राउण्ड पनि तीन मिनेटसम्म चलेको हो की भन्ने महसूस भएको थियो। यो खेल जित र हारको नतिजामा केन्द्रित भन्दा पनि यसबाट उठेको रकम च्यारिटीलाई दिने लक्ष्य रहेको हो ।“

त्यस्तै अन्य भिडन्तमा एडवार्ड भाजक्वेजले ईर्भीन गोन्जालेजलाई स्पलिट डिसीजनमा हराउँदा जमाइने ओर्टिजले सुलैमान सेगावालाई सातौं राउण्डमा टेक्निकल नकआउटको आधारमा पराजित गरे । त्यस्तै, बादोउ ज्याकले ब्लेक मेककेम्यानलाई युनानिमोस डिसीजनमा हराउँदा जेक पाउलले पनि नेत रोबिन्सनलाई दोस्रो राउण्डमा नकआउट गरे ।

प्रतिक्रिया दिनुहोस्