म्याराडोनाको गोलमा गर्वित भएका रेफ्री



लन्डन, (एजेन्सी)

सन् १९८६ को फिफा विश्वकपमा भएको शताब्दीकै गोलका कारण डिएगो म्याराडोना फुटबलर र फुटबल समर्थकहरुका लागि आदर्श खेलाडी बने । इंग्ल्यान्ड र अर्जेन्टिनाबीच भएको सो क्वार्टरफाइनल खेल म्याराडोनाकै अद्भूत प्रदर्शनको कारण अर्जेन्टिनाले जितेको थियो । अर्जेन्टिनाले सो विश्वकप उपाधि पनि जितेको थियो ।

इंग्ल्यान्ड र अर्जेन्टिनाबीच भएको सो खेलबारे खेलका ट्युनिसियन रेफ्रीले केही स्मरण सार्वजनिक गरेका छन् । ६० वर्षको उमेरमा गत बुधबार निधन भएका म्याराडोनाले इंग्ल्यान्डका केही खेलाडीलाई छलाएर उत्कृष्ट गोल गरेका थिए । त्यो गोल शताब्दीकै उत्कृष्ट गोल घोषित समेत भयो ।

हाल ६० वर्ष लागेका रेफ्री अली बिन नासेरले बीबीसी स्पोर्टस्लाई सो गोलबारे बताए– ‘उनले मिडफिल्डबाट बल दौडाएर लगेका थिए । मैले उनलाई नजिकबाट नियालिरहेको थिएँ । यदि म्याराडोनाको खेलमा रेफ्री गरिरहेका कोही पनि होस्, उसले उनीबाट नजर हटाउन सक्दैनन् ।’

उनले थपे– ‘विपक्षी खेलाडीहरुले उनलाई तीनपटक लडाउन खोजे, तर उनको विजयी हुने चाहनाले उनलाई अगाडि बढ्न प्रेरित गरिरहेको थियो । उनी इंग्ल्यान्डको डीबक्सभित्र पसेसम्म मैले उनीमाथि आँखा गाडिरहेको थिएँ । डिबक्स बाहिर तीनपटक उनी फाउल हुनबाट जोगिएका थिए ।’

उनले भने– ‘करिब ५० मिटरबाट उनी बलसँगै दौडिरहेका थिए । मलाई लाग्यो बक्समा डिफेन्डरले उनलाई लडाउनेछन्, यदि लडाएमा म पेनाल्टीका लागि सिटी फुक्न पनि तयार थिएँ । मलाई आश्चर्य लाग्यो उनले डिफेन्डर र गोलकिपर पिटर शिल्टनलाई छलाएर गोल गरे । यही नै शताब्दीको गोल घोषित भयो । म ऐतिहासिक उपलब्धिमा रेफ्रीको भूमिकामा हुन पाउँदा आफूलाई गर्वित र सम्मानित भएको थानेको छु ।’

यस्तै सोही खेलमा भएको विवादास्पद गोलबारे पनि रेफ्री बिन नासेरले बताए– ‘इंग्लिस डिफेन्डर स्टिभ हड्जले बल ब्याक गरे । म्याराडोना गोलकिपर पिटर शिल्टनसँगै हावामा थिए । तिनीहरु मभन्दा टाढा थिए । मैले सहायक रेफ्री बुल्गेरियन बोग्डान डोचेभसँग इसारामा सोधें । उनले टाउकोले मैदानको मध्यभागमा देखाए । सो गोल भएको पक्का भयो । उनले हातले छोएको संकेत गरेका थिएनन् ।’

रेफ्रीले पछि इंग्ल्यान्डका खेलाडी आएर हातेबल भएको गुनासो गरेको बताए । तर यसपछि पनि उनले सो खेल खेल्न आग्रह गरेको बताएका थिए । उनले भने– ‘यदि फिफाले युरोपबाट रेफ्रीको जिम्मा दिएको भए त्यो महŒवपूर्ण खेलमा म्याराडोनाको पहिलो गोल अमान्य हुने थियो । तर मेरा लागि फिफाकै निर्देशिकाअनुसार त्यो गोल शतप्रतिशत नै थियो ।’

म्याराडोनाले सन् २०१५ मा ट्युनिसियाको भ्रमण गरेका थिए । उनले बिन नासेरलाई घर गएर भेटेका थिए । त्यही समयमा म्याराडोनाले उनलाई हस्ताक्षर गरेको जर्सी दिएको नासेरले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्