सामुदायको लगानीमा निर्मित रिसोर्टले पर्यटक तान्न थाल्यो



प्रताप बानियाँ, म्याग्दी
म्याग्दीको बेनी नगरपालिका, मंगला र रघुगंगा गाउँपालिकाको संगमस्थलमा पर्ने टोड्के पर्यटकीय गन्तव्यको क्षेत्र बन्दै जान थालेको छ । टोड्केमा स्थानीयबासिन्दाले सामूहिक लगानीमा सामुदायिक लज निर्माण गरी सञ्चालन गरेपछि पछिल्लो समय पर्यटकको चहलपहल बढेको हो ।
पर्यटकीयस्थल टोड्केमा टोड्के हिल रिसोर्ट प्रालिद्वारा आधुनिक सुविधासम्पन्न सामुदायिक लज सञ्चालनमा ल्याएपछि विगतको तुलनामा भन्दा पछिल्लोपटक पर्यटक आगमन बढेको स्थानीयले बताएका छन् । समुन्द्री सतहदेखि २ हजार ५ सय मिटरको उचाइमा अवस्थित पर्यटकीय क्षेत्र टोड्कमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि हुँदै गएको टोड्के हिल रिसोर्ट प्रालिले जनाएको छ ।
पर्यटकीय क्षेत्र टोड्के भ्रमण गर्नका लागि म्याग्दी जिल्लासहित बागलुङ, पर्वत, पोखरा, काठमाडौं र विदेशतर्फ जापान, चीन, फ्रान्सबाट आन्तरिक तथा बाहय पर्यटक पुग्ने गरेका छन् । व्यस्त जीवनको तनावबाट मुक्त हुन, मनोरञ्जन लिन र डाँडाकाँडासहित मनोरम हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न पर्यटक टोड्के जान्छन् । टोड्के क्षेत्र भ्रमण तथा रिसोर्टमा बस्न आउने पर्यटकलाई स्थानीय उत्पादन मुलाको चट्नी, फापर तथा कोदोको ढिँडो, लोकल कुखुराको मासुलगायत अर्गानिक खाना खुवाउने गरिएको रिसोर्टका असिस्टेन्ट म्यानेजर मेनुका थजालीले जानकारी दिनुभयो ।
प्रालिमार्फत निर्माण गरिएको लजमा ९ जना संस्थापकसहित ३३ जनाले तीन करोड रुपियाँभन्दा बढी लगानी गरेका छन् । रिसोर्टमा लगानी गर्नेहरु रघुगंगा र मंगला गाउँपालिका तथा बेनी नगरबासी छन् भने काठमाडौं, अमेरिका, जापान, हङकङ, पोर्चुगललगायत विदेशमा रहेकाबाट पनि लगानी गरिएको छ । उक्त लजमा न्यूनतम एकलाख रुपियाँदेखि २५ लाख रुपियाँसम्म लगानी भएको छ ।
अहिले पर्यटकलाई लक्षित गरेर प्रालिद्वारा टोड्केमा हाई अल्टिच्युड प्ले–ग्राउन्ड, वनस्पति उद्यान केन्द्र, पार्क निर्माण तथा कृषि खेती गर्नतर्फ जोड दिइएको टोड्के हिल रिसोर्ट प्रालिका सञ्चालक भीम शेरचनले जानकारी दिनुभयो । रिसोर्टमा अर्गानिक खानाका परिकार खुवाउने भनेर कृषि खेती थालिएको छ भने मालिका धुरी र टोड्केमा रहेको स्वर्गाश्रमलाई लक्षित गरी मुक्तिनाथ जाने पर्यटकलाई तान्ने योजनासहित अगाडि बढिएको उहाँले बताउनुभयो ।
खासगरी आन्तरिक पर्यटकलाई लक्षित गरी बनाइएको सामुदायिक लजमा एट्याच बाथरुमसहित १० वटा कोठा, दुईवटा बैठक कक्ष, डाइनिङ हल, कार्यक्रम सञ्चालन गर्न मिल्ने सभाहल, बार तथा रेष्टुरेन्ट र १० वटा टेन्ट हाउससहित करिब १ सय जनाको क्षमता रहेको छ । टोड्के जानका लागि म्याग्दीको बेनीबाट अर्थुङ्गे–पुलाचौर–चिप्लेटी–डडुवा–पूर्णगाउँ, बेनी–घतान–पात्लेखेत–झीं र बेनी–बाबियाचौर–कुहुँ हुँदै पूर्णगाउँ भएर पुग्न सकिन्छ ।
म्याग्दी सदरमुकाम बेनीदेखि सवारीसाधनमार्फत डेढ घण्टाको यात्रापछि पुग्न सकिने पर्यटकीय क्षेत्र टोड्केबाट धौलागिरी, अन्नपूर्ण, निलगिरी, माछापुच्छ«े, मानापाथीलगायत दर्जनौं मनोरम हिमश्रृङ्खला देखिन्छन् । म्याग्दीको अधिकांश भू–भागसहित मुस्ताङ, बागलुङ र पर्वत जिल्लाको डाँडाकाँडासमेत देखिने टोड्केमा माघ फागुनमा ढकमक्क फुल्ने लालीगुराँसले पर्यटकको मनै लोभ्याउँछ ।

प्रतिक्रिया दिनुहोस्