बालविवाह



कानुनी प्रावधानविपरीत बालविवाह निरन्तर चली आएको छ । उमेरै नपुगी आमा बन्ने गरेका समाचार यत्रतत्र सुनिन्छन् । कतिपय ठाउँमा अज्ञानतावश बालविवाह हुँदै आएको छ भने कतिपय भेगमा थाहा पाए पनि बलजफ्ती सो कार्य भइरहेका छ । कतिपय ठाउँमा बालिकाहरू १७–१८ वर्ष पुगेपछि उनीहरुको अब विवाह नै हुँदैन कि भनेर उनीहरुका बाबुआमा चिन्तित हुने गरेको देखिन्छ । यस्ता कारणले बालिकाहरुको उमेर नपुग्दै विवाह भई बच्चा पाउन नसकी बच्चा र आमाको पनि अकालमा नै ज्यान जाने गरेको तथ्याङ्कहरु उल्लेख्य रूपमा छ ।

केही गरी आमाको ज्यान रहे पनि उनीहरुले जीवनभर अनेक रोग पाली बाँच्न विवश हुने गर्दछन् । कतिपय ठाउँमा जनप्रतिनिधि नै बालबालिकाको विवाह गर्न उद्यत् रहेका समाचारहरु पनि आउने गरेका छन् ।
मुलुकी फौजदारी संहिता–२०७४ को दफा १७३ (१) मा बालविवाह गर्न नहुने भनिएको छ । त्यसमा विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन भन्ने उल्लेख छ । यसको मतलब यो कानुनले २० वर्ष नपुगेको व्यक्ति बालक वा बालिका नै हुन्छ भन्ने स्पष्ट गरेको छ । बालविवाह उल्लेख्य संख्यामा भएको एउटा जिल्लामध्ये बाग्लुङ पनि हो । सो जिल्लामा एक वर्षमा १ हजार १ सय १८ थान बालविवाह भएको तथ्याङ्कले देखाएको छ । यसबाहेक बाहिर नआएको पनि धेरै संख्यामा हुन सक्ने आंँकल नगरिएको छ ।

बाग्लुङबाहेक अन्यजिल्लामा पनि उल्लेख्य रूपमा बालविवाह हुने गरेको बताउँदै आएको पाइन्छ । २० वर्ष नपुगेको व्यक्तिको विवाह भयो भने त्यस्तो विवाह स्वतः बदर हुने कानुन पनि छ भन्ने बारेमा गाउँ तथा शहरमा अझै चेतना जगाउन सकिएको छैन । यस चेतनाको अभावले गर्दा पनि बालविवाह नरोकिएको हुन सक्छ । कानुनमा बालविवाह गर्नेलाई तीन वर्षसम्म कैद र २० हजार रुपियाँसम्म जरिवाना हुने व्यवस्था पनि छ ।

बालविवाह स्वतः बदर हुने र कैद तथा जरिवाना हुने कुरा कानुनमा राखिएको भए पनि अझ यस्तो विवाह बढ्दै जानु बिडम्वनापूर्ण नै मान्नुपर्छ । यसबाहेक अझै सानो उमेरमा विवाह गरिएका महिलाको प्रजनन स्वास्थ्यमा मात्र असर नगरेर पारिवारिक, सामाजिक तथा आर्थिकरूपमा समेत नकारात्मक असर पर्ने गरेको छ ।

बालविवाह अझै पनि उल्लेख्य रूपमा बढ्दै जानुमा कानुनी ज्ञानको अभाव र सामाजिक, शारीरिक तथा आर्थिक पाटोका रूपमा आउन सक्ने नकारात्मक असरका बारेमा चेतनाको कमी हो भन्नेमा स्पष्ट हुन सकिन्छ । बालविवाहलाई कानुनले स्वतः बदर हुने भनेको विषयलाई अझ स्पष्ट हुने गरी बुझाउन आवश्यक छ ।

यस विषयका बारेमा गाउँमा मात्र होइन शहरमा बस्ने धेरैलाई थाहा नहुन सक्छ । बालविवाह बदर गराउन सकिने विवाह होइन कि यो स्वतः बदर हुने विवाह हो भनी स्पष्ट रूपमा बुझाउन सक्नुपर्छ । बालविवाह हटाउन स्पष्ट रूपमा बुझाउन सक्ने गरी नेपालको प्रत्येक गाउँमा टोली पठाउन आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्