मृगौला पीडितको पीडा : मृगौला छ प्रत्यारोपण गर्ने पैसा छैन



भूपराज बस्याल,स्याङ्जा ।

वालिङ नगरपालिका–६ मिर्दीका कृष्ण प्रसाद अर्याललाई एक वर्षदेखि एउटै चिन्ता छ , श्रीमतीको उपचार खर्च कसरी जुटाउने । ‘अब थप उपचार गराउन पैसा छैन । अस्पतालमा पनि पचास हजार तिर्न भइसक्यो’ उहाँले भन्नुुभयो, ‘म ३० वर्षको भए । पहिला सानो जागिर खान्थे । अहिले एक वर्ष भइसक्यो श्रीमतीको उपचारमा लागेको । साथमा ५ वर्षको छोरा पनि छ । उपचार खर्च कसरी जुटाउँ ?’

खाने, लाउने र कमाउने उमेरमा श्रीमती हिमा भुषाल अर्याको दुवै मृगौला फेल भएपछि उहाँका दिनहरु निकै कठिन बनेका छन् । पिडित कृष्ण प्रसादको घरमा कमाउने कोही छैन । ‘हप्ताको आइतबार र सोमबार डायलासिस गराउन टिचिङ अस्पताल पुग्नुपर्छ,’ कृष्ण प्रसादले भन्नुुभयो ‘एक पटक जाँदा १० हजार रुपैयाँ चाहिन्छ ।

५० हजार त पहिले नै तिर्न बाँकी छ’ उहाँका अनुसार श्रीमती एक वर्षदेखि मृगौलाको समस्या देखिएको हो । श्रीमतीको दुवै मृगौला काम नलाग्ने भएपछि आफन्तहरु आर्थिक स्रोत जुटाउन खटिएको उहाँले बताउनुुभयो । श्रीमती भुषाल २६ वर्षकी भईन । बिहे गरेर घर जाँदा उनी ठिक–ठाक थिइन । छोरा पनि जन्माइन् । तर मृगौलामा केही समस्या देखिएपछि श्रीमानले पोखरा ल्याएर उपचार गराए । तर दबै मृगौला फेल भएपछि उनी काठमाडौं आए । बिगत एक वर्षदेखि उनी टिचिङ अस्पतालमा छन् ।

‘मृगौला फेर्ने चाहाना छ, त्यत्रो पैसा जुटाउन सक्ने अवस्था नभएकाले डायलासिस गराउँदै आएको छु ।’ उहाँले भन्नुुभयो, ‘ माग्ने ठाउँ सबै सकियो, अब त डायलासिस खर्च पनि कसरी जुटाउने भन्ने पिर पर्न थालेको छ ।’कृष्र्ण प्रसादको घरमा बुढा बाबुआमा र बहिनीहरु छन् । श्रीमती भुषाललाई बचाउन माइतीपक्ष पनि मृगौला दिन तयार छन् ।

घर परिवारले पनि जसको मिल्छ उसैको दिन राजी छन् । मृगौला त छ तर पैसा छैन् ।डाक्टरले मृगौला प्रत्यारोपण गर्न ३५ देखि ४० लाख खर्च लाग्छ भनेपछि रोएरै दिन कटाएको उहाँ बताउनुुहुुन्छ । उहाँले दुखेसो पोख्नुुभयो ‘विहान साँझ हातमुख जोर्न समेत धौ छ, म गरीबले कसर उपचार गरुँँ ?’ कृष्ण प्रसादले परिवार उपचार सहयोगका लागि वडा कार्यालयदेखि नगरपालिका र सरकारी निकायमा धाईरहेको बताउनुुभयो । तर कतैबाट सहयोग नपुगेको उहाँ बताउनुु हुुन्छ ।

प्रतिक्रिया दिनुहोस्