नेपाल–भारत सम्बन्ध



नेपाल र भारतबीच एक वर्षदेखि चिसिएको सम्बन्ध सुधार्न भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाको हिजोबाट दुईदिने औपचारिक नेपाल भ्रमण शुरु भएको छ । सचिव श्रृंगला सीमामा देखिएको विवाद र द्विपक्षीय वार्ताको वातावरण मिलाउन नेपाल आउनुभएको बुझिएको छ ।

उहाँको भ्रमणसंँगै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायत उच्च तहका नेतासंँग भेट्ने कार्यक्रम छ । परराष्ट्र सचिव भरतराज पौडेलको निम्तो मान्न नेपाल आएको भनिए तापनि भारतीय उच्च तहको समन्वयमा वार्ताको वातावरण तय गर्न आएको अनुमान लगाउन गाह्रो छैन ।

भारतीय प्रतिनिधिलाई नेपालले उच्च सम्मान प्रदान गरेको छ । एक कर्मचारीले राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसंँग भेटवार्ता गर्ने अवसर पाउनु त्यसको परिचायक हो । श्रृंगला भारत सरकारकै सन्देश लिएर आउनुभएकाले उहाँसँग राष्ट्रपतिसम्मको भेटघाट सान्दर्भिक मानिएको हो ।

दुई देशको सम्बन्ध चिसिएको बेला भारतीय स्थल सेनाका सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणेले प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा कात्तिक १९ मा तीनदिने नेपाल भ्रमण गर्नुभएको थियो । त्यस बेला उहाँको भ्रमणसंँगै नेपाल र भारतबीचको सम्बन्ध सुधार हुने अपेक्षा पनि गरिएको थियो ।

नेपाली सेनाबाट मानार्थ महारथीको सम्मान लिन आएका नरावणेले सकारात्मक सन्देश बोकेर गएका कारण नै लामो समयदेखि नेपालले चाहना गरेको दुई पक्षीय वार्ताको वातावरण तयार हुन लागेको हो ।

बीचमा भारतीय गुप्तचर प्रमुख सामन्तकुमार गोयलले नेपालको भ्रमण गर्नुभएको र प्रधानमन्त्री ओलीसंँग समेत भेट गरेका कारण विशेष चर्चा र विवादको विषय पनि बनेको थियो ।

अनौपचारिक रुपमा नेपाल आएका भारतीय कर्मचारीलाई प्रधानमन्त्री ओलीले भेट दिएर आफ्नो स्तर गिराएको सम्म टिप्पणी गरिएको थियो । तर, त्यस टिप्पणीलाई चिर्दै यदि गोयलको भ्रमण र भेटघाटले दुई मुलुक बीचको सम्बन्धमा जमेको बरफ फुटाउने काम हुन्छ भने त्यसलाई स्वागतयोग्य मान्नुपर्छ भन्ने धारणा पनि अभिव्यक्त भएको थियो ।

गोयलको भ्रमणपछि एकाएक विदेश सचिवको भ्रमण तय हुनु दुई देशको लागि सुखद समाचार हो । विदेश सचिवले नेपाल र भारतबीचको चिसिएको सम्बन्ध सुधार गर्ने, दुई पक्षीय हित र सहयोगको विषयमा छलफल गर्ने मुख्य एजेन्डा रहेको बताइएको छ ।

त्यसबाहेक कोरोना भ्याक्सिन खरिद, दुई देश बीचको व्यापार सम्बन्धलगायतका विषयमा कुराकानी गर्ने एजेन्डा रहेको देखिन्छ । यस भ्रमणलगत्तै भारत नेपालबीच सीमा समाधान गर्न उच्चस्तरीय भेटघाट र वार्ताको विषयमा समेत छलफल हुने बताइएको छ ।

नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा जारी गरेपछि देखिएको विवाद कसरी समाधान गर्ने भन्ने विषय मुख्य एजेन्डा हो । भारतले यस मुद्दालाई सहजै स्वीकार नगर्ने संकेत आजसम्मका अभिव्यक्तिले देखाए पनि ऊ दुई देशबीच सम्बन्ध बिगार्न भने चाहँदैन ।

घनिष्ट मित्रका रूपमा रहेका नेपाल र भारतबीच चिसिएको सम्बन्धले दुवैतर्फका शुभचिन्तकलाई चिन्तित बनाएका बेला भएको यस भ्रमणले सम्पूर्ण विवाद अन्त्य गर्ने विषयमा योगदान दिन सकोस्, यस विन्दुमा यही कामना गर्नु स्वाभाविक हुनेछ ।

प्रतिक्रिया दिनुहोस्