केकी बोक्सीको घर बनाउँदै



नायिका तथा निर्मात्री केकी अधिकारीले फेरि फिल्म निर्माण गर्ने भएकी छिन्। कोहलपुर एक्सप्रेस नामक फिल्म निर्माण गरिसकेकी नायिका अधिकारीले २०७३ को साउन-भदौमा मण्डला थिएटरमा सफलतापूर्वक मञ्चन भएको नाटक बोक्सीको घरलाई फिल्मको पर्दामा उतार्ने भएकी हुन्।

नाटकमा अभिनेत्री सरिता गिरीले एकल अभिनय गरेकी थिइन्। करिब एक महिना मञ्चन भएको नाटकका सुलक्षण भारतीको लेखन र निर्देनमा तयार भएको थियो। सुलक्षण भारतीकै लेखनमा निर्माण हुने फिल्म बोक्सीको घर भने उनको साथमा सुव्रतराज आचार्यले संयुक्तरूपमा निर्देशन गर्ने भएका छन्। केकीको होम प्रोडक्सन केकी अधिकारी फिल्म्स्ले निर्माण गर्ने फिल्ममा अभिनेता गौरव पहारी र अभिनेत्री केकी अधिकारी मुख्य भँमिकामा रहनेछन्। फिल्मका अन्य पात्रका लागि भने कलाकारहरुको छनोट भइरहको र त्यसका लागि आगामी साता खुला अडिसन कल गरिने केकीले जानकारी गराएकी छिन्।

‘डेढ महिनादेखि हामी वर्कसप र प्रि–प्रोडक्सनको चरणमा छौं। चार महिनाको वर्कसपपछि फिल्मको छायांकन थालिनेछ।’ –केकीले भनिन्। यथार्थपरक चलचित्रका रूपमा निर्माण हुन गइरहेको चलचित्र बोक्सीको घरमा समेटिने अधिकांश घटना र दृश्य विगतदेखि अहिलेसम्म समाजमै घटेका वा घटाइएका घटनामा आधारित रहने लेखक तथा निर्देशक भारतीको भनाइ छ। फिल्म बोक्सीको घर रंगकर्मी एवं निर्देशक बद्री अधिकारीले निर्माण गर्दै छन् भने कार्यकारी निर्माता विशाल भण्डारी हुन्। फिल्म कोहलपुर एक्सप्रेस र टेलिभिजन कमेडी रियालिटी सो कमेडी च्याम्पियनपछि यो टिमले तेस्रो प्रोजेक्टका रूपमा बोक्सीको घर निर्माण गर्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्