छाङ्गरू–ओलाङचुङगोला सीमा सुरक्षामा सशस्त्र प्रहरी



सशस्त्र प्रहरी बल नेपालले हालै मात्र ताप्लेजुङको ओलाङचुङगोलामा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको छ । सुदूरपश्चिमको दार्चुलादेखि सुदूरपूर्वको ताप्लेजुङसम्मको उत्तरी सीमामा सशस्त्र प्रहरी बलले आफ्नो प्रभावकारी उपस्थिति देखाएको छ । दक्षिणी सीमामा समेत सरकारको योजनाअनुसार बीओपी थपिने क्रम जारी छ । यति हुँदाहुँदै पनि जनशक्ति र साधन–स्रोतको अभाब झेल्दै दैनिक कार्य सञ्चालन गर्नुपर्दा संगठनले सोचेजस्तो सफलता प्राप्त गर्न सकेको छैन ।

एकातिर जनशक्तिको अभाव छ भने अर्कोतर्फ संगठनमा वृत्ति विकासको अवस्था विकराल बन्दै गएको छ । लामो समय एउटै दर्जामा बस्नुपर्दा कनिष्ठ अधिकृतहरूमा नैराश्यता बढेको छ । पछिल्लो समयमा कोरोना संक्रमण बढ्दै जाँदा यसबाट सुरक्षाकमीसमेत प्रभावित भएका छन् । यिनै विषयलाई समेटेर सशस्त्र प्रहरी बलले गरिरहेको काम–कारबाहीका बारेमा सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्यालसँग नेपाल समाचारपत्रका लागि दीपक रिजालले गरेको कुराकानी ः

कोरोनाका कारण सुरक्षाकर्मी संक्रमित भइरहेका छन्, त्यसको व्यवस्थापन कसरी गरिरहनुभएको छ ?

सशस्त्र प्रहरी कर्मचारीहरूलाई कोरोना भाइरसको विश्वव्यापी महामारीबाट सुरक्षित राख्न स्वास्थ्य सुरक्षाका विधि तथा उपायहरूका बारेमा सु–सूचित गराउने, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्डमा आधारित भई सशस्त्र प्रहरी बल, नेपालको कार्य प्रकृतिअनुरूपको आन्तरिक मापदण्ड निर्माण गरी कार्यान्वयनमा ल्याउने, विशिष्ट व्यक्तिको सुरक्षामा खटिने सशस्त्र प्रहरी कर्मचारीका लागि गर्न हुने र गर्न नहुने कार्यहरू समाविष्ट छुट्टै मापदण्ड निर्माण गरी लागू गर्ने, पीपीई, मास्क, स्यानिटाइजर र सामजिक दूरीको अनिवार्य प्रयोग र पालना गर्ने, सम्पूर्ण एकाइमा क्वारेन्टाइन र आइसोलेसन बेडको व्यवस्थापन गर्ने गरिएको छ ।

यसै गरी, एकाइहरूका मूलगेटमा ज्वरो नाप्ने, हात धुने व्यवस्था मिलाउने, अत्यावश्यकबाहेक अन्य आगन्तुकलाई प्रवेश निषेध गर्ने, दीर्घरोगी सशस्त्र प्रहरी कर्मचारीलाई डिउटीमा परिचालन नगर्ने जस्ता कार्य पनि गरिएको छ । बिदा गएका र अन्यत्रबाट हाजिर हुन आउने कर्मचारीलाई अनिवार्यरूपमा क्वारेन्टनमा राख्ने¸ ईकाईहरुका जनशक्तिलाई डिउटी¸ आन्तरिक व्यवस्थापन तथा प्रशासनिक टोलीमा विभाजन गरी छुट्टाछुट्टै कार्यगत एकाइ (क्भनचभनबतभम ँगलअतष्यलब िग्लष्त) का रूपमा काम–कारबाही सञ्चालन भइरहेको छ ।

सशस्त्र प्रहरी कर्मचारी भौगोलिक प्रतिकूलता, मौसमी विषमता, बन्दोबस्तीको अभावका बाबजुद छाङ्गरूदेखि ओलाङचुङगोलासम्म र सुस्तादेखि हिल्सासम्म सीमा रक्षकका रूपमा पहरा दिइरहेका छन् । हाम्रो त्याग, समर्पण तथा ऊर्जामा कुनै कमी आएको छैन जुन उच्च मनोबलको परिणाम हो ।

यी सम्पूर्ण प्रयासका बाबजुद सशस्त्र प्रहरी कर्मचारीमा संक्रमण देखिएको छ । संक्रमित तथा लक्षण देखिएकाहरुलाई प्रदेशहरुको हकमा नजिकको अस्पतालमा एवं उपत्यका र आसपासको हकमा कोभिड–१९ युनिफाइड अस्पतालमा र लक्षण नदेखिएकालाई एकाइभित्रै आइसोलेसनमा राख्ने प्रबन्ध मिलाइएको छ । हरेक एकाइभित्र संक्रमित, शंकास्पद र संक्रमण नदेखिएकाहरुका लागि क्रमशः रातो, पहेंलो र हरियो क्षेत्र तोकी व्यवस्थापनको कार्य भइरहेको छ ।

कुनै एकाइमा ठूलो संख्यामा संक्रमण देखिएको अवस्थामा सुरक्षा व्यवस्थापन तथा अन्य व्यवस्थापनका लागि निर्माण गरिएको योजनाअनुरूप कार्यहरु भइरहेका छन् । यसका साथै कोभिड–१९, युनिफाइड अस्पताल बलम्बुमा सर्वसाधारणको पहुँच बढोस् भन्ने हेतुले सशस्त्र प्रहरी कर्मचारीका लागि ६० बेड क्षमताको छुट्टै आइसोलेसनस्थलसमेत सञ्चालन गरिएको छ ।

सुरक्षाकर्मीको मनोबल बढाउन के गरिरहनुभएको छ ?

फौजको प्रमुख पक्ष भनेको नै मनोबल हो । मनोबल र उत्प्रेरणाको प्रमुख स्रोतका रूपमा रहेको तालिममा नै विषम परिस्थितिसँग सामना गर्न, कर्तव्यपथबाट अविचलित रही उद्देश्य प्राप्तिको दिशामा निरन्तर अभिमुख रहिरहने सिकाइ प्रदान गरिएको हुन्छ । जोखिम, खतरा र कष्टपूर्ण अवस्थाका लागि तयार पारिएको हुनाले यस्तो महामारीको अवस्थामा प्रतिकूलताका बीच सशस्त्र प्रहरी कर्मचारी कर्तव्य क्षेत्रमा अनवरत खटिइरहेका छन् ।

स्वाभाविकरूपमा मानवीय संवेदना, संवेग, इच्छा, आकांक्षा, आवश्यकता र चाहनाहरु फौजमा कार्यरत व्यक्तिमा समेत हुन्छन् । त्यसको व्यवस्थापनका लागि रेस्ट एन्ड रिलिफको व्यवस्था, टोलीहरुको नियमित अदलीबदली, फिल्डमै औषधोपचार तथा परामर्शको व्यवस्था, स्वास्थ्य सुरक्षा र उपचारको ग्यारेन्टी एवं संगठनमा उपलब्ध साधन–स्रोत तथा बन्दोबस्तीको समुचित वितरण आदि कार्यसमेत संगठनले गरिरहेको छ ।

संगठन प्रमुखबाट फिल्ड तहको अनुगमन भ्रमणसमेत गरी त्यहाँका समस्या एवं गुनासाहरुलाई प्रत्यक्षरूपमा निरुपण गर्नु समेत मनोबल वृद्धिका लागि गरिएको उदाहरणीय कार्य हो । त्यसका अलावा डिउटीमा खटिएका सशस्त्र प्रहरी कर्मचारीको मानसिक स्वास्थ्य सुरक्षाका लागि विभिन्न एकाइहरुमा प्राथमिक मनोवैज्ञानिक सहयोग (पीएफए) तालिमसमेत सञ्चालन गरिएको छ ।

सशस्त्र प्रहरी कर्मचारीले सम्पादन गरेको कामको नेपाल सरकार, आम नेपाली सर्वसाधारण र मिडिया जगत्ले समेत प्रशंसा गरिरहेका कारण कठिन अवस्थामा खटिएका सशस्त्र प्रहरी कर्मचारीको मनोबल र उत्प्रेरणा अभिवृद्धिका लागि त्यसले समेत ठूलो भूमिका खेलेको महसुस गरेका छौं ।

दक्षिणी सीमा क्षेत्रमा सुरक्षा निकायको उपस्थिति कम भएको हो ?

नेपाल सरकारले सीमा सुरक्षालाई राष्ट्रिय प्राथमिकतामा राखेको छ । नेपाल सरकार (मन्त्रिपरिषद्‍) को २०७६ मंसिर ३० गतेको निर्णयबमोजिम साविकका १ सय ७ बीओपी (बोर्डर आउट पोस्ट) मा थप १ सय १४ वटा बीओपी स्थापनाको क्रम तीव्र भएको छ । कोभिड–१९ लाई दृष्टिगत गर्दै सीमा इलाकामा अस्थायी प्रकृतिका १ हजार २ सय १३ वटा फरवार्ड बेससमेत तैनाथ छन् । नेपाल–भारत सीमा सुरक्षालाई सबलीकरणका लागि ७ वटा रिजर्भ गण र दार्चुलामा एउटा गण र छाङ्‍रुमा एक गुल्मसमेत स्थापना गरिएको छ । २०६४ देखि २०७४ सम्म सशस्त्र प्रहरी बल, नेपालका ८७ वटा बीओपी रहेकोमा २०७५ देखि हालसम्म १ सय २ वटा बीओपी थप भएका छन् । विगत २ वर्षमा बीओपीको संख्या करिब दोब्बर पारिएको छ र यसलाई अझ बढाउने अभियानमा हामी लागेका छौं । यसबाट सीमामा सुरक्षा उपस्थिति अझ सघन हुनेछ ।

नेपाल–भारत सीमा सुरक्षालाई सबलीकरणका लागि ७ वटा रिजर्भ गण र दार्चुलामा एउटा गण र छाङ्‍रुमा एक गुल्मसमेत स्थापना गरिएको छ । २०६४ देखि २०७४ सम्म सशस्त्र प्रहरी बल, नेपालका ८७ वटा बीओपी रहेकोमा २०७५ देखि हालसम्म १ सय २ वटा बीओपी थप भएका छन् । विगत २ वर्षमा बीओपीको संख्या करिब दोब्बर पारिएको छ ।

सीमा सुरक्षाका लागि के–कस्तो योजनाहरू तय गरिएको छ ?

सशस्त्र प्रहरी बल, नेपालराज्यको सार्वभौमिकता र अखण्डताको रक्षाका खातिर सीमामा फलामे खम्बाका रूपमा तैनाथ हुँदै आएको छ । हाल स्थापित र पहिलो चरणअन्तर्गत स्थापनाको क्रममा रहेका गरी कुल २ सय २१ बीओपीका साथै दोस्रो चरणमा १ सय ५१ र तेस्रो चरणमा १ सय २८ गरी ५ सय वटा बीओपी पु¥याउने लक्ष्यअनुरूप कार्य अगाडि बढिरहेको छ ।

पहिलो चरणमा थप भएका १ सय १४ बीओपीहरुको जनशक्तिका सम्बन्धमा मौजुदा जनशक्तिबाट व्यवस्थापन गरिएको छ । थप बीओपीहरु स्थापनाका लागि आवश्यक जनशक्ति, भौतिक पूर्वाधारहरु, हात–हतियार, सञ्चार उपकरण तथा सवारीसाधनलगायतका स्रोत–साधनका लागि आवश्यक बजेटसहितको विस्तृत योजना पेस गरिएको छ ।

उत्तरी सीमाका सन्दर्भमा मित्रराष्ट्रका सुरक्षाकर्मीको उपस्थिति रहेका १८ स्थानमा नेपालतर्फ बीओपी स्थापनाको लक्ष्य रहेकोमा हालसम्म ७ स्थानमा बीओपी स्थापना भइसकेको छ ।

सीमा सुरक्षामा नागरिकसँगको सहकार्य र सम्बन्धलाई समधुर बनाउन स्थानीय जनताको मन मस्तिष्क जित्ने कार्यक्रमहरु मजकुर मन्त्रालयमा प्रस्ताव गरिएको छ । सीमा क्षेत्रका जनताका लागि तुरुन्त प्रतिफल दिने किसिमका क्विक इम्प्याक्ट प्रोजेक्टहरु, सीमा क्षेत्रका बासिन्दा लक्षित रोजगारमूलक कार्यक्रम, सीमा क्षेत्रका जनतालाई राहत र तस्करी नियन्त्रणका लागि सुपथ मूल्यको पसल सञ्चालनलगायतका कार्यक्रमहरु सञ्चालन गर्न नेपाल सरकारसमक्ष सुझाव पेस गरिएको छ । सीमा इलाकामा हुने विकास निर्माणका गतिविधिमा सशस्त्र प्रहरी बल, नेपाललाई समेत संलग्न गराई सीमा क्षेत्रको विकास र सुरक्षालाई समानान्तररूपमा अगाडि बढाउने दिशामा चिन्तनशील रहेका छौं ।

यसका साथै सीमा सुरक्षामा आधुनिक प्रविधिको प्रयोगलाई बढावा दिँदै लैजाने, सीमामा खटिएका सीमापार समकक्षी सुरक्षाकर्मीसँग समन्वयात्मक तथा सहयोगात्मक सम्बन्धको विकास गरी सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने योजनासमेत संगठनको रहेको छ । स्थानीय जनतालाई समेत सीमा सुरक्षामा प्रत्यक्षरूपमा सहकार्य गरी सीमा अझ बलियो र सुरक्षित बनाउन चाल्नुपर्ने कदमका बारेमा मजकुर मन्त्रालयमा सुझावहरु पेस गरिएको छ ।

सीमा सुरक्षा संवेदनशील कार्य भएकाले कार्य सम्पादनका सिलसिलामा हुने सानो भन्दा सानो कमी कमजोरी पनि अक्षम्य हुन्छ । संगठनले खराब मनसायबाट प्रेरित सबै प्रकारका गल्ती तथा कमी–कमजोरीउपर कठोरतापूर्वक प्रस्तुत भई शून्य सहनशीलताको नीति अख्तियार गरेको छ ।

बोर्डर आउट पोस्ट थपिएको कुरा त गर्नुभयो ? तर, अहिले भएकै जनशक्तिले कसरी व्यवस्थापन हुन्छ ?

नेपाल सरकार (मन्त्रिपरिषद्‍) बाट २०७७ असार २९ गते स्वीकृत संगठन तथा व्यवस्थापन सर्वेक्षणबाट खारेज भएका २९ वटा गुल्मबाट प्राप्त हुन आएको ४ हजार ६ सय ४० नफ्री र अन्य जनशक्तिसमेत गरी बीओपीहरुमा तत्कालका लागि जनशक्ति व्यवस्थापनको कार्य भइरहेको छ । संगठनभित्र घनिभूतरूपमा छलफल र सुझाव संकलन गरी सशस्त्र प्रहरी महानिरीक्षकज्यूबाट सीमा सुरक्षाका लागि संगठनले अघि सारेको योजना र आवश्यकताका सम्बन्धमा मजकुर गृह मन्त्रालयमा जानकारी गराइसक्नुभएको छ ।

सीमा अपराध नियन्त्रण, चोरी निकासी नियन्त्रण, सशस्त्र समूहबाट हुन सक्ने सम्भावित आक्रमण जस्ता चुनौतीको सामना र बीओपीले सम्पादन गर्नुपर्ने अन्य कार्यहरुलाई सुदृढ र सुव्यवस्थित तवरबाट सञ्चालनका लागि एउटा बीओपीमा संवेदनशीलताका आधारमा कम्तीमा १ प्लाटुन (३५ जना) देखि ५० जनासम्मको जनशक्ति आवश्यक हुने हुँदा करिब १० हजार जनशक्ति थपका लागि प्रस्ताव गरिएको छ ।

जसोतसो व्यवस्थापन त होला तर ब्यारेकको संख्या बढेर त्यसमा पर्याप्त जनशक्ति नभए त्यसको अर्थ के ?

पर्याप्त जनशक्तिको अभावमा आशातीत प्रगति हात पार्न कठिन हुन्छ । हो, हामीसँग पर्याप्त जनशक्तिको अभाव छ । पर्याप्त जनशक्तिको अभावमा सीमामा खटिएका सुरक्षाकर्मीमाथि नै अवाञ्छित व्यक्ति तथा समूहबाट आक्रमण गर्ने कार्यहरु बेला–बेलामा भइरहेको घटनाहरु सार्वजनिक भइरहेका छन् । थप जनशक्ति तथा साधन–स्रोतका हाम्रा आवश्यकतालाई औचित्यता पुष्टि गरी स्पष्ट खाकासहित हामीले मजकुर गृह मन्त्रालयमा पेस गरेका छौं । जनशक्ति र साधन–स्रोतको व्यवस्थापन पश्चात् मात्र कार्यालय स्थापना गरेमा काम–कारबाही प्रभावकारी हुने हुँदा जनशक्ति व्यवस्थापन पश्चात् मात्र कार्यालय बढाउनुपर्ने हुन्छ । हाम्रो जनशक्ति व्यवस्थापन तथा स्रोत–साधनको आवश्यकताले प्राथमिकता पाइरहेको छ ।

कतिपय युनिटमा न्यूनतम स्रोत–साधनको समेत अभाव छ नि ?

सशस्त्र प्रहरी बल, नेपालको पुनर्संरचना पश्चात् सशस्त्र प्रहरी बल, नेपालको उपस्थिति ७७ वटै जिल्लामा रहेको छ । यस क्रममा धेरै नयाँ एकाइहरु स्थापना भएका छन् । विशेष गरी नयाँ स्थापना भएका गुल्महरु तथा बीओपीहरुमा न्यूनतम भौतिक पूर्वाधारहरुको अभाव छ । हालसम्म स्थापना भएका १ सय ८९ बीओपीमध्ये जम्मा ४९ वटाको मात्रै आफ्नो भवन र जग्गा रहेको छ ।

यस आर्थिक वर्षमा थप ६६ वटा बीओपीको भवन निर्माणका लागि बजेट विनियोजन भई ठेक्का प्रक्रिया अगाडि बढिरहेको छ । अझै बढी भौतिक पूर्वाधार निर्माणका कार्यहरु क्रमश. हुँदै जानेछन् । एकै साल यत्तिका संख्यामा बीओपी निर्माणमा बजेट प्राप्त हुनुलाई सीमा सुरक्षालाई नेपाल सरकारले उच्च प्राथमिकता दिएको प्रस्ट हुन्छ र संगठनले पनि स्रोत–साधन व्यवस्थापनमा प्राथमिकता दिई अगाडि बढिरहेको अवस्था रहेको छ ।

हिमाली क्षेत्रमा परिचालन हुने जनशक्तिका लागि मौसम र भौगोलिक अवस्था अनुकूलका बन्दोबस्ती र भौतिक पूर्वाधारका लागि प्रस्ताव अघि बढाइएको छ । सीमा सुरक्षा राज्यकै लागि भएकाले सम्पूर्ण स्रोत–साधन उपलब्ध हुनुपर्दछ । अन्य मन्त्रालय मातहत रहेका जग्गाको प्राप्ति प्रक्रिया सरलिकृत र सहज भएमा एकाइहरु स्थापनाका लागि अझै उपयुक्त वातावरण सिर्जना हुनेछ ।

विशेष गरी राशन व्यवस्थापनमा किन बारम्बार गुनासो आउँछ ?

नेपाल सरकार (मन्त्रिपरिषद्‍) को २०७१ मंसिर ४ गतेको निर्णयले नगद राशन प्रणालीको शुरुआत भएको र सो प्रणालीलाई व्यवस्थित गर्न सशस्त्र प्रहरी बलका कार्यालयहरुमा मेस सञ्चालन कार्यविधि २०७१ कार्यान्वयनमा आएसँगै एकाइको सहायक प्रमुखको अध्यक्षतामा सम्पूर्ण दर्जाका सशस्त्र प्रहरी कर्मचारीको प्रतिनिधित्व हुने गरी राशन व्यवस्थापन समिति गठन गरी मेस तथा राशन व्यवस्थापन हुने गरेको छ ।

राशन व्यवस्थापनसम्बन्धी संगठनको स्पष्ट नीति, निर्देशन तथा कार्यविधिका बाबजुद कतिपय एकाइमा यदाकदा गुनासाहरु आउने गरेका छन् । त्यस्ता किसिमका गुनासामाथि छानबिन गरी कमी–कमजोरी पाइएमा दोषीमाथि कारबाही गर्ने गरिएको छ । एकाइ प्रमुखहरु समेतलाई कारबाहीको दायरामा ल्याइएको धेरै उदाहरण छन् । प्रणालीगत र पारदर्शी तवरबाट राशन व्यवस्थापन गर्न संगठन प्रतिबद्ध छ । २०७१ सालमा स्वीकृत राशनको दररेट आजसम्म पनि लागू भएकाले त्यसमा समयानुकूल पुनरावलोकन हुने संगठनको अपेक्षा छ ।

राशनसम्बन्धी तथा अन्य गुनासोहरु भएमा सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा रहेको उजुरी तथा गुनासो सुनुवाइ शाखा, प्रवक्ताको सम्पर्क नं. ९८५१२७२००७ र टोल फ्री नं १११४ मा २४सै घण्टा सीधा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ । प्राप्त गुनासोलाई तुरुन्तै छानबिन गरी समाधान गर्ने गरिएको छ । राशनसम्बन्धी यस वर्ष जम्मा एउटा गुनासो प्राप्त भएकोमा उक्त गुनासो माथि छानबिन गरी कारबाहीको प्रक्रियामा रहेको छ । अहिलेको अवस्थामा राशनसम्बन्धी गुनासो आएको छैन ।

संगठनमा वृत्ति विकासले विकराल रूप लिइसक्यो, यसतर्फ संगठनले के सोचेको छ ?

वृत्ति विकासअन्तर्गत तालिम, अध्ययन, जिम्मेवारीको वितरण, कमान्ड अवसर, पदोन्नतिलगायतका कुराहरु पर्दछन् । तपार्इंले सायद पदोन्नतिको पाटोलाई इंकित गर्न खोज्नुभएको होला । जहाँसम्म पदोन्नतिको कुरा छ, सशस्त्र प्रहरी बल, नेपालको संरचना पिरामिड आकारको छ । पदसोपानमा क्रमशः माथिल्लो पद संख्या तल्लो पदसंख्या भन्दा घटी छन् । आकांक्षी र योग्य उम्मेदवाार धेरै तर खाली संख्या थोरै भएकाले सबैले पदोन्नति पाउने अवस्था छैन ।

स्थापनाकालमा परिस्थितिजन्य अवस्थामा एकै ब्याचमा धेरै तथा एकै वर्षमा धेरै ब्याच भर्ना गरिएको थियो । त्यसको असरस्वरूप अहिले विशेष गरी सशस्त्र प्रहरी निरीक्षक तथा सशस्त्र प्रहरी नायव उपरीक्षक तहको बढुवामा जामको वातावरण देखिएको हो ।

अर्को कुरा संगठनको विस्तार र वृद्धिमा नै त्यसमा कार्यरत कर्मचारीको वृत्तिविकास निर्भर रहन्छ । संगठनको दरबन्दी थपका लागि प्रयास भइरहेको छ । यदि दरबन्दी थप भयो भने वृत्ति विकासमा पनि सकारात्मक प्रभाव पार्ने नै छ । खाली भएका पदहरुमा कुनै विलम्ब नगरी बढुवा प्रक्रिया शुरु गर्ने संगठनको नीतिअनुसार विगत दुई वर्षमा ९ हजारभन्दा बढीको पदोन्नति भइसकेको छ ।

सुरक्षाकर्मीको मनोबल कमजोर भएको छ, ५ वर्षदेखि एउटै राशन छ, खास गरी तल्लो दर्जामा राजीनामा जाने संख्या बढेको छ, कनिष्ठ अधिकृतहरुको भविष्य अनिश्चित छ, यसमा संगठनले ध्यान दिनु पर्दैन ?

राष्ट्रलाई परेको अवस्थामा सशस्त्र प्रहरी राष्ट्रसेवकले बलिदानी भावका साथ कार्य गरेको अनेकौं दृष्टान्त छन् । सुरक्षाकर्मीको मनोबल कमजोर भएको भन्ने भनाइमा म सहमत छैन । सुरक्षा निकायमा काम गर्ने सुरक्षाकर्मीले मनोबल घटाउनुहुँदैन र घटेको छैन पनि । सरकारले क्षमताअनुसारको हामीलाई सम्पूर्ण सेवा–सुविधा दिएको छ ।

भौतिक पूर्वाधारको हकमा यो निर्माण र व्यवस्थित हुँदै जान्छ र हुँदै गएको पनि छ । मनोबल भन्ने कुरा कार्य सम्पादनमा प्रतिबिम्बित हुने कुरा हो । सशस्त्र प्रहरी कर्मचारी भौगोलिक प्रतिकूलता, मौसमी विषमता, बन्दोबस्तीको अभावका बाबजुद छाङ्गरूदेखि ओलाङचुङगोलासम्म र सुस्तादेखि हिल्सासम्म सीमा रक्षकका रूपमा पहरा दिइरहेका छन् । हाम्रो त्याग, समर्पण तथा ऊर्जामा कुनै कमी आएको छैन जुन उच्च मनोबलको परिणाम हो । जहाँसम्म राशनको सन्दर्भ छ । राशन दर लागू भएदेखि हालसम्म पुनरावलोकन हुन सकेको छैन संगठनले यसबाट सिर्जित कठिनाइका बारेमा सम्बन्धित निकाय र पदाधिकारीलाई अवगत गराएको छ ।

सशस्त्र प्रहरी बल, नेपालमा राजीनामा दिने सशस्त्र प्रहरी कर्मचारीमध्ये निवृत्तभरण अवधि पुगेकाहरुको संख्या बढी छ । सशस्त्र प्रहरी सेवाको अनुभव र तालिमका कारण विदेशमा आकर्षक अवसरहरु पाइने हुँदा उमेर भएसम्म दुःख गर्नुपर्छ भन्ने भावनाका कारण पेन्सन अवधि पुगेकाहरुले राजीनामा दिने प्रवृत्ति रहेको छ । संगठनले नगद ऋण, स्कुल, अस्पताल, गोताखोर सशस्त्र प्रहरी कर्मचारीहरुलाई ३ सय दैनिक भत्ता र १० लाखको बिमा जस्ता विभिन्न कल्याणकारी योजना तथा प्रशासनिक व्यवस्थापनमार्फत यस समस्यालाई सम्बोधनका लागि काम गरिरहेको छ ।

थप प्रयासका लागि सांगठनिक तह भन्दा पनि राज्य तहबाटै अग्रसरता लिनुपर्ने देखिन्छ । अर्को जहाँसम्म कनिष्ठ अधिकृतहरुको वृत्तिविकासको सवाल छ त्यसका लागि संगठनको तहबाट पटक–पटक पहलकदमीहरु लिइएको छ । दरबन्दी थपका प्रक्रियाहरु अघि बढ्ने र सोसँगै पदोन्नतिका थप ढोकाहरुसमेत खुल्ने भएकाले सशस्त्र प्रहरी कर्मचारी निरास हुनपर्ने अवस्था छैन ।

अन्त्यमा कोरोना कहरका बीच २४सै घण्टा परिचालित मातहत सुरक्षाकर्मीलाई के भन्नुहुन्छ ?

सिंगो संगठनको नेतृत्वदेखि परिचरसम्म हामी निरन्तर परिचालित भई एउटै परिवारका रूपमा कार्य गरिरहेका छौं । विशेष गरी यस कठिन समयमा दशैं, तिहार, छठ जस्ता चाडपर्वहरुमा समेत घर–परिवार नभनी निरन्तररूपमा कार्यक्षेत्रमा परिचालित रहेका राष्ट्रसेवकहरुलाई धन्यवाद दिन चाहान्छु । हामी सुरक्षाकर्मी हरबखत सार्वजनिक परीक्षणबाट गुज्रिने हुँदा बर्दीको ओज र गरिमा कायम राखी सांगठनिक प्रतिष्ठा अभिवृद्धिका लागि कठिन परिस्थितिमा पनि ऊर्जाशील भई परिचालित हुनुपर्दछ । संकटको अवस्थामा संयमतापूर्वक कार्य गर्न सक्नु नै हाम्रो पहिचान हो ।

नागरिकलाई दुःख, विपद् परेको अवस्थामा आफ्नो दुःख–कष्ट बिर्सेर कर्तव्यपथमा लाग्न र सशस्त्र प्रहरी बल, नेपालको गौरवशाली परम्परालाई कायम राख्न मातहत सम्पूर्णलाई अनुरोध गर्दछु । साथै समस्त जनसमुदायलाई विपद्, सीमासम्बन्धी गतिविधि एवं शान्ति सुरक्षामा खलल पुग्ने खालका कुनै प्रकारका सूचनाहरुका बारेमा टोल फ्री नम्बर १११४ मा खबर गर्न हुन र फिल्डमा खटिएका सुरक्षाकर्मीसँग हातमा हात मिलाएर काम गर्न पनि अनुरोध गर्दछु ।

अन्तमा, हामी राज्यका लागि हौं, सीमादेखि विपद् हाम्रो जिम्मेवारी । राष्ट्रको रक्षा, राष्ट्रिय एकताको जगेर्ना, सेवा सुरक्षा र उद्धार गर्न हामी तम्तयार छौं, रहनेछौं र रहनुपर्दछ । देशको माटोको रक्षा, मातृभूमिको अस्मिता र समस्त नेपालीजनको सुरक्षामा आइपर्ने हरेक चुनौतीहरुलाई पन्छाउने दृढ इच्छाशक्ति हामीमा छ । हामी सशस्त्र प्रहरी कर्मचारी राष्ट्रसँग अपेक्षा भन्दा पनि राष्ट्रका लागि योगदानको मनोभावका साथ खटिइरहेका छौं । यसैको आधारमा ‘शान्ति सुरक्षा प्रतिबद्धता’ लाई मूर्त रूप दिन तत्पर सशस्त्र प्रहरी बल, नेपालका सकल दर्जाले चिरकालसम्म गौरवानुभूति गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्