अझै स्टेचर र डोकोकै भरमा बिरामी

५० शय्याको जिल्ला अस्पतालमै छैन एम्बुलेन्स



वासुदेव शर्मा, जाजरकोट

जाजरकोटको ५० शय्याको एक मात्र जिल्ला अस्पताल एम्बुलेन्सविहीन भएको छ । एम्बुलेन्स बिग्रिएपछि मर्मतका लागि कल्लु ग्यारेज नेपालगन्जमा दुई वर्षदेखि थन्किएपछि सो अस्पताल एम्बुलेन्सविहीन भएको हो ।

जिल्ला अस्पताल जाजरकोट, नेपाल रेडक्रस र कुमारी ट्रस्टको एम्बुलेन्स बिग्रिएका छन् । तीनवटै एम्बुलेन्स बिग्रिएपछि सरोकारवाला निकायले मर्मत नगर्दा जाजरकोट सदरमुकाममा एम्बुलेन्स अभाव भएको छ । बिरामीलाई जोखिमपूर्णरुपमा डोको, स्टेचरको सहायतामा आफन्तले अस्पतालसम्म ल्याउने गरेका छन् ।

जिल्ला अस्पतालमा बिरामीको उपचार सम्भव नभएपछि एम्बुलेन्स नहुँदा जाजरकोट अस्पतालबाट रिफर गरेका बिरामीले सार्वजनिक गाडीमा चर्को मूल्य तिरेर बिरामीलाई सुर्खेत, नेपालगन्ज, काठमाडौंलगायतका सुविधा सम्पन्न अस्पताल लिएर औषधी उपचार गर्ने गरेका छन् । दुईवटा टायर, मोबिल, इन्जिन परिवर्तन गर्न दुई वर्ष पहिले नेपालगन्जको कल्लु ग्यारेजमा लगेको एम्बुलेन्स अझै मर्मत भएको छैन । रकम अभावका कारण एम्बुलेन्स मर्मत हुन नसकेको चालक राकेशकुमार शाहले बताउनुभयो ।

स्वास्थ्य संस्थालाई नियमित सञ्चालन गरी कोरोना कहर कोभिड १९ को संक्रमण रोकथाम नियन्त्रण र उपचारका लागि सरकारले स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम अनिवार्यरुपमा सञ्चालन गर्नुपर्ने बताउँदै आए पनि जाजरकोट अस्पतालले स्वास्थ्य सेवालाई सुधार गर्ने कार्यक्रम सञ्चालन गर्न सकेको छैन ।

विनियोजन गरेको बजेट साना सवारीसाधन मर्मतमा खर्च भएपछि रकम अभावमा मर्मत हुन नसकेको जाजरकोट अस्पतालका निमित्त व्यवस्थापक डा. सुनिल पुनले जानकारी दिनुभयो । एम्बुलेन्स मर्मतका लागि १ लाख ५० हजार खर्च हुने भएकाले रकम अभावमा एम्बुलेन्स मर्मत गरी सञ्चालनमा ल्याउन नसकेको पुनले बताउनुभयो । जनप्रतिनिधि, अस्पताल व्यवस्थापन समितिलगायत सरोकारवालाले मर्मतका लागि आवश्यक पर्ने बजेट स्वीकृत गराउन नसकेको उहाँको भनाइ छ ।

बिरामीहरु सार्वजनिक सवारीसाधनमा महँगो भाडा तिरेर सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न जाने गरेका छन् भने यता बिग्रेको एम्बुलेन्स सञ्चालनमा नआए पनि विगतदेखि चालक राकेशकुमार शाहले तलब भत्ता खाइरहेका छन् । नागरिकलाई सहजरुपमा सेवा दिन जनप्रतिनिधिलगायत सरोकारवालाले ध्यान नदिँदा नागरिकहरुले बिरामीलाई स्टे«चर, डोकोमा बोकेर स्वास्थ्य संस्थासम्म पु¥याउनुपर्ने बाध्यता छ ।

जाजरकोट जिल्ला एम्बुलेन्सविहीन हुँदा पनि मर्मत गरी सञ्चालन गर्न सम्बन्धित निकायले ध्यान नदिनु दुःखद पक्ष भएको नागरिक समाजका अगुवा राजेन्द्रविक्रम शाहले बताउनुभयो । उहाँले यस विषयमा सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले बिग्रेको एम्बुलेन्स मर्मत गर्न सकिने बताउँदै पुरानो भएकाले मर्मत गरे पनि दुर्गममा चलाउँदा छिट्टै बिग्रिने सम्भावना भएकाले कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट नयाँ एम्बुलेन्स ल्याउने प्रक्रिया अघि बढाएको बताउनुभयो । प्रदेश मन्त्रालयले बिग्रिएको एम्बुलेन्स मर्मत गरी सञ्चालन गरे अर्को एम्बुलेन्स नदिने भएकाले मर्मत नगरेको अध्यक्ष बस्नेतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्