महासंघमा न्यौपानेको उम्मेदवारी



हेटौंडा, (नेस)

मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजकुमार न्यौपानेले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको छ । मकवानपुर उद्योग वाणिज्य संघले सिफारिस नगरेपछि आफूले रामेछाप उद्योग वाणिज्य संघको सिफारिसमा केन्द्रीय सदस्य उम्मेदवारी दिएको न्यौपानेले जानकारी दिनुभएको हो ।

न्यौपानेले महासंघको प्रदेश संरचनालाई स्थापित र व्यवस्थित गर्नु आफ्नो मुख्य एजेन्डा भएको बताउनुभएको छ । उम्मेदवारीबारे हेटौंडामा भएको पत्रकार भेटघाटमा उहाँले प्रदेश संरचनालाई व्यवस्थित गर्ने आफ्नो मुख्य एजेन्डा भएको बताउनुभयो ।

उहाँले प्रदेशको जिल्ला-नगर उद्योग वाणिज्य संघलाई बलियो र व्यबस्थित बनाउन सचिवालय र कार्यालय स्थापना गर्न आफूले कार्यकाल खर्चिने बताउनुभयो । प्रदेश उद्योग वाणिज्य संघको भवन निर्माण गर्दै प्रदेशको राजधानी हेटौंडामा नै सचिवालय स्थापना गर्न समन्वयकारी भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ ।

उद्योग व्यवसायमा पछिल्लो समय देखिएको विषम् परिस्थिति अन्त्य गर्दै औद्योगिक वातावरण सहज बनाउन आफूले समन्वयकारी खेल्ने उहाँको भनाइ छ । आफूले विजय हासिल गरे बागमती प्रदेशमा लगानी भित्र्याउन पहल गर्ने बताउँदै उहाँले हेटौंडा र सिन्धुलीमा सरकारले बनाउन लागेको औद्योगिक क्षेत्रमा विदेशी लगानी ल्याउन समन्वय गर्ने बताउनुभयो । उद्योगी र श्रमिकबीच देखिएका समस्या नीतिगतरूपमै समाधान गर्न पनि आफूले काम गर्ने उहाँको दाबी थियो

प्रतिक्रिया दिनुहोस्