अरूलाई सावधान गराउने भारती नै लागूऔषध प्रयोगकर्ता



लागूऔषधको मामलामा पक्राउ परेका भारतीय हास्य कलाकार भारती सिंह र उनका पति हर्ष लिबचियालाई अदालतले डिसेम्बर ४ सम्म न्यायिक हिरासतमा राख्ने आदेश दिएको छ।

गिरफ्तारमा परेपछि लगातार सामाजिक सञ्जालमा चर्चा र विवादमा रहेकी भारती सन् २०१५ मा गरेको ट्विटका कारण चर्चा र ट्रोल बनेकी छिन्। जसमा उनले मानिसहरुलाई लागूऔषधदेखि जागरुक गराएकी थिइन्।

लागूऔषधकै मामलामा पक्राउ परेकी भारतीलाई मानिसहरुले उनको यो पोस्टलाई लिएर मजाक उडाइरहेका छन्। उनले ५ वर्षअघिको उक्त पोस्टमा लागूऔषधबाट टाढा रहन मानिसलाई आग्रह गरेकी छिन्।

भारतीले उक्त पोस्टमा लेखिकी थिइन्– ‘कृपयाँ ड्रग्स लिन बन्द गर्नुस्। किनभने यो स्वास्थ्यका लागि हानिकारक छ।’

भारतको नार्कोटिक्स कन्ट्रोल ब्युरो एनसीबीले भारतीको फ्ल्याट तथा प्रोडक्सन अफिसमा शनिबार बिहान छापा मार्दा लागूऔषध भेटेपछि उनीहरुलाई पक्राउ गरेका थिए। एनसीबीका अनुसार भारतीको अफिस र फ्ल्याटमा साढे ६ घण्टा लामो खोज तलासपछि ८६.८ ग्राम गाँजा बरामद गरिएको थियो।

साथै भारती तथा उनका पतिले आफूहरुले गाँजा सेवन गर्ने गरेको समेत स्वीकार गरेका थिए। भारतीलाई नार्कोटिक्स ब्युरोले घरमै केही घण्टा सोधपुछ गर्दा सन्तोषजनक जवाफ नाआएपछि एनसीबीको कार्यालयमा गएर सोधपुछ गरेको थियो भने करिव ४ घण्टाको सोधपछि गिरफ्तार गरेको थियो। भारतीलाई गिरफ्तार गरेको करिव डेढ घण्टापछि प्रहरीले उनको पति हर्षलाई पनि गिरफ्तार गरेको हो।

समाचारअनुसार लागूपदार्थको कारोबार गर्ने एक व्यक्तिसँगको सोधपुछमा भारतीको नाम आएपछि प्रहरीले भारतीको घरमा छापा मार्न पुगेको थियो। भारती चर्चित हास्य कलाकार हुन् भने उनका पति कलाकार तथा स्क्रिप्टराइटर हुन्। भारती र हर्षले एकसाथ केही शोमा काम गरेका छन्।

यसअघि लागूऔषधकै विषयमा सोधपुछका लागि एनसीबीले केही कलाकारलाई बोलाएका थियो। जसमा अभिनेत्रीहरु दीपिका पादुकोण, श्रद्धा कपुर, सारा अलि खान, कुलप्रीत सिंहलगायत थिए।

प्रतिक्रिया दिनुहोस्