राजस्वको लक्ष्य पूरा गराउन जोडबल



नेपाल समाचारपत्र, काठमाडौं
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षको बजेटमा उल्लेखित राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न निर्देशन दिनु भएको छ । अर्थ मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले कोभिड–१९ ले सिर्जना गरेका चुनौतीको सामना गर्दै राजस्व संकलनको लक्ष्य पूरा गर्न कुनै सम्झौता नगर्ने बताउनुभयो ।
उहाँले नियतवश त्रुटी, कमजोरी गर्ने र असल मनसायबाट बिचलित हुने कर्मचारीलगायत जो कोहीलाई पनि नछोड्ने बताउनुभयो । डर, त्रास सिर्जना गरेर कर्मचारीलाई काममा नलगाउने स्पष्ट पार्दै अर्थमन्त्री पौडेलले योग्यता र क्षमताको कदरसहित काम गर्ने अनुकुल परिस्थिति सिर्जना गरेर परिणाम निकाल्ने बताउनुभयो । ‘कठिनाइ र समस्यालाई समाधान गर्न मन्त्रालयले सहयोग, सहजीकरण र प्रोत्साहन गर्छ । लक्ष्य पूरा भए हामी सम्मान गर्छौ । पूरा नभए तपाईंहरू दण्डित हुनुपर्छ’, उहाँले भन्नुभयो ।
अर्थमन्त्री पौडेलले कोभिडका कारण ‘ब्याक गेयर’ लगाएर राजस्वको लक्ष्य निर्धारण गरिएको भन्दै चालू आर्थिक वर्ष सकिँदा धेरैलाई सम्मान गर्ने वातावरण बनाउन अनुरोध गर्नुभयो ।
अर्थमन्त्री पौडेलले समस्या र समाधानका बारे कर्मचारीहरु जानकार रहेको बताउँदै आफ्नै तहमा समाधान गर्न र आवश्यकता परे मात्र नेतृत्वलाई भन्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–‘आफ्नो तहमा समाधान गर्न सक्नु भएन भने नेतृत्वलाई भन्नुहोस् । हामी सहयोग गर्न तयार छौं ।’
अर्थमन्त्री पौडेलले परिणाम निकाल्ने गरी काम गर्नका लागि कर्मचारीको व्यक्तित्व विकास र क्षमता अभिवृद्धिमा विशेष जोड दिने उल्लेख गर्दै आपसी प्रतिस्पर्धा गरेर काम गर्न पनि अनुरोध गर्नु भयो । उहाँले स्वस्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरी कोभिड–१९ ले सिर्जना गरेका चुनौतीसँग जुध्दै अर्थतन्त्रलाई गतिशील बनाउन दृढताका साथ काम गर्न पनि कर्मचारीलाई आग्रह गर्नुभयो । भर्चुअल माध्यमबाट आयोजना गरिएको कार्यक्रममा अर्थसचिव शिशिरकुमार ढुंगानाले राम्रो काम गर्नेलाई मन्त्रालयले संरक्षण तथा पुरस्कृत गर्ने र कार्य सम्पादन कमजोर भए मन्त्रालय कठोर बन्ने बताउनुभयो । उहाँले राजस्वको लक्ष्य पूरा गर्न र त्योभन्दा बढी परिणाम निकाल्नका लागि आवश्यकताअनुसार कार्यक्रम संशोधन र रणनीतिहरु बनाएर अघि बढ्न निर्देशन दिनुभयो ।
त्यस्तै राजस्व सचिव रामशरण पुडासैनीले चुहावट नियन्त्रणमा विशेष ध्यान दिन आग्रह गर्दै लगानीलाई प्रोत्साहन गर्ने गरी काम गर्न अनुरोध गर्नुभयो । उहाँले करदाता, लगानीकर्ता, सेवाग्राहीले गुनासो नगर्ने गरी काम गर्न आग्रह गर्दै निर्णय र कार्यान्वयन प्रक्रियामा समस्या भए समाधान गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्