थिमलाई हराएर मेदभेदेभले जिते उपाधि



लन्डन, (एजेन्सी)

डेनिल मेदभेदेभले यूएस ओपन च्याम्पियन डोमिनिक थिमलाई पराजित गरेर उनको करियरमा सबैभन्दा प्रमुख उपाधि जितेका छन्।

लन्डनमा भएको एटीपी फाइनल्स टेनिस प्रतियोगिताको फाइनल खेलमा रूसका मेदभेदेभले अस्ट्रियाका थिमलाई ४–६, ७–६, ६–४ ले पराजित गरेका हुन्। थिमले पहिलो सेट जितेर दोस्रो सेटको टाइब्रेकमा अग्रता बनाएका थिए। तर, मेदभेदेभले ७ अंक लगातार हासिल गरेर दोस्रो सेट आफ्नो बनाएका छन्।

योसँगै खेलको निर्णय तेस्रो तथा निर्णायक सेटमा पुगेको थियो। उक्त निर्णायक सेटमा मेदभेदेभले बाजी मार्दै उपाधि हात पारे। साथै, यसै वर्षको यूएस ओपन सेमिफाइनलमा थिमसँग हारको बदलासमेत लिए । थिमका लागि भने यो सिजन पनि निराशाजनक भयो। उनी गत सिजनमा पनि फाइनल पुगेका थिए।

यसपटक मेदभेदेभले दुर्लभ कीर्तिमानीसमेत रचेका छन्। उनले यस प्रतियोगितामा विश्वका शीर्ष तीन खेलाडीलाई हराएका छन्। उनी एउटै प्रतियोगितामा विश्वका शीर्ष तीन खेलाडीलाई हराउने पहिलो खेलाडीसमेत बने। उनले विश्व नम्बर एक नोभाक जोकोभिचलाई समूह चरणमा, विश्व नम्बर दुई राफाल नाडाललाई सेमिफाइनलमा र फाइनलमा थिमलाई हराएका थिए।

एटीपी फाइनल प्रतियोगिताको जारी सिजन लन्डनमा अन्तिमपटक आयोजना भएको हो। अर्को सालदेखि उक्त प्रतियोगिता इटालीको टुरिनमा आयोजना हुनेछ। उक्त प्रतियोगिता विश्वका विभिन्न प्रमुख शहरमा आयोजना हुने गर्छ। लन्डनमा पहिलो सिजन सन् २००९ मा आयोजना भएको थियो। उक्त प्रतियोगिताको उपाधि रूसी खेलाडी निकोलाए डाभिडेन्कोले जितेका थिए।

त्यस्तै, लन्डनमा सबैभन्दा बढी उपाधि जित्ने सर्बियाली खेलाडी जोकोभिच हुन्। उनले ५ पटक उपाधि जितेका छन्, जसमा २०१२ देखि २०१५ सम्म लगातार चारपटक उपाधि हात पारे। उनले लन्डनमा ११ सिजन खेलेर ६ पटक फाइनल पुगेका थिए। उनी सन् २०१६ मा पनि फाइनल पुगेका थिए तर त्यसबेला घरेलु खेलाडी एन्डी मुरेले उनलाई हराएका थिए।

विश्व टेनिसमा पुरुषतर्फ सिंगल्सको यो प्रतियोगिता हरेक वर्षको अन्त्यमा आयोजना हुने गर्छ। यो वर्षमा हुने चार ग्रान्डस्लाम प्रतियोगितापछि प्रमुख प्रतियोगितामा पर्छ। यसमा पुरुष सिंगल्सको विश्व वरीयतामा शीर्ष आठ पर्ने खेलाडीले मात्रै सहभागिता जनाउने प्रावधान छ।

प्रतिक्रिया दिनुहोस्