मखन चेस क्लबलाई जी मोटर्सको साथ



नेपाल समाचारपत्र, काठमाडौं
मखन चेस क्लबले आयोजना गर्ने बुद्धिचाल प्रतियोगिताका लागि नेपालमा रेनो ब्रान्डको कारको आधिकारिक बिक्रेता जी मोटर्स प्रालिले प्रायोजन गर्ने भएको छ।

क्लबका अध्यक्ष सुजेन्द्रप्रसाद श्रेष्ठ र जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले सोसम्बन्धी सम्झौता पत्रमा नक्सालस्थित जी मोटर्सको कार्यालयमा सोमबार हस्ताक्षर गरेका हुन्। हाल तीन वर्षका लागि सम्झौता गरिएको प्रबन्ध निर्देशक गेलालले जानकारी गराए। गेलालले आफ्नो संस्था र बुद्धिचाल खेलको प्रवद्र्धनका लागि क्लबसँग सम्झौता गरिएको बताउँदै तीन वर्षपछि पनि अवस्था हेरेर सम्झौता थप गर्न सकिने संकेत गरे।

अध्यक्ष श्रेष्ठले बुद्धिचालमार्फत विश्वमा नेपाललाई चिनाउनु आफ्नो उद्देश्य रहेको भन्दै भने– ‘बुद्धिचालकै मार्फत विश्वमा नेपाललाई चिनाउनु मेरो उद्देश्य हो। धेरैभन्दा धेरै प्रतियोगिता हुने वातावरण बनाउन सकेको खण्डमा मात्र त्यो उद्देश्य पूरा गर्न सकिनेछ। जी मोटर्स प्रालिले आफ्नो सामाजिक जिम्मेवारी निर्वाह गर्न बुद्धिचाल खेललाई रोजेकोमा धन्यवादको पात्र बनेको छ। यसले बुद्धिचालमा आगामी दिनमा नयाँ आयाम थपिने आशा गर्न सकिन्छ। आगामी दिनमा मखन चेस क्लबबाट हुने प्रतियोगितामा टेवा पनि मिल्नेछ।’

मखन चेस क्लबसँग जी मोटर्सको सहकार्य कोरोनाको समयमा भएको छ। कोरोनाको संक्रमण बढिरहेको स्थितिमा प्रतियोगिता आयोजना गर्न सकिएको छैन। तर, क्लबका अध्यक्ष श्रेष्ठले भने– ‘कोरोना भाइरसको जोखिम न्यूनीकरण भएर जान्छ भन्ने आश गरौं। त्यसपछि, क्लब परिवार कसरी अघि बढ्ने भन्ने विषयमा तयारी थाल्नेछौं।’

 

प्रतिक्रिया दिनुहोस्