राईको बिदाइ र वज्राचार्यको स्वागत



ललितपुर, (नेस)

प्रहरी वरिष्ठ उपरीक्षक किरण वज्राचार्यले सोमबार महानगरीय प्रहरी परिसर ललितपुरको प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको छ ।

परिसरका निर्वतमान प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले जिम्मेवारी हस्तान्तरण गर्ने क्रममा ललितपुरको जिल्लाको शान्ति सुरक्षा, अपराधको स्थिति र जिल्लाको वस्तुस्थितिबारे सामान्य जानकारी दिनुभयो ।

सो अवसरमा वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले आफ्नो साथ र सहयोग सधैं रहने भन्दै प्रमुख वज्राचार्यलाई कार्यकाल सफलताको कामना गर्नुभयो ।

१५ महिना प्रहरी प्रमुखका रुपमा काम गर्नुभएका प्रहरी वरिष्ठ उपरीक्षक राईको गृह मन्त्रालयको मंसिर ५ गतेको निर्णयअनुसार प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखामा सरुवा भएको थियो । परिसरमा आयोजित एक समारोहकाबीच राईको बिदाइ र वज्राचार्यको स्वागत गरिएको थियो ।

प्रहरी वरिष्ठ उपरीक्षक वज्राचार्यले जिम्मेवारी सम्हाल्नुभएलगतै नेपाल परम्परागत बौद्ध धर्म संघका पदाधिकारीहरुले वज्रयानी बौद्ध परम्पराअनुसार स्वस्ति वाचन गरेका थिए ।

राष्ट्रिय युवा महासंघ ललितपुरका पदाधिकारीसँग कुराकानी गर्दै प्रमुख वज्राचार्यले ललितपुरमा अपराध न्यूनीकरण, प्रहरी प्रशासनको जवाफदेही बढाउन समुदायसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अपराधको न्यूनीकरण, समुदायमैत्री प्रहरी प्रशासन, जनतामा प्रहरी प्रशासनप्रति विश्वास र शान्ति सुरक्षा सुदृढ बनाउने आफ्नो उद्देश्य रहेको बताउँदै यसका लागि सबैको पक्षको साथ र सहयोगको अपेक्षा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्