‘कोरोना चुनौती मात्र होइन, अवसर पनि हो’



नेपाल समाचारपत्र, काठमाडौं

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सारा विश्वले नै झेलिरहेको महामारीसँग सम्बन्धित विषयमा भर्चुअल माध्यमबाट आयोजना गरिएको विचार गोष्ठी समय सान्दर्भिक भएको विचार व्यक्त गर्नुभयो ।

उहाँले सो कुरा नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभाग, बौद्ध अध्ययन केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय र त्रिचन्द्र क्याम्पस मनोविज्ञान तथा दर्शनशास्त्र विभागद्वारा अन्तर्राष्ट्रिय दर्शन दिवस २०२० का सन्दर्भमा संयुक्तरूपमा दर्शनसम्बन्धी विचार गोष्ठीलाई सम्बोधन गर्दै बताउनुभएको हो ।

उहाँले भन्नुभयो– ‘कोरोना भाइरसको महामारीले विश्वलाई ठूलो चुनौती मात्रै दिएको छैन कि यसले एउटा अवसर पनि दिएको छ । हामीले यस घडीमा चुनौतीलाई सामना गरी अवसरमा परिणत गर्नुपर्दछ ।’ मानव जातिको सामूहिक प्रयत्नबाट विश्वका जुनसुकै प्रकारका खतराहरूको सामना गरी मानव जातिलाई बचाउन सकिने उहाँको कथन थियो ।

कार्यक्रमका सभापति नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले प्रकृतिभन्दा शक्तिशाली अरु केही नहुने भन्दै मानव जाति प्रकृतिविरुद्ध जानु नहुने विचार व्यक्त गर्नुभयो । कोरोना भाइरसले मानिस जातिलाई प्रकृतितिर फर्किन बाध्य बनाएको चर्चा गर्दै मानव जीवनमा पूर्वीय दर्शनको विशेष महत्व रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो– ‘आजको सन्दर्भमा पूर्वीय दर्शनको सार्थकता पुष्टि भएको छ ।’

कार्यक्रमका संयोजक नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव एवम् दर्शनशास्त्र विभागका प्रमुख प्रा. जगत्प्रसाद उपाध्यायले अन्तर्राष्ट्रिय दर्शन दिवसको सान्दर्भिकता र महत्वबारे प्रकाश पार्नुभयो । उहाँले आजको विश्वमा कोरोना भाइरसको रोकथामका उपायहरूको खोजी गर्नु, उच्च मनोबल बनाएर यसको सामना गर्नु र विचारको नवीकरण गर्नु नै यस वर्षको दर्शन दिवसको मूल सन्देश भएको विचार व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा प्राडा भरत झा, प्राडा लेखनाथ शर्मा, प्राडा नन्दबहादुर सिंह, प्राडा अम्मराज जोशी, प्राडा पुण्यराम रेग्मी, प्राडा हृदयरत्न वज्राचार्य, प्राडा प्रेमनारायण अर्याल, प्राडा यादवराज कोइराला, प्राडा रामकण्ठ माकजु, प्राडा यादवप्रकाश लामिछाने, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, प्राडा गणेशमान गुरुङ तथा प्राडा विशाल सिटौलाले मानव जातिको जीवनमा दर्शनको महत्व र प्रभावका बारेमा आ–आफ्ना विचार व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा डा. गोविन्दशरण उपाध्यायले ‘कोभिड–१९ को सामाजिक तथा मनोवैज्ञानिक प्रभाव र यसको नियन्त्रणमा दर्शनको भूमिका’ विषयक गोष्ठीपत्र प्रस्तुत गर्नुभएको कार्यक्रममा रविप्रसाद गुरागाईंले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण तथा प्रविधि संयोजन त्रिभुवन विश्वविद्यालय, बौद्ध अध्ययन केन्द्र, कीर्तिपुरका प्रमुख वेदराज ज्ञवालीले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्