अन्तर्राष्ट्रिय दर्शन दिवसका अवसरमा दर्शन सम्बन्धी भर्चुअल गोष्ठी



न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभाग, बौद्ध अध्ययन केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय र त्रिचन्द्र क्याम्पस, मनोविज्ञान तथा दर्शनशास्त्र विभागद्वारा अन्तर्राष्ट्रिय दर्शन दिवस २०२० का सन्दर्भमा संयुक्त रूपमा दर्शनसम्बन्धी विचार गोष्ठीको आयोजना गरियो । ‘कोभिड १९ को सामाजिक तथा मनोवैज्ञानिक प्रभाव र यसको नियन्त्रणमा दर्शनको भूमिका’ विषयक जुम (भर्चुअल) विचार गोष्ठीमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति, उपकुलपति, सम्पूर्ण विश्वविद्यालयका उपकुलपतिहरू, नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव, प्राज्ञ परिषद् सदस्यहरू र सम्बन्धित विधाका विशिष्ट विद्वान्हरूको सहभागिता रहेको थियो ।

उक्त गोष्ठीलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सारा विश्वले नै झेलिरहेको महामारीसँग सम्बन्धित विषयमा भर्चुअल माध्यमबाट आयोजना गरिएको विचार गोष्ठी समय सान्दर्भिक भएको विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– “कोरोना भाइरस (कोभिड–१९) महामारीले विश्वलाई ठुलो चुनौती मात्रै दिएको छैन कि यसले एउटा अवसर पनि दिएको छ । हामीले यस घडी यस चुनौतीलाई सामना गरी अवसरमा परिणत गर्नु पर्दछ ।” मानव जातिको सामूहिक प्रयत्नबाट विश्वका जुनसुकै प्रकारका खतराहरूको सामना गरी मानव जातिलाई बचाउन सकिने उहाँका कथन थियो ।

कार्यक्रममा राजर्षि जनक विश्वविद्यालय, जनकपुर, धनुषाका उपकुलपति प्रा.डा. भरत झा, नेपाल खुला विश्वविद्यालय, ललितपुरका उपकुलपति प्रा.डा. लेखनाथ शर्मा, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, वीरेन्द्रनगर, सुर्खेतका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह, सुदूर पश्चिमाञ्चल विश्वविद्यालय, महेन्द्रनगर, कञ्चनपुरका उपकुलपति प्रा.डा. अम्मराज जोशी, कृषि तथा वन विश्वविद्यालय, रामपुर, चितवनका उपकुलपति प्रा.डा. पुण्यराम रेग्मी, लुम्बिनी विश्वविद्यालय, लुम्बिनी, कपिलबस्तुका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्य, पोखरा विश्वविद्यालय, पोखरा, कास्कीका उपकुपति प्रा.डा. प्रेमनारायण अर्याल, पूर्वाञ्चल विश्वविद्यालय, विराटनगर, मोरङका उपकुलपति प्रा.डा. यादवाज कोइराला, काठमाडौँ विश्वविद्यालय धुलिखेल, काभ्रेका उपकुलपति प्रा.डा. रामकण्ठ माकजु, नेपाल संस्कृत विश्वविद्यालय, बेलझुन्डी, दाङका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछाने, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, काठमाडौँका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटा, गण्डकी विश्वविद्यालय, पोखरा, कास्कीका कुलपति प्रा.डा. गणेशमान गुरुङ र नर्वेजियन युनिभर्सिटी अफ लाइफ साइन्सेसका प्राध्यापक डा. विशाल सिटौलाले मानव जातिको जीवनमा दर्शनको महत्त्व र प्रभावका बारेमा आ–आफ्ना विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रममा डा. गोविन्दशरण उपाध्यायले ‘कोभिड १९ को सामाजिक तथा मनोवैज्ञानिक प्रभाव र यसको नियन्त्रणमा दर्शनको भूमिका’ विषयक गोष्ठीपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमका सभापति नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले प्रकृतिभन्दा शक्तिशाली अरु केही नहुने भन्दै मानव जाति प्रकृतिविरुद्ध जानु नहुने विचार व्यक्त गर्नुभयो । कोरोना भाइरस (कोभिड–१९) ले मानिस जातिलाई प्रकृतितिर फर्किन बाध्य बनाएको चर्चा गर्दै मानव जीवनमा पूर्वीय दर्शनको विशेष महत्त्व रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो– “आजको सन्दर्भमा पूर्वीय दर्शनको सार्थकता पुष्टि भएको छ ।”

कार्यक्रमका संयोजक नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव एवम् दर्शनशास्त्र विभागका प्रमुख प्रा. जगत् प्रसाद उपाध्यायले अन्तर्राष्ट्रिय दर्शन दिवसको सान्दर्भिकता र महत्त्वबारे प्रकाश पार्नुभयो । उहाँले आजको विश्वमा कोरोना भाइरस (कोभिड–१९) को रोकथामका उपायहरूको खोजी गर्नु, उच्च मनोवल बनाएर यसको सामना गर्नु र विचारको नवीकरण गर्नु नै यस वर्षको दर्शन दिवसको मूल सन्देश भएको विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रममा रविप्रसाद गुरागाईंले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको सहजीकरण तथा प्रविधि संयोजन त्रिभुवन विश्वविद्यालय, बौद्ध अध्ययन केन्द्र, कीर्तिपुरका प्रमुख वेदराज ज्ञवालीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्