सुत्केरीको मृत्यु भएपछि अस्पतालमा तोडफोड



लहान । चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै सिराहाको लहानस्थित एक अस्पतालमा तोडफोड गरिएको छ । सिरहाको सुखीपुर नगरपालिका–९ वैशाखा निवासी २७ वर्षीया आरती साहको शल्यक्रिया गर्ने क्रममा मृत्यु भएपछि मृतकका आफन्तले लहानस्थित डिभाइन हेल्थ केयरमा आज तोडफोड गरेका हुन् ।

चिकित्कसकै लापरबाहीले आरतीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पतालमा तोडफोड गर्नुका साथै पूर्वपश्चिम राजमार्गसमेत अवरुद्ध गरेका छन् । आरतीलाई सुत्केरी व्यथा लागेपछि प्रसूति गराउन शनिबार साँझ सो अस्पताल भर्ना गरिएको थियो । शल्यक्रियाका क्रममा आरतीको मृत्यु भएपछि चिकित्सकसहित अस्पतालका सञ्चालक र अन्य कर्मचारीसमेत फरार भएका छन् । सुत्केरीको मृत्यु भए पनि जन्मिएको शिशु भने सकुशल रहेको र त्यो अस्पतालबाट शिशुलाई सप्तऋषि अस्पताल लगिएको छ ।

लापरवाही गर्ने चिकित्सक तथा अस्पताललाई कारबाहीको माग गर्दै आफन्तजनले आरतीको शवसमेत शल्यक्रिया कक्षबाट उठाउन दिएका छैनन् । लापरबाही गर्ने चिकित्सकलाई कारबाही नगरेसम्म शव नउठाउने मृतकका श्रीमान् प्रमोद साहले बताउनुभयो । चिकित्सककै लापरबाहीका कारण आरतीको मृत्यु भएको भन्दै दोषीमाथि कारबाही नभए शव नउठाउने मृतक परिवारको भनाइ छ ।

यता घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्