भारतको कालापहाड जानेको भीड



नेपाल समाचारपत्र, बाँके

चाडबाड सकिएसँगै भारत जाने नेपालीको संख्या बढेको छ । लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लाका सयौं मानिस यति बेला भारत गइरहेका छन् । कोरोनाको कहर र चाडबाड मनाउन घर आएका नेपालीहरु यति बेला नेपालगञ्ज नाका भएर धमाधम फिर्ता भइरहेका हुन् ।

सरकारले नाका खुल्ला नगरेपनि भारत जाने आधार कार्ड भएका नेपालीहरुको भीडले नेपालगञ्ज नाकामा रहेका प्रहरीलाई सम्हाल्न धौ–धौ भइरहेको छ । तिहार सकिएसँगै नेपालगञ्ज नाका भएर भारत फर्किनेको संख्या ह्वात्तै बढेको इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज विष्णु गिरीले जानकारी दिनुभयो । ‘भारत फर्किने नेपालीको संख्या बढेको छ । बिहीबार नै हजार आसपासमा भारत गएका छन्’, इन्चार्ज गिरीले भन्नुभयो– ‘इन्ट्री गरेर पठाउन हामीलाई भ्याई–नभ्याई भएको छ ।’

कर्णाली प्रदेशका रुकुम, रोल्पा, जाजरकोट, दैलेख, सल्यानका मानिसहरु यति बेला रोजगारीका लागि भारत गइरहेका छन् । भारतको कालापहाड, सिमला, प्रयागलगायतका ठाउँमा जाने नेपालीको संख्या बढेको जमुनाहा प्रहरीका इन्चार्ज गिरीको भनाइ छ ।

चैत्रमा कोरोना कहरसँगै नेपालीहरु धमाधम घर फर्किएका थिए । त्यस बेला नफर्किएका दशैंको मुखमा घर फर्किएका थिए । उनीहरु सबै यति बेला पुनः रोजगारीका लागि भारत फर्किएका हुन् ।

लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लाका मानिस रोजगारीका लागि भारत जाने गर्दछन् । आफ्नो उत्पादनले वर्षभर खान नपुग्ने नेपाली मौसमी कामका लागि भारत जाने गर्दछन् । मौसमी कामका लागि भारत जानेहरु खेती गर्ने र चाडबाड मनाउन घर फर्किने गर्दछन् । अरु बेला भारतमा काम गर्छन् ।

कोरोना कहरसँगै भारतमा रहेका धेरै नेपाली घर फर्किएपछि कालापहाड, प्रयाग, सिमलालगायतका ठाउँमा कामदारको अभाव भएपछि त्यहाँका मानिस नेपाली कामदारलाई लिन रुपैडिहासम्म आएका थिए । सरकारले आधारकार्ड भएकालाई भारत जान दिने र नेपाली नागरिकता भएकालाई नेपाल आउन दिने नीति बनाएको छ ।

सरकारले अझै नाका खोलिसकेको छैन । तर, भारतमा काम गर्ने अधिकांश नेपालीसँग आधारकार्ड रहेकाले भारत फर्किन सहज भएको छ । नाकामा रहेको प्रहरीले आधार कार्ड हेर्ने र इन्ट्री गरेर भारत जान दिने गरेको छ ।

नेपालगञ्ज नाका भएर भारतबाट फर्किने क्रम पनि जारी रहेको छ । कोरोना कहर अनि चाडबाडमा घर नफर्किएका यति बेला घर फर्किरहेका छन् । ‘घर फर्किनेको संख्या पनि छ । भारत जानेको संख्या अलि धेरै छ’, प्रहरी इन्चार्ज गिरीले भन्नुभयो– ‘भारत जानेको संख्या दिन प्रतिदिन बढिरहेको छ ।’

 

प्रतिक्रिया दिनुहोस्