मोनाकोद्वारा पीएसजीको अग्रता अस्वीकार



पेरिस, (एजेन्सी)
मोनाकोले फ्रेन्च लिग वानअन्तर्गत शुक्रबार रातिको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) को २–० को अग्रतालाई अस्वीकार गर्दै ३–२ को रोमाञ्चक जित हात पारेको छ।
उक्त जितसँगै मोनाको अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। मोनाकोले २० अंक जोडेको छ भने पराजित पीएसजीको २४ अंक छ । पीएसजीका लागि दुवै गोल किलियन एमबाप्पेले पहिलो हाफमा गरेका थिए। तर, मोनाकोले दोस्रो हाफमा तीन गोल फर्काएर पीएसजीसँग नतिजा खोसेको थियो।
मोनाकोका लागि केभिन भोलान्डले दुई तथा सेच फाब्रेगासले १ गोल गरेका थिए। २–२ बराबरी भएको अवस्थामा पीएसजी अन्तिममा १० खेलाडीमा सीमित भएको थियो। ८३औं मिनेटमा अबडोउ डियालो रातो कार्ड खाँदै बाहिरिएपछि प्राप्त पेनाल्टीमा फाब्रेगासले गोल गरेका थिए। उक्त गोलसँगै मोनाको ३–२ को अग्रतामा रहेको थियो । त्यसपछि, गोल गर्न नसक्दा पीएसजीले ३ अंकसमेत गुमाउन पुग्यो।
पीएसजीले पहिलो हाफमा मोनाकोमाथि दबाब बनाएको थियो। दुई गोल अफसाइड घोषितसमेत भएको थियो। मोइस किन र एमबाप्पेको एक एक गोल अफसाइड भएको थियो। तर, एमबाप्पेले २५औं र ३७औं मिनेटमा गोल गरेर पीएसजीको अग्रता दोब्बर बनाएका थिए।
फाब्रेगास मैदानमा आएपछि मोनाकोले पीएसजीमाथि दबाब राख्न शुरू गरेको थियो। स्पेनी खेलाडीको उपस्थितिमा पीएसजीका तीन एट्याकर एमबाप्पे, नेयमार र किनले समेत दोस्रो हाफमा केही गर्न सकेनन्। जबकि, २०१७ को लिग वान विजेता मोनाकोले यस खेलका लागि २३ वर्षमुनिका ८ खेलाडीलाई खेल्न मौका दिएको थियो।

प्रतिक्रिया दिनुहोस्