झुलाघाट नाका ५ दिनका लागि खोलिने



बैतडी, (नेस)

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका ५ दिनका लागि खोलिने भएको छ । यही मंसिर ८ गते सोमबारदेखि मंसिर १२ गते शुक्रबारसम्म नाका खुला हुने भएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीका अनुसार भारतीय पेन्सनधारी नेपाली नागरिकलाई पेन्सन बुझ्नका लागि सजिलो होस् भनेर ५ दिनका लागि नाका खोल्ने तयारी भएको हो । नेपाल सरकारको निर्णय, जिल्ला प्रशासन कार्यालय बैतडी र डीएम कार्यालय पिथौरागढको समन्वयमा नाका खोल्ने तयारी भएको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले जानकारी दिनुभयो ।

पेन्सनधारी नागरिकले कोरोनाका कारण सीमानाका बन्द भएपछि गएको चैतदेखि पेन्सन बुझ्न पाएका छैनन् । पेन्सनधारी नागरिकको समस्यालाई मध्यनजर गरेर नाका खोलिन लागेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

नाका खुलेको समयमा पेन्सनधारी नागरिकका साथै अत्यावश्यक र आकस्मिक काम परेकाहरुले समेत आवत–जावत गर्न पाउने सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताउनुभयो ।

बैतडीमा १ हजार २ सयभन्दा बढी भारतीय पेन्सनधारी नागरिक रहेका छन् । नाकामा पेन्सनधारीले आवत–जावत गर्दा स्वास्थ्य सुरक्षा सतर्कताका सबै मापदण्ड परिपालना गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्