बस्ने ठाउँको अभावले कैदीबन्दीलाई कारागार स्थानान्तरण



प्रताप बानियाँ, म्याग्दी ।

जिल्ला कारागार कार्यालय म्याग्दीमा कैदीबन्दीलाई बस्ने ठाउँको अभाव भएपछि अन्यत्रै स्थानान्तरण गरिएको छ । कुल ३२ जना कैदीबन्दीको क्षमता रहेको कारागारमा १ सय ३० जना पुगेपछि तीमध्ये १६ जनालाई शुक्रबार अन्तर जिल्ला स्थानान्तरण गरिएको हो ।

कारागार व्यवस्थापन विभागसँगको समन्वयमा १० जना कैदीबन्दीलाई पाल्पा र ६ जनालाई तनहुँको कारागारमा स्थानान्तरण गरिएको जिल्ला कारागार कार्यालय म्याग्दीले जनाएको छ । कारागारको क्षमताभन्दा कैदीबन्दीको संख्या अत्यधिक भएपछि उनीहरुलाई जिल्ला बाहिरको कारागारमा स्थानान्तरण गरिएको जिल्ला कारागार कार्यालय म्याग्दीका प्रमुख (जेलर) राजेन्द्र शर्माले बताउनुभयो ।

कैदीबन्दीलाई ठाउँ अभावमा बाहिरै सुताउनुपर्ने बाध्यताले मागेको ठाउँभन्दा पनि खाली भएको जिल्लामा स्थानान्तरण गर्ने अनुमति आएपछि पठाइएको जेलर शर्माको भनाइ छ । म्याग्दी कारागारमा २५ जना पुरुष कैदीबन्दीको क्षमता रहेकोमा १ सय २१ तथा ७ जना महिलाको क्षमता रहेकोमा ९ जना पुगेपछि बसाई व्यवस्थापनमा समस्या भएको थियो ।

धेरै कैदीबन्दी भएपछि उनीहरुलाई किचन, लाईब्रेरी र टेन्ट टाँगेर समेत सुताउने व्यवस्था मिलाइएको थियो ।
विश्वभर फैलिएको कोभिड–१९ को कारण विभिन्न मुद्दामा संलग्न फरार आरोपितहरु पक्राउ परेपछि कारागारमा कैदीबन्दीहरुको संख्या ह्वात्तै बढेको जनाइएको छ । अहिले म्याग्दी कारागारमा अधिकांश जबरजस्ती करणी, कर्तव्य ज्यान मुद्दा, लागूऔषध, चोरी, तस्करीलगायत शीर्षकमा कैद भुक्तान गरिरहेका कैदीबन्दीहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्